सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, भदौ १। सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पुर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले आगामी भदौ २४ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । थापालाई यसअघि नै सरकारले कामु सेनापतिको जिम्मेवारी दिइसकेको थियो । हालका प्रधानसेनापति राजेन्द्र क्षत्रीले विहिवार थापालाई सेनाको कमाण्ड हस्तान्तरण गरेर बिदामा बसिसकेका छन् । सेनामा अवकास हुनुभन्दा एक महिना अघि प्रधानसेनापति बिदामा वस्नेत प्रचलन छ । नेपाली सेनामा यससंगै नेपालबाट स्टाफ कलेज गर्ने थापा पहिलो प्रधानसेनापति समेत बनेका छन् ।
सेनाका २ रथीमध्ये थापा सिनियर हुन्। उनलाई प्रधानसेनापति क्षत्रीले नै भावी प्रधानसेनापतिका रुपमा अघि बढाएका थिए। २ वर्षे शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा गएका उनलाई एक वर्षमै फिर्ता बोलाइएको थियो। रथी पुर्णचन्द्र थापा सेनाको तर्फबाट विदेशमा फोर्स कमाण्डरजस्तो पद पाउने थोरै अधिकृतमध्ये पर्छन् । यसअघि फोर्स कमाण्डरका रुपमा सेनावाट वालानन्द शर्मा,पवनजंग थापा,कृष्ण नारायण सिंह थापा र भिक्ट्री राणाले काम गरिसकेका छन् ।२०३७ सालमा सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरेका थापाले गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएर काम सुरु गरेका थिए ।
सेनामा मध्यमतहको कमाण्डरले गर्नुपर्ने स्टाफ कलेज नेपालबाटै गरेका उनले भारतको दिल्लीबाट २००९ मा नेशनल डिफेन्स कोर्स गरेका थिए । उनले मद्रास विश्वविद्यालयबाट नै फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीजमा स्नातकोत्तर गरेका छन् । रथी थापाले श्रीजंग गुल्मको गुल्मपति, श्रीजंग गणको गणपति, नं. २ वाहिनीको वाहिनीपति र उपत्यका पृतनाको पृतनापतिको रुपमा काम गरीसकेका छन् । यसवाहेक उनले सैनिक मुख्यालयमा जनरल स्टाफ अधिकृत,सैनिक शिक्षालय नगरकोटमा शिक्षक अधिकृत तथा डाईरेक्टिंग स्टाप, सेनाको महत्वपूर्ण नियुक्ती मानिने सैनिक सचिव र कल्याणकारी निर्देशक कार्यरथी तथा संभाररथी विभागको प्रमुख शान्ति सेना सञ्चालन निर्देशनालय, बलाध्यक्षको कार्यलय, बलाधिकृतको कार्यलयलगायतका नेपाली सेनाभित्रका सबैजसो महत्वपूर्ण र गहन जिम्मेवारी बोकेका कार्यलय तथा विभागहरुको नेतृत्व उनले कुशलतापूर्वक सम्हालेका थिए।
रथी थापाले संयुक्त राष्ट्र संघमा पटक पटक गरी लामो समय सेवा गरी यथेष्ठ अनुभव हासिल गरेका छन्।थापाले सन् १९८६ मा युनिफिल मिसन लेवनानमा नेपाली कन्टिन्जेन्टमा से.मु.पति, सन् १९८९ मा युनिफिल मिसन हे.क्वा.मा अपरेशन डिउटी अधिकृतको रुपमा काम गरेका थिए । त्यसैगरी, उनले सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवक्षेकको भूमिकामा अनप्रोफर (पूर्व युगोस्लाभिया हाल बोस्नीया, हर्जगोभिनिया र क्रोयशिया) मिशनमा सफल भूमिका निर्वाह गरेका थिए ।
संयुक्त राष्ट्र संघको उच्चतहको अनुभव बटुल्ने क्रममा थापाले सन् २००९ देखि २०११ सम्म नेपाल सरकार र नेपाली सेनाको प्रतिनिधित्व गरी युनाईटेड नेशन्स् मिशन ईन नेपाल (जेएमसिसी) अन्तर्रगत संयुक्त अनुगमन समन्वय समितिको उपप्रमुखको रुपमा पनि काम गरेका थिए ।
थापा सुप्रवल जनसेवाश्री तेश्रो, गोरखा दक्षिणबाहु तेश्रो र त्रिशक्ती पट्ट चौथो जस्ता महत्वपूर्ण मानपदवीहरुबाट विभुषित भइसकेका छन् ।त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विज्ञानमा स्नातक थापाले भारतको मद्रास विश्वविद्यालयका डिफेन्स एण्ड स्ट्राटेजिक स्टडीमा स्नातकोत्तर गरेका छन् । अहिले उनको परिवारमा बुबाआमाको साथै श्रीमती दिपा, छोरी रुरु र छोरा रौनक छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा