सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ : मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भई राष्ट्रिय सभा सदस्य बनेका सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमको भूमिकालाई लिएर आम चासो र पार्टीभित्र बहस सुरु भएको छ । तर, राष्ट्रियसभा सदस्य गौतमको अब भूमिकाबारे प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुको मत भने विभाजित छ ।
गौतम आफै चाहिँ सरकारमा गएर काम गर्ने मनस्थितिमा छन्, जुन उनले राष्ट्रिय सभा सदस्य बनाउन गत १५ भदौमा प्रधानमन्त्री ओलीलाई भेटेर आग्रह गर्दा नै सुनाएका थिए । प्रधानमन्त्री ओली महाधिवेशनको मिति तय भइसकेको र संगठन विभाग प्रमुखसमेत रहेकाले उपाध्यक्ष गौतमलाई पार्टी काममा केन्द्रित गराउने योजनामा छन् । यसका लागि सकेसम्म गौतमलाई सरकारमा सहभागी नगराउने प्रधानमन्त्री ओलीको चाहना देखिन्छ ।
निकट नेताहरुले बताएअनुसार मन्त्रिपरिषद् पुनगर्ठन गरे पनि सकेसम्म गौतमलाई आफ्नो मन्त्रिपरिषद्मा नलैजाने प्रधानमन्त्री ओलीको योजना छ । र यसका लागि उनले त्यहीखालको कदम चाल्ने सम्भावना छ ।
प्रधानमन्त्री ओली सकेसम्म संवैधानिक र कानुनी जटिलता देखाएर गौतमलाई पन्छाउने योजना छन् । निकट नेताहरुले समेत ओलीलाई संवैधानिक जटिलता देखाएर गौतमलाई मन्त्री नबनाउन सुझाव दिएका छन् ।
संविधानको धारा ७८ ९९० मा भने प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्ति प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न नसक्ने व्यवस्था छ । यसैलाई देखाएर ओली गौतमलाई पन्छाउने योजनामा छन् । तर, संविधानको धारा ७८ (१) मा संघीय संसद्को सांसद मन्त्री बन्ने व्यवस्था रहेका कारण गौतम मन्त्री बन्न सक्ने अर्को मत छ ।
संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअनुसार मन्त्री बनेका युवराज खतिवडाको कार्यकाल सकिनै लाग्दा गौतम आफैले ओलीलाई भेटेर राष्ट्रिय सभामा लैजान आग्रह गरेपछि ओली दबाबमा परे । आफूमाथि दबाब बढाएर गौतमलाई सदस्य बनाएकोमा ओलीको असन्तुष्टि छ । यो कारणले पनि प्रधानमन्त्री गौतमलाई मन्त्रिपरिषद्मा लैजान अनिच्छुक रहेको निकट स्रोतहरु बताउँछन् ।
प्रधानमन्त्री ओली गौतमलाई सरकारमा नलैजाने योजनामा रहे पनि कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेता भने गौतमलाई राम्रो मन्त्रालयसहित उपप्रधानमन्त्रीका रुपमा सरकारमा पठाउने योजनामा छन् । पद तथा गोपनियताको शपथमै पुगेका दाहाल, खनाल र नेपालले गौतमको अबको भूमिकाबारे समेत छलफल गरेका थिए ।
पार्टी स्थायी कमिटीले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनको बाटो खोलेको र यही विषयलाई लिएर शुक्रबार सचिवालय बैठक बस्दैछ । बैठकमा दाहाल, खनाल र नेपाल गौतमलाई मन्त्री बनाउने पक्षमा उभिने सम्भावना छ ।
बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनको सैद्धान्तिकबाहेक कति व्यक्ति राख्ने–हटाउने र कसलाई पठाउने सम्मको प्राविधिक पक्षमा समेत छलफलको सम्भावना रहेको सचिवालयका एक नेताले बताए । पेरिसडाँडामा बस्ने बैठकमा प्रधानमन्त्री ओली सहभागी हुनेरनहुनेबारे बिहीबार साँझसम्म टुंगो लागेको छैन ।
सचिवालयका ती सदस्यले गौतमको भूमिकलाई लिएर पार्टीभित्र अहिले एकमत भइनसकेको बताए । ‘पार्टीभित्र विवाद र अनेक लफडाकाबीच उहाँ (वामदेव) राष्ट्रिय सभा सदस्य बन्नुभएको छ । सरकारमा गएर काम गर्ने उहाँको इच्छा छ । तर प्रधानमन्त्री त्यत्ति सकारात्मक हुनुहुन्न,’ ती सदस्यले भने, ‘सरकारमा जाने–नजाने भन्नेमा टुंगो लाग्न पार्टी बैठक नै कुनुपर्छ । वामदेव आफै पछाडि हट्नुभएन भने यो मुद्दामा राम्रै बहस होला ।’
गौतम आफैंले पनि सांसदपछि थप जिम्मेवारी लिने संकेत गरिसकेका छन् । उनले भने शपथलगत्तै भनेका छन्, ‘राष्ट्रिय सभा सदस्य रहँदासम्म यसको गरिमा र प्रतिष्ठा गिराउने गरी कुनै पनि क्रियाकलाप गर्ने छैन, नेपालको स्वतन्त्रता, राष्ट्रियता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सदैव वफादार भएर कर्तव्य निर्वाह गर्नेछु । नेकपाले नेपालमा समाजवाद स्थापना गर्ने संकल्प गरेको छ । त्यही संकल्पबमोजिम यहाँबाट के–कति भूमिका निर्वाह गर्न सकिन्छ, गर्नेछु ।’
सुरुमा प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरेमात्र राष्ट्रियसभा सदस्य बन्ने सर्त राखेका गौतम १० महिनापछि भने बिनासर्त राष्ट्रियसभा सदस्य बनेका छन् । उनी सरकारमा सहभागी हुने महत्वकांक्षासहित सांसद बनेको स्रोतहरु बताउँछन् । कान्तिपुर दैनिक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा