सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इन्जिनियरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
नेपाल प्रगतिशील इन्जिनियर एसोसिएसनका पदाधिकारीसँग शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले इन्जिनियर पेसालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनुपर्नेमा जोड दिए ।
सरकार इन्जिनियरको पेसागत सुरक्षा र न्यूनतम् पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
प्रधानमन्त्रीले भने–‘तपाइँहरुको पेसागत सुरक्षा र न्यूनतम् पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ ।’
राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यकारुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो शर्त हो’–प्रधानमन्त्री ओलीले भने–‘यसमा सरकार प्रतिबद्ध छ । सरकारको यस अभियानमा इन्जिनियरको साथ–सहयोग जरुरी छ ।’
वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पस्ट पारे ।
‘सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ’–प्रधानमन्त्रीले भने–‘केही मानिसले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौं ।’
प्रधानमन्त्रीलाई भेट्न एसोसिएसनका अध्यक्ष शम्भुबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पूरा गर्न आफू सकारात्मक भएको बताएको उनको सचिवालयले जनाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा