सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भैरहवाः एमाले अध्यक्ष केपी शर्मा ओलीले बोर्डरमा पर्यटकलाई स्वागत गर्न चकलेट दिएजसरी जोसुकैलाई नागरिकता बाँड्न नसकिने बताएका छन् । भैरहवामा आइतबार आयोजित मेची-महाकाली जागरणसभामा ओलीले सिमानामा बसेर पर्यटक वा जोसुकैलाई नागरिकता दिन नमिल्ने बताएका हुन् ।‘नागरिकता चकलेट होइन, बोर्डर (सीमानाका) मा बसेर पर्यटक वा जोसुकैलाई चकलेट बाँडेझैँ गरी बाँड्न पाइँदैन’, उनले भने, ‘संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुन र सफल हुन दिँदैनौं । प्रचण्ड नेतृत्वको सरकारले सुरुमै बुद्धभूमि ५ नम्बर प्रदेशलाई टोक्ने काम गरेको छ । हामी यस प्रदेशबाट मधेस र पहाड अलग गर्न दिँदैनौं । विदेशी दलाल रिझाउन स्वाभिमानी जनतालाई लडाउने र टुक्याउने अधिकार कसैको छैन ।’
आफूहरू राष्ट्रिय एकताको पक्षमा अडिग रहेको बताउँदै उनले चन्द्र र सूर्य रहेसम्म मुलुकको झन्डा फेर्न र शिर निहुरिन नदिने दाबी गरे । ‘एमालेले देशभक्ति, राष्ट्रियता, स्वाभिमान, विकासप्रेमी अभियान लिएर मेची-महाकाली जागरण अभियानमा हिँड्दा मधेसी र अन्य दल किन थर्कमान हुनुपरेको छ ? ‘ उनले प्रश्न गरे ।प्रचण्ड प्रधानमन्त्री भएपछि दिनदिनै सडक दुर्घटना भएको भन्दै उनले अलच्छिनको संज्ञा दिए । सप्तरी घटना गराउनमा सरकार नै दोषी रहेको र उसको कार्यशैलीले आशंका पैदा गरेको उनले बताए । नयाँ शक्ति नेपाललाई बुद्धि बिग्रिएकाको समूहको संज्ञा दिँदै उनले भने, ‘त्यो बुद्धि बिग्रिएका भ्रष्ट बुद्धिजीवीको संगठन हो ।’
सभामा उपाध्यक्ष वामदेव गौतमले मधेसी मोर्चा, कांग्रेस र माओवादीलाई लक्ष्य गरी उत्तेजक भाषण गरेका थिए । गौतमले प्रधानमन्त्रीको काम हेर्ने हो भने उनलाई सात जुनीसम्म जेल हाल्नुपर्ने बताए । एमालेलाई मधेसमा छिर्न नदिने मोर्चाको चेतावनीप्रति आक्रोश पोख्दै पूर्वउपप्रधानमन्त्री गौतमले भने, ‘के यो तराई मधेस महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवका आमाले पेट बोकेर जन्माएको थलो हो ? ‘ मधेसी मोर्चाका नेताले मधेसमा एमालेलाई प्रवेश गर्न निषेध गरेकोप्रति दुःख व्यक्त गर्दै उनले भने मधेसी मोर्चा नेपाली हुन् कि भारतीय भन्ने टुंगो लगाउनुपर्यो ? ‘
‘अहिलेसम्मकै ठूलो सभा’
एमालेले जारी मेची-महाकाली अभियानअन्तर्गत आइतबार भैरहवामा आयोजित सभा अहिलेसम्मकै ठूलो भएको जनाएको छ । मधेसी मोर्चाको बन्दका बाबजुद हालसम्मकै धेरै सहभागिता भएको एमालेले दाबी गरेको हो । भैरहवाको अञ्चलापुरमा भएको सभामा पचासौं हजार सर्वसाधारण सहभागी थिए । आइतबार साँझ बुटवलमा पत्रकार सम्मेलन गरी एमालेले पहिलो चरणको अभियानपछि प्रदेश नम्बर २ मा दोस्रो चरणको अभियान सुरु गर्ने बताएको छ । ‘अहिलेसम्मकै धेरै सहभागिता भैरहवामा जुटेको छ,’ एमाले सचिव योगेश भट्टराईले भने, ‘यसले उत्साह बढाउँदै लगेको छ ।’
रुट फेरेर भैरहवा
नवलपरासीको भूमहीमा आइतबार सभा सकिएसँगै सुरक्षा निकायले एमाले नेतालाई निर्धारित रुट परिवर्तन गरेर भैरहवा पठाएको थियो । संयुक्त मधेसी मोर्चाले विरोधका कार्यक्रम राखेपछि सुरक्षा निकायले नवलपरासीको भूमहीबाट परासी हुँदै भैरहवा जाने तयारीमा रहेका एमाले शीर्ष नेतालाई रुट परिवर्तन गरेर पठाएको हो ।एमाले जिल्ला कमिटीले भैरहवा जाने क्रममा नवलपरासीको हकुईमा कार्यकर्ता भेटघाट र चियापानसमेत गरेको थियो । मोर्चाले बिथोल्न सक्ने सम्भावना देखिएकाले बुटवल हुँदै भैरहवा जाने व्यवस्था मिलाइएको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए । शनिबार दिउँसो कावासोतीको आमसभालाई सम्बोधन गरेपछि अध्यक्ष ओली भने बैठकमा सहभागी हुन काठमाडौं गएका थिए । एमालेको राष्ट्रिय अभियानलाई बिथोल्न मधेसी मोर्चाले आइतबार सदरमुकाम परासी बन्द आह्वान गरेको थियो । एमालेले परासी हुँदै भैरहवा जाने कार्यक्रम तय गरेपछि मोर्चाले सदरमुकाम बन्द आह्वान गरेको हो ।
‘पाँच नम्बर प्रदेशबाट मधेस र पहाड अलग गर्न दिँदैनौं । विदेशी दलाल रिझाउन स्वाभिमानी जनतालाई लडाउने र टुक्याउने अधिकार कसैको छैन ।’ – केपी ओली, अध्यक्ष, एमालेभूमहीमा आयोजित सभालाई एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै खनालले आफूहरूलाई भारतीय हस्तक्षेप स्वीकार्य नभएको बताए । चीन र भारत दुवै छिमेकी राष्ट्र भएकाले उनीहरूका गतिविधि नेपालविरुद्ध हुन नहुने उनको भनाइ थियो । विदेशी हैकमका कारण देशको सीमा रक्षार्थ उभिएका नेपालीको हत्या भएको भन्दै राष्ट्रियताका लागि लाखौं नेपाली आहूति दिन तयार रहेको उनको दाबी थियो । मधेसका नाउँमा जातजाति लडाएर चुनाव बिथोल्न खोजेको मधेसी मोर्चाले सप्तरीमा एमालेका नेतालाई एकै चिहान बनाउन खोजेको प्रयासलाई सुरक्षाकर्मीले परास्त गरेको भन्दै प्रशंसा गरे । सभामा नेता माधवकुमार नेपाल, वामदेव गौतम, प्रदीप ज्ञवाली, ईश्वर पोखरेललगायतले सम्बोधन गरेका थिए ।
मोर्चा कार्यकर्ता पक्राउ
एमाले सभालाई विफल पार्न आइतबार गाडी तोडफोड गरेको अभियोगमा मोर्चाका चार कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ । मोर्चा कार्यकर्ताले भैरहवा-लुम्बिनी सडकखण्डको रमवापुरमा एक स्कुटीमा आगजनी र अर्को एक पल्सर मोटरसाइकल तोडफोड गरी क्षति पुर्याएका छन् । सिद्धार्थ नगरपालिका- ७ का सरोज पुनको लु.१५प ७५५८ नम्बरको स्कुटी जलेर क्षति भएको छ । प्रहरीले संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बसिद्दिन खान, सद्भावना पार्टीका नेता जमाल अहमद, राजकुमार यादव र फोरमका नजामुद्दिन मुसलमानलाई पक्राउ गरेको सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव गुल्झारीले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा