सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गाभीले नेतृत्व गरेको कोभिड–१९ खोपमा विश्वको पहुँच सुविधाले तयार पारेको विश्वव्यापी खोप आपूर्ति योजना अन्तर्गत कोभिड–१९ विरुद्धको खोप खरिद तथा वितरण पहलको नेतृत्व युनिसेफ गरिरहेको छ । यो सम्भवतः खोपको खरिद एवं वितरणसम्बन्धी विश्वकै ठूलो तथा तीव्र प्रक्रिया हुने युनिसेफको विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न खोप उत्पादकहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिरहेको बेला युनिसेफले कोभाक्स सुविधाको तर्फबाट न्यून तथा न्यून मध्यम आय भएका ९२ वटा देशहरूका लागि पिएएचओ कोषसँगको सहकार्यमा कोभिड–१९ विरुद्धको खोप खरिद गरी आपूर्ति गर्नेछ । उक्त प्रक्रियामा गाभी कोभाक्स एएमसीका साथै मानवीय आपतकालमा उपयोगको लागि संक्रमणकालीन मौज्दातमार्फत एक संयन्त्रको सहयोग रहने युनिसेफको विज्ञप्तिमा उल्लेख छ । साथै, उच्च आय भएका ८० वटा देशहरूले गर्ने खरिद कार्यमा पनि युनिसेफले खरिद संयोजकको रूपमा सघाउनेछ, जसले उक्त खरिद कार्यको लागि आफ्नै सरकारी बजेटबाट रकम व्यवस्था गरेर कोभाक्स फसिलिटीमा सहभागी हुने आशय व्यक्त गरेका छन् ।
उल्लेखित कार्यहरूको लागि युनिसेफले विश्व स्वास्थ्य संगठन, गाभी, सिइपिआई, पिएएचओ, विश्व बैंक, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन तथा अन्य साझेदारहरूसँग सहकार्य गर्नेछ । निकट भविष्यमै उपलब्ध हुने कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्नबाट कुनै पनि देश वञ्चित हुनु नपरोस् भनी कोभाक्स सुविधा सबै देशहरूका लागि खुल्ला रहेको उसले जनाएको छ ।
‘कोभिड–१९ विरुद्ध उच्च तहको लडाइँ जारी राख्न सरकारहरू, उत्पादकहरू तथा बहुपक्षीय साझेदारहरूको बीचमा भएको यो एउटा अत्यन्तै बहुपक्षीय साझेदारी हो,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भनेका छन्, ‘खोपका लागि सामूहिक प्रयास भइरहेको अहिलेको समयमा भविष्यमा उपलब्ध हुनासाथ सबै देशहरूले सुरक्षित, छिटो र समान वितरणको आधारमा खोप प्राप्त गर्नेछन् भन्ने सुनिश्चित गर्नको लागि युनिसेफले खोप आपूर्ति कार्यमा रहेको आफ्नो क्षमतालाई भरपूर उपयोग गरिरहेको छ ।’
युनिसेफ करिब १०० देशहरूको तर्फबाट नियमित खोप कार्यक्रम सहित महामारीको समयमा खोप उपलब्ध गराउनको लागि वार्षिक दुई अर्बको संख्यामा खोप खरिद गर्ने विश्वकै ठूलो खरिदकर्ताको रूपमा रहेको छ । खोपसम्बन्धी सहकार्य सञ्जाल गाभीको मुख्य खरिद साझेदारको रूपमा रहेको युनिसेफले विगत २० वर्षमा ७६ करोडभन्दा बढी बालबालिकाका लागि खोप उपलब्ध गराउंदै १ करोड ३० लाख भन्दा बढीलाई मृत्यु हुनबाट जोगाएको छ । आफ्नो बजार विश्लेषण तथा खरिद कार्य सम्बन्धी विज्ञताको उपयोग गर्दै युनिसेफले कोभाक्स सुविधाको लागि कोभिड–१९ विरुद्धको खोप खरिद एवं आपूर्ति कार्यको लागि समन्वय गर्नेछ । यससँगै युनिसेफले अहिलेसम्म खरिद गरेको खोपको कुल संख्याभन्दा दोब्बर खरिद २०२१ मै गर्ने सम्भावना रहेको छ ।
कोभाक्स सुविधाको तर्फबाट जुन महिनामा युनिसेफले आशयपत्र आह्वान गरेकोमा विभिन्न १० वटा देशहरूमा उत्पादनको क्षमता रहेका २८ वटा उत्पादकहरूले २०२३ सम्मको वार्षिक उत्पादन योजना प्रस्तुत गरेका छन् । खोपका उत्पादकहरूले प्रस्तुत गरेको समयरेखालाई हेर्दा खोपको विकासदेखि उत्पादन चरणसम्मको समयावधि वैज्ञानिक अनुसन्धान तथा उत्पादनको क्षेत्रमा इतिहासकै तीव्र प्रगति हुन सक्छ ।
खोप उत्पादकहरूले उपलब्ध गराएका तथा सार्वजनिक रूपमा उपलब्ध तथ्यांकलाई एकीकृत गरि युनिसेफले सञ्चालन गरेको बजार अध्ययन अनुसार आगामी १–२ वर्षभित्रै उत्पादकहरूले सामुहिक रूपमा अभूतपूर्व संख्यामा खोप उत्पादन गर्न इच्छुक रहेको निष्कर्ष निकालेको छ । यद्यपि, ठूलो मात्राको उत्पादनलाई सार्थक रूप दिनको लागि आवश्यक पर्ने आर्थिक लगानी धेरै हदसम्म चिकित्सकीय (क्लिनिकल) परीक्षणको सफलता, खरिदका लागि गरिने अग्रिम सम्झौता, आर्थिक सहयोगको निश्चितता, तथा नियमनकारी एवं दर्ता प्रक्रिया लगायतका कुराहरूमा निर्भर रहने संकेत गरेका छन् ।
साथै उक्त अध्ययनले एसिटी एक्सिलेरेटर इनिसिएटिभको मुख्य स्तम्भको रूपमा रहेको कोभाक्स सुविधाको डिजाइन तथा उद्देश्यको सन्दर्भमा उत्पादकहरूको प्रतिक्रिया पनि चित्रण गरेको छ । एसिटी एक्सिलेरेटर इनिसिएटिभ सबै स्तरका आय भएका देशहरूमा व्याप्त कोभिड–१९ महामारीलाई सम्बोधन गर्न खोप, परीक्षण तथा उपचार सामग्रीहरूको विकास तथा समान वितरणलाई थप गति प्रदान गर्नको लागि हालसालै सुरू गरिएको एउटा नयाँ विश्वव्यापी सहकार्य हो ।
अबको मुख्य कदम भनेको आत्मनिर्भर अर्थतन्त्र भएका मुलुकहरूलाई सेप्टेम्बर १८ भित्र कोभाक्स सुविधामा सहभागी गराउन पहल गर्ने हो । यसले गर्दा अग्रिम रूपमा खरिद सम्झौता गर्न सम्भव हुने हुँदा जोखिममा रहेका सुरुवाती लगानीकर्तालाई उत्पादनमा व्यापक वृद्धि गर्न सहयोगी हुनेछ ।
हाल विश्व स्वास्थ्य संगठनले तयार पार्ने क्रममा रहेको कोभिड–१९ वितरण प्रारूपले युनिसेफ, पिएएचओ तथा खरिदकर्ताहरूले सहभागी देशहरूको तर्फबाट सुविधाले उपलब्ध गराउने निश्चित गरेको कोभिड–१९ विरुद्धको खोप कसरी र कहाँ आपूर्ति गर्ने भन्ने सम्बन्धमा मार्गनिर्देशन प्रदान गर्नेछ । प्रारम्भिक चरणमा देशहरूलाई उपलब्ध गराइने खोप स्वास्थ्यकर्मी तथा सामाजिक कार्यकर्ताहरूलाई लगाइने अपेक्षा गरिएको छ भने त्यस पछि क्रमशः कोभिड–१९ को उच्च जोखिममा रहेका मानिसहरूलाई लगाउनको लागि उपयोगी रहनेछ ।
‘गाभीको दुई दशकको सफल यात्रामा युनिसेफ अत्यन्तै महत्त्वपूर्ण साझेदारीको रूपमा रहँदै आएको छ र यो साझेदारी मार्फत, विश्वको आधाभन्दा बढी जनसंख्यासम्म जीवन बचाउने खोपहरू उपलब्ध गराइसकिएको छ,’ गाभीका प्रमुख कार्यकारी अधिकृत डा. सेठ बर्कली भन्छन्, ‘यो विज्ञता तथा अनुभव सुरक्षित तथा प्रभावकारी कोभिड–१९ खोपलाई तीव्र रूपमा खरिद तथा वितरण गर्ने विश्वव्यापी पहल कोभाक्सले विश्वको जुनसुकै कुनामा बसोबास गर्ने उच्च जोखिममा रहेका मानिसहरूलाई बचाउनका लागि महत्वपूर्ण हुनेछ । हामी सबै मिलेर यो महामारीले मानिस, समुदाय तथा अर्थतन्त्र पार्ने असरलाई अन्त्य गर्न सकिन्छ ।’
युनिसेफ, गाभी, विश्व स्वास्थ्य संगठन र पिएएचओले साझेदार तथा विभिन्न देशका सरकारहरूसँगको सहकार्यमा देशहरूमा खोप उपलब्धताको तयारी सम्बन्धमा अत्यन्तै महत्त्वपूर्ण हुने निम्न तयारीहरू गरिरहेका छन्:
– खोपको लागि आवश्यक पर्ने सुरक्षित सुई तथा चिसो राख्नको लागि आवश्यक उपकरणहरूका लागि सम्बन्धित उत्पादकहरूसँग सहकार्य
– विश्व स्वास्थ्य संगठनसंगको सहकार्यमा खोप सम्बन्धी नीति तथा खोपको उचित ओसारपसार, भण्डारण र वितवरण सम्बन्धी निर्देशिका एवं तालिमहरूको विकास
– सम्बन्धित देशहरूको लागि खोप छुट्ट्याएपछि छिटो तथा सुरक्षित रूपमा पुगोस् भन्नको लागि आवश्यक ढुवानी र बन्दोबस्तीका सम्बन्धमा उत्पादकहरूसँग सहकार्य
– सबैभन्दा जोखिममा रहेका मानिसहरूको लागि खोप लक्षित गर्ने र ढुवानी तथा भण्डारणको योजनाका लागि देशहरूलाई सहयोग
– मानिसहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउने प्रक्रियाका बारेमा जानकारी गराउन र कोभिड–१९ विरुद्वको खोपप्रति विश्वास बढाउँदै त्यसबारे गलत सूचना प्रसार हुनबाट रोक्नको लागि नागरिक समाज तथा स्थानीय साझेदारसँगको सहकार्यमा आवश्यक पहल गर्ने ।
कोभिड–१९ खोपको लागि अग्रिम रूपमा गाभीले गरेको प्रतिवद्वतामा सहभागी हुनको लागि गत भाद्र ४ मा नेपालले पेस गरेको आशयपत्र प्राप्त गरेको कुरा गाभी सचिवालय र कोभाक्स सुविधाले पुष्टि गरेका छन् । यो अग्रिम प्रतिबद्धता कोभिड–१९ विरुद्वको खोपका लागि आधिकारिक विकास सहायता (ओडिए) द्वारा सहयोग प्राप्त आर्थिक सहयोग कार्यक्रम हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा