सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भीमदत्तनगर, असोज ९। सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन्। जोगबुढा नदीमा आज बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८ सुन्दरनगरका चार घरसहित आठवटा पसल डुबानमा परेका छन् । यहाँको कुतियाकवरमा समेत केही घर डुबानमा पर्दा स्थानीय ओत लाग्न सुरक्षित स्थानतर्फ सरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।
नदीमा आएको बाढी गाउँ पस्दा बस्ती जलमग्न भए पनि मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए । उनले जोगबुढा नदीले कटान थाल्दा महाकाली नगरपालिका–१० कुतियाकवर जाने झोलुङ्गे पुल खतरामा परेको जानकारी दिए । ‘नदीले कटानले गर्दा जोगबुढा नदीमा रहेको झोलुङ्गे पुल खतरामा छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘पुल जोगाउन स्थानीय र सुरक्षा निकाय लागिपरेका छन् ।’
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर पुल जोगाउन अस्थायी तटबन्ध निर्माणमा लागेका छन् । यसअघि पनि सुन्दरनगर, कुतियाकवर क्षेत्र बाढीका कारण डुबानमा परेका थिए । जोगबुढा नदीमा तटबन्धको उचित व्यवस्था नहुँदा लामो समयदेखि स्थगानीयवासी वर्षात्का बेला समस्या भोग्दै आएका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा