सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले कोभिड–१९ महामारीविरुद्धको खोप ल्याउन तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रहरुलाई कूटनीतिक नोट पठाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाविरोधी खोपको तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अस्ट्रेलिया लगायत मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिएका हुन् ।
कोभिड–१९ विरुद्धको खोप (भ्याक्सिन) नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै रहने निचोडका साथ खोपका माध्यमबाट सहजरूपमा उपचार होस् भनी सरकार त्यसमा जुटेको हो । राज्यको स्रोत र सामर्थ्यका आधारमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न युद्धस्तरमा सरकारले काम गरिरहेको बताउँदै उनले भने, ‘ठूलो संख्यामा होम आइसोलेसनमा बसेका बिरामीलाई घरघरमा स्वास्थ्य सेवा पुर्याउनु र रेखदेख गर्नु अहिलेको मुख्य चुनौती हो ।
कोभिड–१९ बाट मुलुकमा हालसम्म एक हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने दुई लाख २४ हजार ७८ जना संक्रमित भइसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ छ ।
२० प्रतिशतलाई खोप सुनिश्चित
केही ढिलो भए पनि कुल जनसंख्याको २० प्रतिशतलाई खोप प्राप्त गर्ने सुनिश्चितता भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनले भने, ‘अरु देशका नागरिकले खोप प्रयोग गर्दा हाम्रा नागरिकले पनि प्रयोग गर्न सकून् भनेर सरकार त्यो काममा जुटिरहेको छ ।’
अहिलेसम्म १२ वर्षमुनि उमेरका बच्चाका लागि खोप बनेको छैन । उक्त उमेर समूहभन्दा माथिका लागि लगाउने भनिएको भ्याक्सिनको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको छ । विश्वका विभिन्न मुलुकमा कोभिड–१९ विरुद्ध १४० प्रकारका खोप बनाउने प्रयास भए पनि हालसम्म १० वटा मात्रै तेस्रो चरणको परीक्षणमा पुगेका हुन् ।
तेस्रो चरणमा रहेका मध्ये कुन खोप पहिला आउँछ भनेर अहिले नै निक्र्योल गर्ने अवस्थामा नरहेको बताउँदै प्रवक्ता गौतमले भने, ‘अहिलेसम्मको खोपको परीक्षणको नतिजालाई आधार मान्दा आगामी मार्च महिनासम्ममा खोप आउँछ कि भन्ने अनुमान गरिएको छ ।’
खोपलाई ६० अर्ब
यद्यपि उक्त खोपको प्रभाव, मूल्य र आउने सुनिश्चितता अझै यकिन भइसकेको छैन । गाभी–कोभ्याक्स् नामक संस्थाले नेपालको जनसंख्याको २० प्रतिशतलाई पुग्ने लागत मूल्यको २० प्रतिशत सहुलियत मूल्यमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने वचन दिइसकेको छ । उक्त खोपका लागि करिब ६० अर्ब लाग्ने भएकाले रकमको व्यवस्थापन पनि चुनौतीकै रूपमा छ ।
नेपालमा उक्त खोप प्राप्त भइसकेपछि सबैभन्दा पहिला कसलाई दिने भनी प्राथमिकता निर्धारण गर्नुपर्ने छ । तथापि स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर काम गर्ने र ५५ वर्ष उमेर समूहमाथिलाई प्राथमिकता दिनुपर्ने एकखाले सुझाव प्राप्त भएको जानकारी दिइएको छ । सम्भावना, प्रभावकारी र मुलुकको क्षमताका आधारमा ती खोपको छनोट हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
दोहोरिने घटना बिरलै
विश्वमै अहिलेसम्म कोभिड–१९ को उपचार नभएको, एकै व्यक्तिलाई दोहोर्याएर संक्रमण भएको घटना विरलै रहेको तथा जुन देशका राजनीतिक दल र जनप्रतिनिधि प्रतिकार्यको अभियानमा जुटेका छन् ती मुलुकमा संक्रमणको असर निकै कम रहेको मन्त्रालयको जिकिर छ ।
अत्यावश्यक कामबाहेक घरबाट ननिस्कने, निस्किन परे पनि दुई मिटरको भौतिक दूरी कायम गर्ने, नियमित हात धुने तथा सेनिटाइजर र मास्कको प्रयोग गर्नाले कोरोनाको जोखिमबाट सहजै बच्न सकिने पक्षमा ध्यान दिन मन्त्रालयले समाजका सबै तह–तप्कालाई आग्रह गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा