सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पुस २ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब-करिब सकिएको छ। शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ। निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ।
दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ। सबै गणना सकिँदा उल्लिखित सिट संख्यामा सामान्य मात्र हेरफेर हुन सक्ने आयोग स्रोतले जनाएको छ।
यी पाँच पार्टीले मात्रै कुल सदर मतको ३ प्रतिशत कटाएकाले कानुनअनुसार ती दलले मात्रै समानुपातिकबाट सिट पाउनेछन्। आयोगले ‘सेन्टलग’ विधिबाट दलहरूले पाउने सिट निर्धारण गर्नेछ। ३ प्रतिशतभन्दा कम ल्याएका दलहरूको मत समानुपातिक सिटका लागि गणना हुनेछैन। समानुपातिक निर्वाचन प्रणालीबाट ४९ दलले चुनावी प्रतिस्पर्धा गरेका थिए। ४४ दलले ३ प्रतिशतभन्दा कम मत पाए।
सबभन्दा बढी एमालेले ३१ लाख ६१ हजार २ सय ९५ मत ल्याएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसले ३१ लाख ११ हजार ६ सय ४३ मत पाएको छ। प्रत्यक्षतर्फ एमालेभन्दा धेरै सिटले पछाडि रहेको कांग्रेस लोकप्रिय मतमा भने एमालेभन्दा ४९ हजार ६ सय ५२ मतले मात्रै पछाडि छ। प्रत्यक्षमा एमालेले ८० सिट जित्दा कांग्रेसले २३ सिट मात्रै जितेको छ।
प्रत्यक्षतर्फ ३६ सिट जितेर दोस्रो स्थानमा रहेको माओवादी भने लोकप्रिय मतमा तेस्रो स्थानमा छ। उसले १२ लाख ९५ हजार ९ सय ३ मत ल्याएको छ। समानुपातिक सिट जोड्दा कांग्रेस दोस्रो ठूलो दल हुनेछ। लोकप्रिय मतमा अन्तिम समयमा राष्ट्रिय जनता पार्टीले संघीय समाजवादी फोरमलाई उछिनेको छ।
समानुपातिकको गणना सुरु भएदेखि चौथो स्थानमा रहेको फोरम शनिबार राति यो समाचार तयार पारिरहँदा पाँचौं स्थानमा पुगेको छ। राजपाले फोरमलाई १ हजार २५ मतले जितेको छ। राजपाले ४ लाख ७० हजार ४ सय ८६ मत पाउँदा फोरमले ४ लाख ६९ हजार ४ सय ६१ मत ल्याएको छ। प्रत्यक्षतर्फ एक सिटले फोरमभन्दा राजपा अगाडि छ। राजपाले ११ र फोरमले १० सिट जितेका छन्।
समानुपातिकतर्फको अनुमानित सिटसमेत जोड्दा प्रतिनिधिसभामा एमालेको १ सय २१, कांग्रेसको ६३, माओवादीको ५३, राजपाको १७ र फोरमको १६ सिट हुने देखिन्छ। आयोगले निकाल्ने अन्तिम परिणामले उक्त संख्यामा सामान्य हेरफेर भने हुन सक्छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा