सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्सा, चैत्र २३ । ग्रामीण भेगमा दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ ।
पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासूससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका हुन् ।
रविनासँग रहेको सुनको गहना लिई घरबाट निकाल्न खोज्दा उनले प्रतिरोध गरेपछि जीउमा आगो लगाई मार्ने प्रयास गरेको रविनाले प्रहरीलाई जानकारी दिएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।
गत १३ चैतमा श्रीमान् साविर, ससुरा फरजन मिया धोवी, सासू शोभा खातुन लगायतले कुटपिट गरी शरीरमा आगो लगाएको घटना भएपनि आज सार्वजनिक भएको हो ।
९ दिनसम्म घरमा लुकाई राखिएकी रविनाले आज उम्किन सफल भई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा सम्पर्क गरेपछि उनलाई उचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइएको छ ।
रविनाको कम्मरदेखि तल शरीरको दाहिने भाग जलेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । रविनाको दाहिने खुट्टा र कम्मरमा आगोले जलेर भएको घाउ उपचार अभावमा बिग्रिएको चिकित्सकको भनाइ छ ।
रविनाले दिएको उजुरको आधारमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाउनुको साथै ससुराली पक्षलाई जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराउन मातहतका प्रहरी चौकीलाई निर्देश दिएको नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।
भारतको दिल्लीमा काम गर्ने रविनाका श्रीमान साविरले उतै कान्छी राखेको र कान्छीबाट एउटा छोरोसमेत रहेको रविनाले प्रहरीलाई बताएको प्रहरीको भनाइ छ । विवाह भएको तीन वर्ष बित्दा समेत रविना आमा बन्न नसकेपछि साविरले कान्छी भित्र्याइ घरबाट निकाल्न खोजेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । नयाँ पत्रिकाबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा