सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ६ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रदेशको अस्थायी मुकामको विषयलाई लिएर अहिले विवाद, बखेडा झिकेर आन्दोलन गर्नु उपयुक्त नहुने बताएका छन् ।
रिपोर्टस क्लबद्वारा शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने–‘अस्थायी राजधानी स्थायी रहँदैनन् । प्रदेशले योबारेमा आफैंले निर्णय गर्नेछ । यद्यपि, प्रदेशको राजधानी तोक्नेबारेमा सरकारले भने राम्रो ढंगले बुद्धि पुर्याएन ।’
‘प्रदेशप्रमुख वर्तमान सरकारले नै नियुक्त गर्ने हो । नियुक्ति गरिएको विषयलाई हामीले कुनै आश्चर्य र अनौठो ढंगबाट लिएका छैनौं । अब प्रदेशको प्रक्रिया अघि बढ्छ, उहाँहरुको काम र क्रियाकलापलाई हेर्दै प्रदेशप्रमुखहरु पदमा कति रहन्छन् वा रहन्नन् भन्ने कुरा आगामी सरकारले निर्णय गर्नेछ’–उनले भने ।
‘लामो संघर्षमय जीवन भएको, लोकतान्त्रिक आन्दोलनमा लामो योगदान भएको र राष्ट्रको महत्वपूर्ण नेतृत्वपंक्तिमा बसेर काम गरेको व्यक्तिलाई राष्ट्रपतिजस्तो गरिमामय पदमा पठायो भने राष्ट्रकै निम्ति महत्वपूर्ण हुनेछ’ भन्दै वरिष्ठ नेता खनालले भने–‘पार्टीले दिने जिम्मेवारीलाई दृढतापूर्वक पालना गर्छु । जे जिम्मेवारी दिएपनि पालना गर्नसक्छु । जिम्मेवारी मबाट शिरोधार्य हुनेछ ।’
‘आगामी फागुनको दोस्रो साता एमालेको नेतृत्वमा गठन हुने सरकारले लोकतन्त्रलाई संस्थागत गर्ने, व्यापक गर्ने र जनजनमा पुर्याएर दिगो बनाउने, मुलुकको सार्वभौमसत्ता र अखन्डताको सुदृढीकरण गर्ने, सामाजिक आर्थिक रुपान्तरणलाई तीव्र तुल्याउने, विविधतायुक्त वैभवलाई विकास गरी समृद्ध गर्ने र अन्तर्राष्ट्रिय जगत्सँगको सम्बन्धलाई सुदृढ तुल्याउने कामलाई प्राथमिकतामा राखेर काम गर्नेछ’–उनले भने ।
मुलुकबाट बेरोजगारी, गरिबी, अविकास, रोगब्याधी, निरक्षरतालाई उन्मूलन गर्नु आगामी सरकारका लागि अवसर र चुनौती रहेको बताउँदै वरिष्ठ नेता खनालले समृद्ध र खुसी नेपालको लक्ष्य हासिल गर्ने ढंगले आगामी सरकारले काम गर्ने विश्वास व्यक्त गरे । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा