सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १ चैत । प्रमुख प्रतिपक्षी दल एमालेले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू तराईको विनाशमा उद्यत रहेको भन्दै गम्भीर बन्न तराई–मधेसका जनतालाई अपिल गरेको छ । मधेसी मोर्चाको आन्दोलनका कारण मधेसका सहरहरू सुक्न थालेको तथ्य राख्दै बचाउन तराई–मधेसका जनतालाई एमालेले अपिल गरेको हो । राजधानी दैनिकमा खबर छ ।
‘मधेसी मोर्चाको आन्दोलनका कारण मधेसका सहरहरू सुक्न थालेका छन् । वीरगन्ज, राजविराज, जनकपुर, सिरहाजस्ता तराईका प्रमुख सहरहरू सबै सुक्न थालेका छन् । व्यापार व्यवसाय बिग्रिएको छ, मानिसहरू मधेसबाट बाहिरिन थालेका छन्,’ मेची–महाकाली अभियानका क्रममा सोमबार दाङको लमहीमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने ।
उनले मधेसी मोर्चाले तराई–मधेसमा शताब्दीदेखि बसोबास गर्दै आएका नेपाली नागरिकलाई विस्थापित गरी अंगीकृतको शासन चलाउन खोजेको आरोपसमेत लगाए । ‘मधेसी मोर्चाका नेताहरूले मधेसको होइन, विदेशको हितमा काम गरिरहेका छन् । पहाड र मधेसलाई अलग्याउनुपर्छ भन्ने माग नेपालको हितमा छैन, मधेस सदियौंदेखि रहेका धर्तीपुत्रको हितमा छैन,’ नेपालले भने । उनले विदेशीलाई नागरिकता दिएर मधेसको हित हुनै नसक्ने तर्क गरे । ‘विदेशीलाई नागरिकता खुला गरेर कसरी मधेसीको हित गर्छ ? मधेसी जनता विदेशी होइनन्, यही माटोमा जन्मिएका हुन् । उनीहरूलाई बदनाम गराउनका लागि मोर्चाका नाममा विदेशीको पक्षपोषण गरिएको छ,’ नेपालको भनाइ थियो । उनले राष्ट्रिय अभियान आयोजना गरेर एमालेले राष्ट्रलाई एकताको सूत्रमा बाँध्न चाहेको बताए ।
नेपालले सप्तरी, कपिलवस्तुलगायतका क्षेत्रमा मोर्चाले गरेको अवरोधप्रति कडा आपत्ति जनाए । ‘कुनै ठाउँमा कुनै दललाई आउन दिन्न भन्छ भने त्यो निहुँ खोजेको मात्र हुन्छ । जसरी दाङ आउनबाट हामीलाई कसैले रोक्न सक्दैन, त्यसैगरी मुुलुकका अरू भूभागमा जानबाट पनि कसैले रोक्न सक्दैन । अहिलेका ७ सय ४४ वटै स्थानीय तहमा एमाले छ, जताजतै छ । संविधानले नै राजनीति दलहरूलाई सभा आयोजना गर्ने, जुलुस गर्ने अधिकार दिएको छ । तर, आफूलाई यही देशका नेता ठान्नेहरूले हामीलाई सप्तरी जानबाट रोके । यसबाट उनीहरूको नियत स्पष्ट भएको छ । आफूलाई प्रजातन्त्रको ठेकेदार ठान्नेहरूले नै यस्तो गरेको देख्दा अचम्म लागेको छ,’ उनले भने । नेपालले सप्तरीमा एमाले नेताहरूलाई एउटै चिहान बनाउने षड्यन्त्र गरिएको तथ्यले पुष्टि भइसकेको दाबी पनि गरे । मधेसमा आफ्नो जमिनदारी तोडिने त्रासले मोर्चाका नेताहरूले संविधानको विरुद्धमा भ्रम फैलाएको भन्दै मधेसका वास्तविक धर्तीपुत्रको पक्षमा एमाले दृढताका साथ लाग्ने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा