सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । श्रीलंकामा संसारकै सबैभन्दा ठूलो ‘स्टार सफायर’ भनिने एक प्रकारको नीलमणि फेला परेको अधिकारीहरुले बताएका छन् । उक्त बहुमूल्य रत्नको मूल्य १० करोड डलरसम्म पर्ने अनुमान गरिएको छ ।
उक्त बहुमूल्य रत्न संयोगले भेटिएको हो । रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडि इनार खन्न लाग्दा कामदारले ५१० केजी तौल भएको रत्न एकैढिक्कामा फेला पारेको एक रत्न व्यापारीले बताएका छन् । रत्नपुरमा बहुमूल्य रत्न भेटिने गरेको छ ।
हल्का नीलो रंगको उक्त मणिले अन्तर्राष्ट्रिय बजारमा १० करोड अमेरिकी डलरसम्म अर्थात् झन्डै १२ अर्ब नेपाली रुपैयाँसम्म मूल्य पाउने विज्ञको भनाइ छ । उक्त विशाल रत्नलाई ‘सेरन्डिपिटी सफायर’ नामकरण गरिएको छ ।
‘इनार खनिरहेका एक कामदारले हामीलाई केही दुर्लभ पत्थरबारे जानकारी दिए । पछि हामीले यो विशाल वस्तु भेट्यौं,’ उक्त मणिको स्वामित्व भएका गामागेले बताए । गामागेका बाबुबाजेले पनि रत्नको व्यापार गर्थे । सुरक्षाका कारण उनले आफ्नो पूरा नाम र ठेगाना बताएनन् ।
गुणस्तर
विशाल नीलमणि फेला परेपछि गामागेले अधिकारीहरूलाई सूचित गरेका थिए । झन्डै एक वर्ष लगाएर माटो तथा अन्य विकार हटाएपछि बल्ल उक्त पत्थरको विश्लेषण गरी नीलमणि भएको उनीहरूले प्रमाणित गरिदिएका थिए ।
गामागेका अनुसार सफा गर्ने क्रममा पत्थरको विशाल ढिक्काबाट केही टुक्रा झरेका थिए । ती उच्चगुणस्तरीय स्टार सफायर भएको पत्ता लाग्यो ।
स्थानीय सिंहला भाषामा रत्नपुरको अर्थ संस्कृतमा जस्तै रत्नको सहर भन्ने हुन्छ । विगतमा पनि त्यहाँ अन्य बहुमूल्य पत्थरहरू फेला परेका थिए । श्रीलंका नीलमणि र अन्य बहुमूल्य रत्नको ठूलो निर्यातकर्ता हो ।
गत वर्ष श्रीलंकाले रत्न, प्रशोधित हीरा र जवाहिरातको निर्यात गरेर झन्डै ५० करोड डलर अर्थात् साढे ५९ अर्ब नेपाली रुपैयाँ आम्दानी गर्यो ।
प्रसिद्ध रत्नविद् डा. गामिनी जोयसाले आफूले पहिला कहिल्यै त्यति ठूलो रत्न नदेखेको बताए । ‘सम्भवतः त्यो ४० करोड वर्षअघि बनेको हुनुपर्छ,’ उनले भने ।
उक्त पत्थर बहुमूल्य भए पनि भित्र भएको सबै द्रव्य उच्चगुणस्तरीय नहुन पनि सक्ने केही विज्ञहरूको धारणा छ । कोभिड महामारीका कारण लकडाउनले गर्दा देशको रत्न उद्योगले घाटा खेप्नुपरेको बेला उक्त बहुमूल्य रत्न फेला परेको हो ।
स्वतन्त्र अन्तर्राष्ट्रिय विज्ञहरूले विश्लेषण र प्रमाणित गर्न अझै बाँकी भए पनि अन्तर्राष्ट्रिय क्रेता र विज्ञको ध्यान ‘सेरन्डिपिटी सफायर’ले आकृष्ट गर्ने श्रीलंकाको रत्न उद्योगमा काम गर्ने व्यक्तिहरूको आशा छ ।
‘यो एउटा विशेष नीलमणि हो, सम्भवतः संसारकै सबैभन्दा ठूलो । यसको आकार र मूल्यका कारण हामीलाई लाग्यो निजी संकलक वा संग्रहालयले यसमा रुचि देखाँछन्,’ राष्ट्रिय रत्न तथा जवाहिरात प्राधिकरणका अध्यक्ष तीलक वीरसिंघेले भने ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा