सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उमा केसी/रोल्पा, असार १ । सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दो छ । चापलाई धान्ने गरी न स्वास्थ्यकर्मी छन्, न त स्रोतसाधन । जिल्ला अस्पताल रोल्पामा अपर्याप्त जनशक्तिसँगै सरकारद्वारा प्रदान गरिने बजेट पनि अपुग छ ।
सीमित जनशक्तिले चाहेर पनि सबैलाई स्तरीय सेवा दिन सम्भव नभएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ । ‘घरबाट बिहान ६ बजेको मिर्मिरे उज्यालोमै हिँडेर ९ बजे बजारक्षेत्रमा आइपुगे ।
त्यसपछि करीब १८ मिनेट अटोरिक्सामा चढी अस्पताल पुगियो । नाम लेख्नेको लाइन लामो थियो । नाम लेख्ने मान्छे पनि नभएकाले अस्पतालकै गाडी चालकले नाम लेख्दै थिए ।
धेरै समय लाइनमा बसेँ, अनि बल्लतल्ल नाम लेखाएँ’, एक महिना पहिले खुट्टा भाँच्चिएकी एक महिलाको पीडा हो यो । ‘अस्पताल आएको करीब आठ घण्टापछि मात्र कार्यालय सहयोगीले प्लास्टर खोलिदिए’, रोल्पा नगरपालिका-१० धबाङ भुमकी मनकुमारी वलीले भनिन् । ।
नुहाउने क्रममा दुवै कानमा पानी पसेर सुन्न नसक्ने भएपछि रोल्पा नगरपालिका–५ घापाकी रामपुरा पुन जिल्ला अस्पताल रेउघामा आइन् । कानको ड्रेसिङ गर्नका लागि उनी बिहान ११ बजेदेखि लाइनमा बसिन् । कानको ड्रेसिङ गर्ने चिकित्सकको अभावमा दिउँसो ३ बजे मात्र ड्रेसिङ गरिदिएको उनले बताईन् ।
पछिल्लो समयमा जिल्ला अस्पताल रोल्पामा बिरामीको चाप अत्यधिक बढेको छ । तर दरबन्दीअनुसार चिकित्सक, स्वास्थ्यकर्मी नआएका कारण बिरामी मर्कामा परेका छन् ।
‘अस्पतालमा जनशक्ति अभाव छ, बिरामीले रोगको उपचार पाउन सकेका छैनन्,’ अस्पतालका निमित्त प्रमुख डा.धनमाया घर्तीले भनिन्, ‘रोल्पाको जिल्ला अस्पतालमा लामो समयदेखि यो स्थायी समस्याजस्तै भएको छ ।’ दरबन्दीका चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण नहुँदा बिरामीलाई अन्यन्त्र जान सिफारिस गर्न बाध्य रहेको घर्तीले बताइन् ।
दैनिक १०० भन्दा बढी बिरामी सेवा लिन आउने यो अस्पतालमा आवश्यक चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मार्कामा पर्ने गरेको डा.घर्तीले बताइन् । जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविरको आयोजना हुँदा होस् वा स्थानीय सरकारले आयोजना गरेको शिविर नै किन नहोस्, त्यसका लागि यो अस्पतालबाट चिकित्सक पठाउनुपर्ने हुन्छ । कहिलेकाहीँ अस्पतालमा एक मात्र चिकित्सकले सेवा दिनुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनको भनाइ छ ।
योसँगै अस्पतालमा कार्यरत चिकित्सक अध्ययन तथा घरबिदामा बस्दा बिरामीको नाम दर्ता, रसिद काट्ने, नाम वाचन, औषधि वितरणसमेत चिकित्सक आफैँले गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल रोल्पाका मेडिकल अधिकृत डा।प्रकाशबहादुर बुढाले बताए ।
हिजोआज झाडापखला, भाइरल ज्वरो, रुघाखोकीका बिरामीको चाप अत्यधिक रहेकाले पनि चिकित्सकको अभावमा अन्य बिरामीको उपचार प्रभावित हुने गरेको चिकित्सकको भनाइ छ ।
अस्पताल आफैं बिरामी
जिल्लाको १५ शय्याको जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सक, स्वास्थ्यकर्मी नआएका कारण बिरामी मर्कामा परेका छन् । लामो समयदेखि अस्पतालको व्यावस्थापन सुधार नभएपछि सेवाग्रही बिरामी अन्यत्र जाने गरेका छन् ।
अस्पतालमा गर्भवती जाँच र गम्भीर किसिमको सुत्केरीलाई आकस्मिक रूपमा शल्यक्रिया गर्नुपर्दा प्रयोगशाला र ल्याब असिस्टेन्ट कर्मचारी छैन । दरबन्दीअनुसारको चिकित्सक र प्राविधिक नहुनुले यो समस्या बल्झेको उनले बताए ।
अस्पतालका मेडिकल अधिकृत डा।प्रकाशबहादुर बुढाका अनुसार दुई मेडिकल अधिकृत, चार नर्स, तीन अहेव, दुई अनमी, चार स्टाफनर्स र दुई ल्याव टेक्नीसियनको दरबन्दी छ । अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी करारमा छन् ।
‘करारमा आउनेलाई टिक्न पनि समस्या छ,’ उनले भने, ‘आकस्मिक सेवा नपाएपछि सेवाग्रहीले चित्सिकलाई दुव्र्यवहार पनि गर्ने गर्छन् ।’ त्यस्तो अवस्थामा चिकित्सकलाई टिक्न समस्या हुन्छ । गर्भवती जाँच, सुत्केरी र शल्यक्रिया सेवा भए पनि उपकरण र जनशक्ति अभावले प्रभावकारी हुन सकेको छैन् ।
करार दरबन्दीमा रहेका चिकित्सक पनि शिविर, घर बिदा, अध्ययन बिदा, तालीम, प्रशिक्षणमा हिँड्दा अस्पतालमा बस्ने चिकित्सकले धेरै बिरामी हेर्नुपर्ने बाध्यता रहेको चिकित्सकहरुको गुनासो छ ।
चिकित्सक अभावकै कारण ल्यावको रिपोर्ट दिउँसो ३ बजे पछाडि मात्र निकाल्नुपर्ने बाध्यता छ, जसले गर्दा बिरामी लामो समय कुर्नुपर्ने हुन्छ । हाल १५ श्ययाको जिल्ला अस्पतालमा बिरामीको चापअनुसार दरबन्दी सिर्जना नहुँदा बिरामीले कुर्नुपर्ने बाध्यता र चिकित्सकले हतारहतारमा सबै काम गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा