सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाली सिने क्षेत्रमा शिव श्रेष्ठ र भुवन केसीलाई सदाबहार अभिनेताका रूपमा लिने गरिन्छ । चलचित्र क्षेत्रमा लगभग एकै समय उदाएका यी दुईलाई कुनै समय नेपाली चलचित्रको धरोहर मानिन्थ्यो । २०३७ सालमा निर्मित चलचित्र जीवनरेखाबाट उदाएका शिव त्यो समयमा सर्वाधिक रुचाइएका नायक हुन् । उनले करिअरको प्रारम्भतिर जीवनरेखा, बदलिँदो आकाशजस्ता चलचित्रमा अभिनय गरेका थिए । त्यही सेरोफेरोमा भुवनले ‘जुनी’ चलचित्रमा अभिनय गरे । त्यसैले पनि सुरुसुरुमा मानिसहरूले भुवन र शिवलाई प्रतिस्पर्धी नायकको रूपमा लिएको अड्कल गर्न सकिन्छ । आजको नयाँ पत्रिकामा खबर छ ।
तर, उनीहरू भने एकअर्कालाई राम्रो साथीको रूपमा लिन्छन् । नेपाली चलचित्र उद्योगमा यी दुई अभिनेताको आ–आफ्नै स्थान छ । नेपाली चलचित्र इतिहासको दोस्रो चरणमा उदाएका यी दुई अभिनेताका कारण नेपाली चलचित्रले व्यावसायिक सफलता हासिल गरेको निर्माता–निर्देशकहरू बताउँछन् । भुवन र शिव फिल्मी क्षेत्रमा आउनुभन्दा अघि धेरै अभिनेता देखिए पनि उनीहरूले जस्तो व्यावसायिक सफलता हात पार्न सकेनन् । नेपालमा मात्र होइन, भुवन र शिवले विदेशी फिल्ममा पनि सफलता पाएका छन् । कुनै समय शिव श्रेष्ठ पाकिस्तानी फिल्म उद्योगका सुपरस्टार मानिन्थे भने भुवन पाकिस्तानी र बंगाली फिल्ममा स्थापित बने । नेपालमा मात्र नभई विदेशी फिल्म अभिनयमा पनि यी दुईबीच प्रतिस्पर्धा रह्यो । तैपनि उनीहरूबीचको सम्बन्धमा कहिल्यै वैमनष्य उत्पन्न भएन । दुवैजना एकअर्कामा असल मित्रता कायम गर्न सकेकोमा गर्व महसुस गर्छन् । समकालीन र नयाँ चलचित्रकर्मीहरू पनि भुवन र शिवको सम्बन्ध साँच्चै लोभलाग्दो रहेको बताउँछन् ।
जीवनरेखाले जुराएको भेट : भुवन केसी र शिव श्रेष्ठको पहिलो भेट २०३६ सालमा बालाजुस्थित शाही नेपाल चलचित्र संस्थानमा भएको हो । निर्देशक प्रकाश थापाद्वारा निर्देशित ‘जीवनरेखा’का लागि अभिनेता र खलचरित्र अभिनय गर्ने पात्रको मान्छेको खोजी भइरहेको थियो । भुवन अभिनेता र शिव खलचरित्रका लागि अभिनय गर्न निर्देशक थापाकहाँ पुगेका थिए । तर, निर्र्देशक थापाले शिवलाई अभिनेताका रूपमा अनुबन्ध गरे । भुवन भने बाहिरिए । शिव भन्छन्, ‘त्यही वेलामै हो जस्तो लाग्छ हाम्रो पहिलो भेट भएको ।’ त्यसअघि न भुवनलाई शिवले भेटेका थिए न त भुवनले शिवलाई नै । दुईको भेट वास्तवमै ‘जीवनरेखा’ले जुराइदिएको भुवन बताउँछन् ।
एकै वर्ष चलचित्रमा देखिए : २०३७ सालमा भुवनलाई हिरो बन्ने इच्छा जाग्यो । त्यसपछि उनी ‘जीवनरेखा’ चलचित्रमा हिरो बन्न निर्देशक प्रकाश थापाकहाँ पुगे । तर, निर्देशक थापाले शिवलाई हिरोमा चयन गरे । तैपनि भुवनले हिम्मत हारेनन् । उनले त्यसै वर्ष ‘जुनी’ चलचित्रमा अभिनय गरेर आफ्नो फिल्मी करिअर अघि बढाए । एकै वर्ष दुवैजनाले अभिनय गरेको चलचित्र रिलिज भएकाले पनि दर्शकहरूले आफूहरूलाई प्रतिस्पर्धी ठानेको हुन सक्ने भुवन र शिव अनुमान गर्छन् ।
उमेरले भुवनभन्दा शिव जेठा : उमेरले शिव भुवनभन्दा जेठा छन् । त्यसैले भुवनले सुरुका दिनमा शिवलाई दाइ भन्ने गर्थे । सुरुसुरुमा आफूभन्दा जेठालाई दाइ भन्नु स्वाभाविकै थियो । विस्तारै सम्बन्ध कसिँदै गयो । त्यसपछि उनीहरू दुवैले नामैले बोलाउन थाले । त्यसपछि सुरु भयो उनीहरूको तँ–तँ र म–मको सम्बन्ध । शिव २०१० सालमा काठमाडौंको किलागलमा जन्मेका हुन् भने भुवन २०१५ सालमा सिनामंगलमा । यसरी हेर्दा उमेरको हिसाबले शिवभन्दा भुवन पाँच वर्षले कान्छा छन् । तर, उनीहरू चलचित्र क्षेत्रमा एकैसाथ प्रवेश गरेको बताउँछन् ।
प्रतिस्पर्धाले सम्बन्ध तिखार्यो : नेपाली चलचित्रमा प्रतिस्पर्धी नायकको कुरा गर्दा भुवन र शिव अग्रपंक्तिमा आउँछन् । आमदर्शकले पनि भुवन र शिवलाई प्रतिस्पर्धी नायकको रूपमा लिने गरेका थिए । तर, आफूहरूलाई ‘प्रतिस्पर्धी नायक’ भनेको दुवैजना रुचाउँदैनन् । दुवैजना आफूहरू एक असल मित्र भएको दाबी गर्छन् । साथै, यी दुई प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिन्छन् । शिव भन्छन्, ‘राम्रो काम गर्न प्रतिस्पर्धाको आवश्यकता हुन्छ।’
त्यसबेला भुवन र शिव दुवैमा युवा जोस र जाँगर थियो । केही गर्नुपर्छ भन्ठान्थे । राम्रो फिल्म बनाउने र दर्शकको मन जित्ने कुरामा भने एकले अर्कोलाई उछिन्ने दुवैबीच प्रतिस्पर्धा हुने गरेको दुवैसँग काम गरेका निर्माता निर्देशकहरू बताउँछन् । स्वार्थका लागि दुवैले कहिल्यै प्रतिस्पर्धा गरेनन् । सायद हामीले राम्रो काम गर्न प्रतिस्पर्धा नगरेको भए आज यो सफलता हात नलाग्ने भुवनको अनुभव छ । त्यही राम्रो काम गर्ने प्रतिस्पर्धाले नै आफूहरूको सम्बन्ध तिखारिएको उनीहरू स्विकार्छन् ।
करोडपतिले चलचित्रको साख जोगायो : विदेशी फिल्मको बोलवाला बढेको र नेपाली चलचित्र उद्योग खस्कँदै गइरहेका वेला भुवन केसीले ‘करोडपति’ चलचित्र निर्माण गरेका थिए । अन्य ब्यानरका चलचित्र खेल्दाखेल्दै आफ्नो ब्यानरमा नयाँ चलचित्र निर्माण गर्नुलाई धेरैले उनलाई ‘जुवा’ खेलेको आरोप लगाएका थिए । एकपछि अर्को नेपाली चलचित्र नचलिरहेको अवस्थामा भुवनले निर्माण र अभिनय गरेको ‘करोडपति’ चलचित्र चल्यो ।
शिव भन्छन्, ‘भुवनले त्यो परिस्थितिमा फिल्म बनाउनु चानचुने कुरा थिएन, तर उसले त्यो बनाएरै छाड्यो, त्यसैले उसलाई सम्मान गर्र्नुपर्छ ।’ करोडपति फिल्म चलेपछि फेरि नेपाली चलचित्रहरू चल्न थाले भने निर्माणको बाढी नै लाग्यो । त्यसैले करोडपति चलचित्रले भुवनलाई ‘करोडपति’ मात्र होइन, ‘भुवन’ बनाएको चलचित्रकर्मीहरू बताउँछन् । ‘नेपाली चलचित्र उद्योगको भविष्य जोगाउने भुवन नै हुन्,’ शिव भन्छन् ।
सँगसँगै फिल्ममा : चार दशक लामो फिल्मी करिअरमा भुवन र शिवले सँगै थुप्रै चलचित्र खेलेका छन् । चिनो, सपना, संकल्प, पछ्यौरी, राजु राजा रामलगायतका चलचित्रमा दुवै एकैसाथ देखिएका छन् । दुवैले अभिनय गरेको पहिलो चलचित्र ‘चिनो’ हो । तुलसी घिमिरेले निर्देशन गरेको सो चलचित्रले नेपाली चलचित्र उद्योगमा मानक स्थापना गरेको छ । विष्णुगोपाल श्रेष्ठले निर्माण गरेको ‘चिनो’ चलचित्रबाट शिव, भुवनका साथै सुनील थापा, कृष्टि मैनाली, शर्मिला मल्ललगायतका कलाकारहरूले निकै चर्चा पाए । चिनो चलचित्रमा अभिनय गर्न शिवले नै भुवनलाई आग्रह गरेका थिए, जसलाई भुवनले सहर्ष स्विकारे ।
चिनो चलचित्र निर्माण भएको केही वर्षपछि भुवनका बाबु मदनमोहन केसीले ‘सपना’ चलचित्र निर्माण गरे । सपना चलचित्रमा अभिनय गर्न भुवन आफैँ शिव श्रेष्ठकहाँ पुगेका थिए । घरमै आएर ‘शिव तैँले सपना फिल्ममा खेल्नुपर्छ’ भनेपछि आफूले अभिनय गरेको शिव बताउँछन् । जसले गर्दा सपना फिल्म निकै नै राम्रो बन्यो । दुवैले एकअर्काको साथ पाएकाले सफलता हात परेको उनीहरू बताउँछन् ।
पाकिस्तानमा पनि सँगै : शिव र भुवनले पाकिस्तानी फिल्ममा पनि अभिनय गरेका छन् । शिवले लगभग २५ वटा पाकिस्तानी फिल्ममा अभिनय गरेका छन् । जहाँ भुवनले लभस्टोरी र शिवले एक्सनप्रधान चलचित्रमा अभिनय गरेका थिए । पाकिस्तानमा लभस्टोरीभन्दा एक्सनप्रधान बढी रुचाइने हुनाले भुवनले ५÷६ फिल्ममा मात्र अभिनय गरेर नेपाल फर्किए । आफ्नो फिल्मी करिअरमा शिवले पाकिस्तानी फिल्मबाट पाँचवटा अवार्ड जितेका थिए । शिव भन्छन्, ‘भुवनलाई लभस्टोरीमा अभिनय गर्न कसैले सक्दैन ।’ भुवन पनि शिवले पाकिस्तान जस्तो देशमा गएर नेपाली कलाकारको पहिचान देखाउनु चानचुने कुरा नभएको बताउँछन् ।
भुवनको चिया चुरोटको बिल आउने, शिवको फलफूल जुसको
यी दुई नायकको रोजाइमा भिन्नता छ । यी दुईजना सँगै कुनै होटलमा गए भने भुवनलाई चिया चुरोट नभई हुँदैन भने शिव फलफूल र जुस लिन्छन् । शिव भन्छन्, ‘म चुरोट पनि लिन्नँ र ड्रिंक्स पनि गर्दिनँ, तर मलाई कफी अथवा फलफूल जुस भने अवश्य चाहिन्छ ।’ तर, भुवनलाई चियासँग चुरोट नभई हुँदैन । तैपनि अहिलेसम्म भुवनले शिवलाई चुरोट खानका लागि कहिल्यै कर गरेनन् । शिवलाई चुरोट मन पर्दैन, त्यसैले कहिलेकाहीँ ‘चुरोट नखाने मान्छे पनि हिरो हुन्छ त यार’ भनेर जिस्क्याउने गर्छु भन्छन् भुवन । वास्तवमै यी दुईको सम्बन्ध लोभलाग्दो छ ।
सुमधुर पारिवारिक सम्बन्ध : भुवन र शिव आफूहरूको सुमधुर पारिवारिक सम्बन्ध रहेको बताउँछन् । शिवलाई भुवनका बुबाआमाले आफ्नै छोराजस्तो ठान्छन् । त्यसैले पनि शिव र भुवनको आउजाउ बाक्लै हुन्छ । शिवको बुबाआमा बितिसकेका हुनाले उनी आफ्नो बुबाआमाको झल्को मेट्न भुवनका बुबाआमालाई भेट्न जाने गरेको शिव बताउँछन् । उनलाई महिनामा एक दिन भुवनको घरमा नगई चित्तै बुझ्दैन रे ! शिव हाल भैँसेपाटीमा बस्दै आएका छन् । दुवैजना भन्छन्, ‘हाम्रो आउने–जाने क्रम चलिरहन्छ ।’
दुवैबीच फोनमा पनि सम्पर्क भइरहन्छ । भुवन भन्छन्, ‘हाम्रो फोन सम्पर्क पनि निरन्तर भइरहन्छ ।’ एक–दुई दिन बिराएर हामीहरू सम्पर्कमा रहन्छौँ । शिव साईबाबामा आस्था राख्ने मान्छे भएकाले उनीसँग बोल्दा पहिले नै ‘साईराम शिव’ भनेर बोलाउने गरेको भुवन बताउँछन् । ‘कामविशेष भयो भने सम्पर्क भइहाल्छ, कामै परेन भने पनि के छ ? कस्तो छ ? भनेर फोनमा सम्पर्क भइरहन्छ,’ भुवनले भने ।
लभस्टोरीमा भुवन, एक्सनमा शिव जम्ने
नेपाली चलचित्र उद्योगमा भुवन केसीलाई चकलेटी नायकको रूपमा लिइन्छ । विशेषगरी भुवनले अभिनय गरेका प्रेमकथा र सामाजिक कथावस्तुका चलचित्र हिट भएका छन् । सम्झना, साइनो, कुसुमे रुमाल, करोडपति, नेपालीबाबु, बाबुसाहेब, सुपरस्टार, म तिमीविना मरिहाल्छु निलगायत भुवनले खेलेका दर्जनौँ चलचित्र हिट भएका छन् ।
शिव श्रेष्ठ भने एक्सनप्रधान र कमेडी चलचित्रमा फिट हुने गरेका छन् । चिनो, ठुल्दाइ, मामाघर, धर्मसंकटलगायतका चलचित्र चल्नुमा शिवको एक्सनलाई मुख्य कारण मानिन्छ । नेपाली चलचित्रका निर्माता निर्देशकहरू पनि भुवनलाई लभस्टोरी र शिवलाई एक्सनप्रधान चलचित्रमा खेलाउन रुचि देखाउँथे । जुन कुरालाई शिव र भुवन दुवै स्वीकार गर्छन् ।
भुवन सुतिरहन्थे, शिव एक्सरसाइज गर्थे : शिव श्रेष्ठको जीउडाल लोभलाग्दो छ । उनी पहिला दिनहुँजसो क्लब जान्थे । तर, पछिल्लो समय उनी घरमै एक्सरसाइज गर्छन् । उनी बिहान ४ बजे नै उठिसकेका हुन्छन् । तर, भुवन भने एक्सरसाइज र योगा गर्न अल्छी गर्छन् । शिव फिलिपिन्समा भुवनसँग दुई महिना सँगै रहँदाका दिन सम्झन्छन् । शिवले भुवनलाई जिम गर् अलि फिटनेसमा ध्यान दे न भन्दा भुवनले शिवलाई ‘तैँले जिम गरेको र मैले नगरेको हेर् न, मै फिट छु नि’ भनेर मजाकमा उडाउँथे । भुवन भन्छन्, ‘शिव मेरो स्वास्थ्यका बारेमा धेरै चिन्ता गर्छ, उसले मलाई जिम जा, एक्सरसाइज गर् भन्छ, तर म आफैँलाई जाँगर चल्दैन ।’
३६ वर्षसम्म नराम्रो कहिल्यै भएन : भुवन र शिवको सम्बन्ध साँच्चै अनौठो खालको छ । लामो समय एउटै क्षेत्रमा रहेर काम गर्दा पनि अहिलेसम्म आफूहरूबीच नराम्रो नभएको उनीहरू दाबी गर्छन् । काम गर्ने वेलामा पनि रमाइलो गर्दै काम गर्छन् रे दुवैजना । उनीहरू भन्छन्, ‘हामीले कहिल्यै पनि एकअर्कालाई ‘हर्ट’ हुने काम गरेनौँ, सायद त्यस्तो अवस्था आएको भए अहिलेसम्म हाम्रो सम्बन्धमा केही खोट फेला पथ्र्यो होला ।’
फिल्म बनाउने तयारीमा शिव : २०४६ सालमा बनेको ‘चिनो’ चलचित्रमा शिवको पनि लगानी थियो । जसमा भुवनले पनि अभिनय गरेका थिए । त्यसयता शिव आफैँले भने फिल्म बनाएका छैनन् । यसो भनिरहँदा उनले फिल्ममा अभिनय नै गर्न छाडेको भने होइन । पछिल्लो समय शिवले ‘बागमती’ चलचित्रमा अभिनय गरेका थिए । जसमा राजेश हमाल पनि थिए । अब छिट्टै चलचित्र बनाउने सोचमा आफू रहेको शिव बताउँछन् । यत्रो खुबी भएको मान्छेले अहिलेसम्म किन फिल्म नबनाएको होला भनेर शिवप्रति भुवन गुनासो गर्छन् । शिवले केही समयअघि ‘धून’ चलचित्र निर्माणको घोषणा गरेका थिए । जसमा शिवले आफ्नी छोरी सोना श्रेष्ठलाई नायिका बनाउने घोषणासमेत गरेका थिए । तर, पछि त्यो चलचित्र बनेन । ‘धून’ अर्कै निर्माताले बनाएर पनि रिलिज भइसकेको छ ।
भुवन र शिव भएपछि रमाइलो
भुवन र शिव एकसाथ भएको ठाउँ निकै रमाइलो हुन्छ रे ! उनीहरू भेट भएपछि रमाइला कुरा गर्छन् र जिस्किन थाल्छन् । शिव भन्छन्, ‘भुवन एकदमै रमाइलो मान्छे हो । ऊसँग रहँदा त समय नै नगइदिए हुन्थ्यो जस्तो लाग्छ ।’ सुटिङ स्पटमा जाँदा पनि उनीहरू दुईजना निकै रमाइलो गर्थे र अरूलाई पनि हँसाउने सँगै काम गरेका कलाकारहरूको भनाइ छ ।
एक–अर्काबारे शिव–भुवन
भुवन चलचित्रजगत्को अभिभावक हो : शिव : भुवन एक कुशल नायक हो । नेपाली चलचित्रमा उसको ठूलो योगदान छ । उसले चलचित्र उद्योग खस्केको अवस्थामा पनि करोडपति चलचित्र बनाएर साख बचाएको थियो । त्यसैले उसलाई मैले चलचित्रजगत्को अभिभावकको रूपमा लिने गरेको छु । साथै, भुवन राम्रो फिल्म बनाउने मान्छे हो । उसले बनाएका चलचित्र सबै हिट छन् । ऊ लभस्टोरी फिल्मका लागि माहिर छ । हामीमा राम्रो काम गर्ने कुरामा प्रतिस्पर्धा भए पनि कुनै स्वार्थ लिने हिसाबले कहिल्यै प्रतिस्पर्धाको भावना उब्जेन । त्यसैले यो सम्बन्ध यसरी नै कायम रहोस् ।
शिव मिहिनेती नायक हो : भुवन : शिव एकदमै राम्रो नायक हो । उसले अभिनय गरेका चलचित्र प्रायः हिट नै हुन्छन्, जुन उसको खुबी हो । एक्सन फिल्मका लागि शिव जतिको मान्छे पाउन धेरै गाह्रो छ । ऊ मेरो सुख–दुःखमा साथ दिने असल साथी हो । उसमा केही गरौँ भन्ने भावना छ । ऊसँग मैले थुप्रै काम गर्ने अवसर पाएँ, त्यो मेरो सौभाग्यको कुरा हो । मैले शिवसँग गरेका काममा धेरैमा सफलता प्राप्त गरेको छु । त्यसैले ऊ मिहिनेती कलाकार हो । हाम्रो भेट भएको लगभग ३६ वर्ष भइसक्यो, यो अवधिमा अहिलेसम्म हाम्रो नराम्रो भन्ने भएकै छैन । यो सम्बन्ध सधैँ यसरी नै अघि बढोस् भन्नेमा भगवान्सँग कामना गर्दछु । हामी बीचमा प्रतिस्पर्धा छ भन्ने भान आमदर्शकमा परेको छ भन्ने सुन्छु । तर, हाम्रो कहिल्यै प्रतिस्पर्धा भएन । यदि प्रतिस्पर्धा गरेको भए आजसम्म हाम्रो सम्बन्ध यति राम्रो हुँदैनथ्योे होला । त्यसैले हामी प्रतिस्पर्धी नभएर हामीमा परिपूरक सम्बन्ध रहेको छ ।
भुवन सक्रिय, शिव अलि सुस्ताए : ‘शिव र भुवनको सम्बन्ध असाध्यै राम्रो छ । एकताका उनीहरूलाई प्रतिस्पर्धीको रूपमा लिए पनि दुवैको सम्बन्ध हेर्दा त्यस्तो देखिँदैन । मैले उनीहरूसँग लामो समय सँगै काम गरेको छु ।भुवनको र मेरो नङ–मासुजस्तै सम्बन्ध छ । भुवन र म काठमाडौंमै हुर्केको हुनाले सानैदेखिको चिनजान हो । भुवनले मेरो पहिलो म्युजिक भिडियोमा अभिनय गरेको छ । शिव र भुवनले फरक–फरक फिल्मबाट करिअर सुरु गरेपनि उनीहरू एकैसाथ स्थापित भएका हुन् । उमेरले शिव मभन्दा जेठा भएपनि भुवन र म एउटै उमेरका हौँ । मैले देखेका यी दुई नायकमा शिव एक्सन फिल्ममा अभिनय गर्न खुबी भएको नायक हो भने भुवन लभस्टोरीमा राम्रो क्रेज भएको नायक हुो । त्यसैले भुवनलाई सदाबहार नायक भनिएको हो । जसले गर्दा शिवलाई एक्सन किङ र भुवनलाई रोमान्टिक किङ भन्दा कुनै अत्युक्ति नहोला ।’
‘शिव र भुवनलाई मानिसहरूले प्रतिस्पर्धी भनेपनि मैले उनीहरूमा रिसरागको भावना रहेको कहिल्यै देखिनँ । भुवन पछिल्लो समय निकै सक्रिय छन् । शिवले पनि जतिवटा चलचित्रमा अभिनय गरे, त्यसमा उनी सफल भए । तर, पछिल्लो समय शिव अलि सुस्ताएको जस्तो देखिन्छ । शिवले पाकिस्तानमा आफ्नो छुट्टै क्रेज बनाएका छन् भने भुवनले पनि आफूलाई बंगाली र पाकिस्तानी फिल्ममा आफ्नै क्रेज छोडेका छन् ।कुनै स्टेजमा रहँदा पनि उनीहरूमा भाइचाराको सम्बन्ध छर्लंग देख्न सकिन्छ । भुवन र शिवको पारिवारिक सम्बन्ध पनि त्यत्तिकै राम्रो छ । पछिल्लो समय भुवन, शिव र म अमेरिका गएका थियौँ । त्यहाँ उनीहरूको मित्रवत् व्यवहार देख्दा साँच्चै मित्रता होस् त यस्तो भन्ने लागेको थियो ।’ – शम्भुजित बासकोटा, संगीतकार
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा