सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाबियाचौर, म्याग्दी, असोज १७ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलामा आएको बाढीले सोमबार साँझ ट्याक्सी बगाएको छ ।
बाढीका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पनि अवरुद्ध बनेको छ ।
पोखरेबगरदेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ४०५ नंको ट्याक्सी बाढीले बगाएको प्रहरीले जनाएको छ । खोला तर्नेक्रममा बाढी आएर फसेको ट्याक्सी धकेलेर खोला पार गराउने क्रममा बगाएर कालीगण्डकीमा पु¥याएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।
ट्याक्सी करिब एकसय मिटर तल कालीगण्डकी नदीको बीचमा ढुंगामा अड्किएको छ । चालक र यात्रु भने ट्याक्सी फसेपछि झरेका थिए । बाढीले सडक कटान गरेकाले जोमसोमबाट बेनीतर्फ आउन लागेका र बेनीबाट जोमसोमतर्फ जाने सवारी साधन बीचबाटोमै रोकिएका छन् ।
यसले गर्दा मुस्ताङ भ्रमण, मुक्तिनाथ तीर्थयात्रामा आएका हजारौँ पर्यटक तथा स्थानीयवासी अलपत्र परेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले मंगलबार बिहानैदेखि डोजर परिचालन गरेर सडक खुलाउन पहल भइरहेको बताउनुभयो ।
दशैँलगत्तै मुस्ताङ भ्रमणमा आउने पर्यटकको चाप बढेको अवस्थामा सडक अवरुद्ध हुँदा उनीहरु समस्यामा परेका छन् । विसं २०७३ भदौ दोस्रो साता बेगखोलामा आएको बाढीले बस्ती र त्यहाँ रहेको झोलुङ्गे तथा बेलीब्रिज बगाएको थियो ।
गत असारमा निर्माण गरिएको अस्थायी मोटरेबल पुलसमेत बाढीले बगाएपछि बेगखोलामा बाढी आउँदा सवारी सञ्चालनमा समस्या हुने गरेको छ । (रासस)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा