सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुरुङ्गा, जेठ ४ । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थालेका हुन् । रिजालले दुई वर्षदेखि मःमः यहाँका विभिन्न बजारमा बिक्री गर्दै आएका छन् । मःमः व्यवसाय शुरु गरेका रिजाल अहिले पनि कन्काई क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत रहेका छन् । पढ्दा पढ्दै कोरिया जान दुई पटकसम्म इपिएस परीक्षा दिएका उनी दुबैपटक अनुत्तीर्ण भए । “दुईपटक नै एक नम्बर नपुगेर कोरिया जान असफल भए, त्यही परीक्षा सफलताको सुत्रधार बन्यो,” रिजालले भने । दुई पटकको असफलतापछि उनले विर्तामोडमा मःमः फर्म खोले । सो फर्मले उनलाई स्वरोजगार मात्र बनाएन अरुलाई समेत रोजगारी प्रदान गरेको छ । उनको मःम फर्म अहिले झापाकै लोकप्रिय बनेको छ । विर्तामोडस्थित कनकाई क्याम्पसको नजिकै उनले ‘उरी मःमः फर्म’ खोलेका छन् । उनले कोरियन भाषाबाटै फर्मको नाम उरी राखेका हुन् ।
‘उरी’ को नेपाली अर्थ हुन्छ हाम्रो । पटक–पटकको असफलतापछि रिजालले कोरियन भाषामै मःमः फर्मको नाम राखे । उक्त फर्मबाट उनको अहिलेको कमाइ कोरियाको भन्दा कम छैन । विसं २०७२ साउन मा फर्म दर्ता गरेर कारोबार शुरु गरेका रिजालले अहिले १२ जनालाई रोजगार दिएका छन् । “मासिक रु ३० हजार बचत हुन्छ,” उनले भने । विर्तामोडसहित झापाका विभिन्न बजारमा उनले मःमः बनाएर बिक्री गर्छन् । फास्टफुडका लागि लोकप्रिय बनेको मःमः अहिले रिजालको आम्दानीको मुख्य स्रोत हो । आम्दानी गरेको देखेपछि हिजोआज रिजाललाई उनका साथीहरुले सो व्यवसायबारे सिकाउन आग्रह गर्दै आएका छन् ।
“साथीहरुलाई बेलाबेलामा ऋण दिने गरेको छु, फरक व्यवसाय गर्न सके आर्थिक उपार्जनका लागि विदेशिन नपर्ने रहेछ,” उनले भने । कोरिया जान तयारी गर्ने क्रममा काठमाडौं घुम्दै गर्दा मःमः बिक्री गरेको देखेपछि रिजाल सो व्यवसायप्रति आकर्षित भएका हुन् । त्यसपछि उनले झापा फर्केर उक्त व्यवसाय शुरु गरेका हुन् । “आफू त स्वरोजगार बनेँ, अरुलाई पनि आय–आर्जनको बाटोमा लगाउन पाउँदा गर्व लाग्छ,” उनले भने।
रिजालले सञ्चालन गरेको उरी मःमः फर्ममा सात युवा र पाँच युवतीले रोजगार पाएका छन् । उरी मःम फर्ममा तयार पारिएको मःमः सुरुङगाको सेल्फी डाँडा, जामुनखाडी, अर्जुनधाराको फन वल्र्ड, सालवारी लगायतका पर्यटकीयस्थलमा तथा जिल्लाका विभिन्न ठाउँका विद्यालयमा बिक्रीका लागि पठाउने गर्छन् । “दैनिक करिब एक हजार प्लेट मःमः तयार हुन्छ,” उनले भने । रिजालले प्रतिप्लेट काँचो मःमः रु २८ बिक्री गर्छन् । पूर्वमा धुलाबारी, दक्षिणमा भद्रपुर, पश्चिममा सुरुङ्गा तथा उत्तरमा शनिश्चरेका अधिकांश होटलमा उनको फर्ममा तयार भएको मःमः बिक्री हुन्छ । दैनिक ५० देखि ७५ किलोसम्म पिठो प्रयोग गरिन्छ ।
रु तीन लाखबाट उक्त व्यवसाय शुरु गरेका रिजालले अहिले मनग्य आम्दानी गरेको देखेपछि सो व्यवसायप्रति आकर्षण बढेको छ । व्यवसाय फष्टाउँदै गएपछि उनले पिठो मुछ्नेदेखि किमा तयार पार्ने मेसिन समेत राखेका छन् ।–सुरेन्द्र भण्डारी, रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा