सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनवीर महतो /महोत्तरी, कार्तिक १ । महोत्तरी गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत् सात वर्षीया रुकसना खातुन आफ्नो आमासँग स्थानीय मरहा नदीमा बालुवा चाल्नमा व्यस्त रहेकी थिइन्।
घरबाट नजिकै विद्यालय रहेकाले रुकसना खातुन साथीसँग नियमितरूपमा विद्यालयमा पढनका लागि जाने गर्छिन्। विद्यालयबाट फर्किएपछि अन्य साथी खेल्नमा व्यस्त रहेको समयमा उनी नदीमा कलिलो हातमा बेल्चा समाउन बाध्य छिन्। नदीमा बालुवा चालेर जीवनयापन गर्ने उनको परिवारमा अन्य आम्दानीको स्रोत नभएपछि उनी आमाबाबुलाई सहयोग गर्नका लागि सकिनसकि बेल्चा उठाएर गाह्रो काम गर्न बाध्य छिन्।
रुकसना खातुनकी आमा साखिला खातुनका अनुसार बालुवा विक्री नै मुख्य आम्दानीको स्रोत भएकाले बालबालिकालाई काममा लगाउनु रहर नभई बाध्यता रहेको जवाफ दिइन्। गरिवको करले महँगो गाडीमा सवार हुने राजनीतिक नेतृत्वले चुनावका वेला गरेको वाचा पूरा गर्ने तर्फ लागेको देखिएन।
विद्यालयमा पढन गएका छोराछोरीलाई अहिले छात्रवृतिबाट समेत वन्चित गरेको साखिलाले दुःखेसो पोखिन्। जसोतसो बालुवा विक्री गरेर परिवार पाल्दै आएको उनको भनाई छ। त्यस्तै सोही नदीमा बालुवा चाल्नमा व्यस्त रहेकी १० वर्षीया सलमा खातुन भने नजिकै विद्यालय भएता पनि पढन जादैनन्। आफूसँग जन्मदर्ता नभएपछि विद्यालयमा पढन नगएकी सलमाले बताइन्। मामाघर बस्दै आएकी सलमाले दिनभर नै नदीमा बालुवा चाल्नमा व्यस्त रहेकी हुन्छिन्।
उनी मात्र होइन, उनको परिवारको आठ जना केटाकेटीमध्ये कोही पनि विद्यालयमा पढन जादैनन्। त्यसको प्रमुख कारण हो, उनीहरूसँग जन्मदर्ता नै छैन। जन्मदर्ता बनाउनका लागि गरिएको प्रयास असफल भएपछि आफ्ना आठ जना नातिनातिनी पढनबाट वञ्चित भएको ४७ वर्षीया जामिला खातुनले बताइन्। यहाँका स्थानीय तहमा आफूले नातिनातिनीका लागि जन्मदर्ता बनाउनका लागि गएको तर त्यहाँ आफूले गरेको प्रयास असफल भएपछि चाहेर पनि पढाउन नसकेको उनको भनाइ छ।
नगरपालिकाले दलितको नाममा करोडौँ खर्च गरिएता पनि गरिव समुदायका लागि बजेट नछुट्याएर अन्याय गरेको उनको गुनासो छ। मरहानदीमा असोज १ गतेदेखि नदीजन्य पदार्थ उत्खन्न गर्नका लागि स्थानीय सरकारले छुट दिएपछि अहिले धेरैजसो बालबालिका अभिभावकसँगै बालुवा चाल्नमा व्यस्त रहेको देखिन्छ।
अन्य स्थानमा मजदूरी गरिनुभन्दा यहाँ अलि बढी परिश्रम गरे पनि काम अनुसारको दाम पाउदै आएको गौशाला–५ का सुनिल महतोले बताए। प्रदेश नम्बर–२ सरकारले ‘वेटी पढाऔँ, वेटी बचाऔँ’ नारा अगाडि सारेका छन् तर महोत्तरी गौशाला नगरपालिका–५ स्थित मरहा नदीमा विद्यालय जाने उमेरका धेरै बालबालिका कडा मेहनत गर्न बाध्य छन्। आर्थिक अवस्था कमजोर हुनु, शिक्षाप्रतिको मानसिकतामा कमी, जन्मदर्ता नहुनुजस्ता कारणले यहाँका बालबालिका चर्को घाममा बिहानदेखि बेलुकीसम्म पसिना बगाएर जीवन निर्वाह गर्न बाध्य छन्।
नेपाल सरकारले तीन चरणमा गरी विद्यार्थी भर्ना अभियान चलाइएता पनि सो अभियान यहाँका इँटा भट्टा, नदी, दलित समुदाय, होटलजस्ता बालश्रम हुने स्थानमा पुगेको छैन। गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले नगरभित्रको शैक्षिकस्तर सुधार्न आफू प्रयासरत रहने बताएको छ। यस वर्षका लागि छुट्याइएको नगरस्तरीय बजेटमा समेत शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा