सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, फागुन १। कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ । हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ । भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आएको छ । लामो तथा छोटो दूरीका गाडी ठप्प छन् भने हवाई यातायात पनि बन्द भएको छ ।
हिजो विहान २ बजेदेखि हिमपात शुरु भएको र आज शिवरात्रि परेकाले सरकारी तथा गैरसरकारी निकायद्वारा प्रवाह गरिने सेवाबाट सेवाग्राहीलाई मर्का नपर्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार सदरमुकाम जुम्ला खलंगामा आधा फिट हिउँ परेको छ । हिमपातले बेँसीमा भन्दा उच्च भेकका बासिन्दाको जनजीवन बढी कष्टकर भएको उनको भनाइ छ । उनले आज परेको हिन्दूहरुको पर्व शिवरात्रि भने जुम्लामा हिमपातमय हुने जनाउनुभयो ।
यता हावापानी फिल्ड कार्यालय, जुम्लाले आज बिहानको तापक्रम माइनस ६ डिग्री सेन्टिग्रेड रहेको जनाएको छ । लामो समयदेखि हिउँ नपर्दा भोकमरी हुने कुराले चिन्तित किसानलाई भने यो पटकको हिमपातले राहत पुग्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए । उनका अनुसार यो हिउँले नयाँ स्याउ रोप्न र हिउँपोखरी निर्माण गर्न किसानलाई सहयोग पुग्नेछ ।
सिँचाइ कम भएको जग्गा र स्याउका लागि आवश्यक न्यूनतम तापक्रम पुगेको छ । हिमपात भएपछि अब सहकाल लाग्ने स्थानीय वीरबहादुर सिंहले बताए । हाम्रा पालामा पर्ने जतिको हिउँ अहिले परेको देखिँदैन, विस्तारै खडेरी बढ्न थालेको छ, खोलानाला सुक्दै गएका छन्, उनले भन्नुभयो । उनका अनुसार हिउँ पर्नुलाई कष्टकर जीवन मान्नेभन्दा भोकमारी, रोगब्याधि हटाउने सहकाल मानिन्छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा