सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– काठमाडौं महानगरपालिकाले स्थानीयवासीको अवरोधका कारण सार्वजनिक शौचालय निर्माण हुन नसकेको बताएको छ ।
विगत तीन वर्षदेखि नै कामपाले हरेक वडामा सार्वजनिक शौचालय निर्माण गर्ने भने पनि अहिलेसम्म नयाँ शौचालय निर्माणको काम सुरु भएको छैन । अर्कातिर भएका शौचालयलाई सफाइ गर्ने काम पनि अघि बढ्न सकेको छैन । यसको दोष काठमाडौं महानगरपालिकाले स्थानीय बासिन्दालाई दिएको हो ।
विश्व शौचालय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कामपाका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘सार्वजनिक शौचालय भन्नेबित्तिकै गन्ध आउँछ भन्ने बुझाइ छ ।’
उनले विगतमा सञ्चालन गरिएको सार्वजनिक शौचालयको व्यवस्थापनका कारण बनेको नकारात्मक बुझाइका कारण नयाँ शौचालय निर्माणको काम अघि बढ्न नसकेको बताए ।
प्रवक्ता डंगोलले अब निर्माण हुने शौचालय प्रविधियुक्त र वातावरणमैत्री हुने भन्दै यसका लागि स्वयम्भू र बानेश्वरमा परीक्षण सुरु गरिसकेको जानकारी दिए । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्यले सरकारले खानेपानी र सरसफाइका लागि विनियोजन गर्ने बजेट बढ्न नसकेकाले पनि यस क्षेत्रमा पर्याप्त काम हुन नसकेको बताइन् ।
नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि १० प्रतिशत नागरिकले अझै खुला रुपमै दिसा र पिसाब गरिरहेको तथ्यांक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा