सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जाजरकोट, असार ८। बारेकोट गाउँपालिका–५ तोलखानका ४९ वर्षीय गोविन्दबहादुर सिंह पेसाले पशु प्राविधिक हुन् । ३१ वर्षदेखि पशु प्राविधिकको रूपमा सरकारी सेवामा कार्यरत उहाँ गत ५ वर्षदेखि जाजरकोटका जंगलमा दुर्लभ चराहरुको बासस्थान खोज्दै हिँडेका छन् ।
विश्वमा दुर्लभ र लोपोन्मुख मानिएका चरा र जनावरको खोजीमा रातदिन सक्रिय गोविन्दलाई आफ्नो जीवन र जागिर भन्दा पंक्षी सरंक्षणमा मात्र चिन्ता छ । सन् २०६९ फागुनमा काठमाडौँमा सेवारत रहँदा एक कार्यक्रममा गिद्ध र अन्य चराबारे छलफलमा सहभागी उनले यी चरा हाम्रो जाजरकोटमा पाइन्छन् भन्दा अन्य सहभागीले जाजरकोटमा त दुर्लभ चरा होइन झाडापखाला मात्र पाइन्छ होला भनेर जिस्काएको पिडा सुनाउँदै त्यसैबेलादेखि आफूले चरा खोजीको काम शुरु गरेको र पाँच वर्षको अवधिमा विश्वमा लोपोन्मुख तथा दुर्लभ मानिएका आधा दर्जन चरा र अन्य केही जनावरसमेत भेटिएको बताउँछन् ।
उनले फेला पारेका चरा र जनावरलाई पक्षी विज्ञ र अन्य सरोकारवालाले प्रमाणित समेत गरिसकेका छन् । जाजरकोटका जंगलमा चार थरीका दुर्लभ एवं लोपोन्मुख अबस्थाका सुनगिद्ध, सेतो गिद्ध, हाडफोर गिद्ध र हिमाली गिद्ध पाइन्छ । विश्वकै दुर्लभ चरा चिरकालिज, जलेवा चराको गुड, लाटो कोसेरोको प्रजाति हप्सीलो हुचिल, मलाहा, हुचिल, विश्वकै दुर्लभ जनावर हाइना, हिँउचिुतुवा, वनकुकुर, ब्वाँसो र कस्तुरी रहेको उनी बताउँछन् । जाजरकोटमा भेटिएका चार जातका गिद्ध, अन्य दुर्लभ चरा र जनावर पक्षी तथा पशु विशेषज्ञले नै प्रमाणित गरिसकेको सिंह बताउँछन् । पाँच वर्षको अवधिमा साविकका १६ गाविसका जंगलमा डुलेको र सो क्रममा ३३ वटा हिमाली गिद्धका गुँड, तीन वटा हाडफोर गिद्धका गुँड, दुई वटा सेतो गिद्धका गुँड र एउटा सुनगिद्धको गुँड फेला परेको पनि गोविन्द जानकारी दिन्छन् ।
रातदिन चरा भेटिने समय मिलाएर दुर्लभ चराको वासस्थानको खोजीमा जंगलको यात्रामा हिँडेका सिंह आफूलाई अहिलेसम्म कसैले सहयोग नगरेको र कोही सरोकारवाला निकायले समेत सहानुभूति समेत नराखेकोमा गुनासो गर्छन् । अहिलेसम्म क्यामेरा तथा अन्य सामग्रीको लागि व्यक्तिगत रु पाँच लाख बढी खर्च गरिसक्नुभएका गोविन्द जाजरकोटलाई दुर्लभ चरा र जनावरको वासस्थान हो भनेर नेपाल र नेपाल बाहिर चिनाउनका लागि आफूले रातदिन दुःख गरेर जंगल डुल्ने गरेको बताउँछन् ।
उनका अनुसार नेपालमै पहिलो पटक भेटिएको जलेवाको गुँड नलगाड नगरपालिकाको रग्दाको चौखामा पाइन्छ भने वारेकोटको–९ काप्तीको जंगलमा लाटोकोसेरो प्रजातिका चरा भेटिएका छन् । यस्तै भेरी नगरपालिकाको कुदु र कुसेको पैंकमा हाइना भेटिएको उहाँ बताउँछन् ।
आफूले बारेकोट र भेरी नगरपालिकामा भेटाएका दुर्लभ एवं लोपोन्मुख गिद्धका गुँड, दुर्लभ चरा र अन्य पक्षीको अध्ययन गर्न पक्षी विज्ञ डा हेमसागर बराल, जीवविज्ञ डा करण शाह पनि जाजरकोट पुग्नुभएको र उहाँहरूले जाजरकोट विश्वका दुर्लभ चराको सुरक्षित वासस्थान भएको प्रतिक्रिया दिएको जानकारी दिन्छन् ।
बारेकोट गाउँपालिका गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह आफूहरुले पनि रेडपाण्डा लगायतका विश्वकै दुर्लभ चराको संरक्षणका लागि केही बजेट छुट्याउनुका साथै कार्यक्रम बनाउने गरेको र आगामी वर्षदेखि यस विषयमा विशेष पहल गर्ने सोचिरहेको बताउँछन् । हेमन्त केसी, रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा