सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले सैनिक सेवा (तेस्रो संसोधन), २०७७ नियमावली पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्रालयको प्रस्तावमा संसोधित सैनिक नियमावली पारित गरेको हो।
बुधबार पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले पुस २९, माघ ५ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। पुस २७ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णयमा ७ औं नम्बरमा सैनिक सेवा नियमावली (तेस्रो संसोधन) स्वीकृत गर्ने निर्णय भएको उल्लेख छ।
पुसमै निर्णय गरेको भएपनि सरकारका प्रवक्ताले आज मात्रै औपचारिक रुपमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन। यो सँगै अब नेपाली सेनाका सिपाहीले १६ बर्षमै पेन्सनमा जाने बाटो खुलेको छ।
मन्त्रिपरिषद्ले संसोधित सैनिक नियमावली पारित गरेसँगै अब सो निर्णय स्वीकृतीका लागि राष्ट्रपति कार्यालयमा जाने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृती प्रदान गरेसँगै नेपाल राजपत्रमा प्रकाशित भएपछि १६ बर्षे पेन्सन सेवा नेपाली सेनामा कार्यान्वयनमा आउने छ।
पेन्सनबारे साना दर्जाको सैनिकको निरन्तर गुनासो आइरहेपछि सम्बोधनका लागि प्रधानसेनापति पूर्णचन्द्र थापाले अथक प्रयाश गरेका हुन। यो सँगै सिपाहीलाई १६ बर्षमा पेन्सन दिलाउने प्रधानसेनापति थापाको सपना पनि पुरा भएको छ।
सैनिक सेवा नियमावलीको तेस्रो संशोधन २०७७मा नेपाली सेनाका सिपाही र फलोअर्सले सेवा प्रवेश गरेको १६ वर्षमा पेन्सन पाउने उल्लेख छ। नयाँ नियमावली अनुसार ०६० साल वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएकाका लागि यो संशोधन लागु हुने छ।
यस्तै बैठकले बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खरेज गर्ने निर्णय गरेको छ ।
वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी र राष्ट्रकवि माधव प्रसाद घिमिरेको तस्वीर अंकित छपाई भई आएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
मन्त्रिपरिषद्को माघ ५ गते सोमबार बसेको बैठकले अर्थमन्त्रालयको प्रस्तावमा नेपाल सरकार प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृति गर्ने निर्णय गरेको छ ।
कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको पदावधि थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा कोभिड १९ विरुद्धको खोप भण्डारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तोकेको स्थान डिजाइन र लागत अनुमान अनुसारको बजेट भित्र रही केन्द्रमा एक र सबै प्रदेशमा एक÷एकवटा गरी जम्मा ८ वटा भण्डारण गृह खरिद प्रक्रिया बाहेक दुई महिना भित्र निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मा दिने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा