सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाजुरा, भाद्र २९ । हिमाली गाउँपालिकामा बिहीबार भिरबाट लडेर एक जना स्थानीयवासी सख्त घाइते भएका छन् । घाइते हुनेमा साबिक रुगिन बोर्ताका ३३ वर्षीय रनवीर भण्डारी रहेका छन् । घर नजीकैको जङ्गलमा दाउरा ल्याउन जाने क्रममा एक्कासि चिप्लेर भिरबाट लडेर गम्भीर घाइते भएको स्थानीयवासी छप्कीलाल बुढाले जानकारी दिए ।
बुढाले भने, ‘गाउँले मिलेर घटनास्थलबाट त ल्यायौँ तर नजीक स्वास्थ्य संस्था नभएको र यातायातको समेत सुविधा नभएकाले थप उपचारका लागि प्रदेश ७ को पहलमा हेलिकप्टरमार्फत शुक्रबार साँझ नेपालगञ्ज मेडिकल कलेज दशबिगाहमा लगिएको छ ।’
गृह मन्त्रालयको समन्वयमा रु तीन लाख भाडा तिरेर थप उपचारका लागि हेलिकप्टर चार्टर गरेको हो । प्रदेश ७ का आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्राललयका मन्त्री दीर्घ सोराडी र प्रदेश बलदेव रेग्मीको पहलमा हेलिकप्टरमार्फत घाइतेको उपचारका लागि सुर्खेतसम्म हेलिकप्टर र त्यहाँदेखि कोहलपुरसम्म एम्बुलेन्समार्फत घाइतेको उद्धार गरिएको प्रदेश ७ का कानूनमन्त्री शाहको निजी सचिवालयले बताएको छ ।
घाइते रनवीर भण्डारीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । घाइतेको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको उनका आफन्तले बताएका छन् । यसरी राज्यले आफ्ना नागरिकप्रति देखाएको गम्भीरताप्रति स्थानीयवासीले खुशी व्यक्त गरेको दलित अधिकारकर्मी गोरख सार्कीले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा