सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
म्याग्दी, चैत ७। यसै त वसन्त ऋतु, त्यसमाथि पनि बनैभरि ढकमक्क फुलेका लालीगुँरास। लालीगुराँसकै छेडोबाट देखिने सेताम्यै हिमाल र मनमोहक प्राकृतिक म्याग्दीका लेकाली भूगोलमा अहिले बेग्लै रौनक थपिएको छ। कहिल्यै पनि वन जंगलमा नपुगेका युवकयुवतीको लर्को अहिले जंगली क्षेत्रमा पुग्दा गाउँलेले अचम्म मानेका छन् भने युवकयुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर तस्वीर खिच्न पाउँदा मख्ख परेका छन्। म्याग्दीका ग्रामीण क्षेत्रका जंगलमा यस वर्ष विगतका वर्षभन्दा राम्रोसँग लालीगुराँस फुलेको छ। राताम्यै फुलेका लालीगुराँसको लालिमाले हरियो वनजंगलमा थप सुन्दरता प्रदान गरेको छ।
त्यही सुन्दरतामा रमाउन र तस्वीर खिच्न युवकयुवती लालीगुराँस फुलेका जंगली क्षेत्रमा पुगेका छन्। म्याग्दीको पर्यटकीयस्थल टोड्के, बरङ्जाको झाँक्रीपानी, अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको प्रमुख आकर्षक मानिने घोडेपानीमा मात्रै होइन, बेनी नगरपालिकाभित्रका गुराँसे पाखामा समेत तस्वीर खिच्न युवकयुवती पुगेका हुन्। माघ दोस्रो सातादेखिको हिमपात र त्यसलगत्तै वनजंगल नै ढाकिने गरी फुलेको लालीगुराँसमा रमाउन यस वर्ष सयौँ युवकयुवती जिल्लाका ग्रामीण क्षेत्रमा पुगेपछि गाउँको रौनक नै फेरिएको मंगला गाउँपालिका–३ झाँक्रीपानीका कोमल थापाले बताए।
समुद्री सतहदेखि एक हजार ५७० मिटरको उचाइमा अवस्थित झाँक्रीपानी, एक हजार ३२० मिटरको उचाइमा रहेको बेनी नगरपालिका–२ को ज्यामरुकोट, बेनी नगरपालिका– ३ भकिम्लीको तोराखेत क्षेत्र, बेनी नगरपालिका–१ रत्नेचौरको अर्जमलगायत जिल्लाको सदरमुकाम बेनीबजारबाट नजिकै रहेका जङ्गलमा राताम्यै लालीगुराँस फुलेको छ। यी सबै ठाउँबाट धौलागिरि, नीलगिरि, माछापुच्छे, गुर्जा, पुथालगायत सात वटा हिमाल देख्न सकिन्छ। साथै झाँक्रीपानीबाहेकका अन्य ठाउँबाट कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनीबजारसमेत देख्न सकिने र तस्वीरको पृष्ठभूमिमा हिमाल, गुराँस, नदी र बेनीबजार पनि आउने हुँदा यी ठाउँमा तस्वीर खिच्न युवकयुवती आउने गरेका बेनी नगरपालिका–२ का भीमबहादुर पौडेलले बताए।
ऐतिहासिक ज्यामरुककोटको खड्ग भवानी कोट संरक्षण तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले ‘ज्यामरुककोटको विशेषता नै नजिकबाट लालीगुराँससँगै माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायतका हिमश्रृंखलाका सुन्दर दृश्य, सदरमुकाम बेनीबजार, नागबेली भएर बगेका म्याग्दी र कालीगण्डकी नदीका साथै बागलुङ र पर्वतका ३३ गाउँ देखिनु’ रहेको बताए। प्राकृतिक सुन्दरतामा रमाउन चाहने जो कोहीका लागि ज्यामरुककोट एउटा उत्कृष्ट र आकर्षक गन्तव्य भएको उनको भनाइ छ ।
वनैभरि फुलेका राताम्यै लालीगुराँस, बेनीबजारलाई फन्को मारेजस्तो देखिने कालीगण्डकी र म्याग्दी नदीको नागबेली दृश्य, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहे जस्ता देखिने हिमश्रृंखला, चारैतिर ग्रामीण परिवेश,स्वच्छ हावा तथा मनोरम प्राकृतिक सुन्दरताले आफूलाई मोहित गराएको पर्वतको जलजला गाउँपालिकाबाट साथीहरूसँग ज्यामरुककोटको फापरखेतमा आयोजित फागुपूर्णिमा मेला हेर्न आउनुभएका १९ वर्षीय देवबहादुर जिसीले बताए।
उनले भने,’एउटै स्थानबाट गुराँस, हिमाल, बजार, नदी गाउँ र जंगलको दृश्य त मैले कहीँ पनि देखेको थिएन।’ लालीगुराँससँगै रमाउने र तस्वीर खिचाउनेमा युवा पुस्ता मात्रै होइन जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेताहरू पनि रहेका छन्। विभिन्न कार्यक्रममा सहभागी हुन गाउँ गएका बेला लालीगुराँस फुलेको ठाउँमा गाडी रोकेर तस्वीर खिचाउनेमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य विनोद केसी र बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल पनि छन्।
सबैलाई आकर्षित गर्ने लालीगुँरासको संरक्षणमा भने कसैको पनि ध्यान गएको देखिँदैन। नगरपालिकाका उपप्रमुख बरुवालले नगर क्षेत्रभित्रका लालीगुराँस फुल्ने जंगलको संरक्षणमा सामुदायिक बन, स्थानीय जनप्रतिनिधि र पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाले विशेष चासो राख्न र पहल गर्न आवश्यक रहेको बताए। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा