सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ : आरोप-प्रत्यारोपकाबीच विवाद बढ्दै जाँदा नेकपाका दुई समूहका शीर्ष नेताबीच संवाद ठप्प भएको छ । तर, दस दिनका लागि सचिवालय बैठक स्थगित गरेका शीर्ष नेता समूहगत छलफल र रणनीतिमा निर्माणमा भने व्यस्त छन् ।
दुवै पक्षबीचको संवादहीनता र यसबीचमा उनीहरुले गरेको तयारीले मंसिर १३ को सचिवालय बैठकपछिको नेकपा राजनीति थप टकरावपूर्ण र जटिल हुने सम्भावना बढेको छ ।
पछिल्लोपटक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी सचिवालयमा प्रवेश गरेका दुवै अध्यक्षका पत्र र दाहालको राजनीतिक प्रस्तावलाई छलफलका लागि तल्ला तहसम्म पठाएपछि नेकपाभित्र बढ्दो टकराव सतहमा आएको हो । पार्टी विवाद मिलाउन दोस्रो तहका केही नेताहरुको दौडधूप चले पनि गुटगत गतिविधि रोकिएका छैनन् । यसबीचमा ओली र दाहालनिकट नेताहरुसँग भने नियमित संवाद र छलफलमा छन् ।
दाहाल-नेपाल समूहले कात्तिक २२ मा सचिवालय बैठक बोलाउन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्र, सचिवालयका पाँच सदस्यले लेखेको पत्रको प्रधानमन्त्रीले कात्तिक २२ मा लेखेको जवाफी पत्र र त्यसको जवाफमा दाहालले कात्तिक २८ मा लेखेको पत्रसहित २८ कै सचिवालय बैठकमा पेस गरेका १९ पेजको राजनीतिक प्रस्तावलाई बुकलेटका रुपमा तल्ला कमिटीमा पठाएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्षमाथि गम्भीर आरोपसहित आएको दाहाल प्रस्तावले नेकपाभित्र तरंग मच्चाएका बेला दाहाल-नेपाल समूहले उक्त प्रस्ताव तल्लो तहमा पठाएपछि नेकपाभित्र धुव्रीकरण बढ्दै गएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले २८ कात्तिकमा दाहालले लेखेको पत्र र राजनीतिक प्रस्तावको मंसिर १३ को सचिवालय बैठकमा लिखितरुपमै जावफ दिने तयारी गरेका छन् । योसँगै दुवैपक्षका आरोप लिखितरुपमै पार्टी कमिटीमा प्रवेश गर्नेछन् ।
मंसिर ३ को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले राखेको अभिव्यक्ति उनको सचिवालयले जस्ताको त्यस्तै संचारमाध्यममा प्रवाह गरेको र यो अनुशासनविपरित भएको दावीसहित दाहाल-नेपालसमूहले लिखित पत्र र प्रस्तावालाई तल्लो तहसम्म पठाउन थालेको बताएको छ ।
प्रधानमन्त्री ओली समूहले मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्पोर्टस् एकेडेमीमार्फत गुटगत गतिविधि गर्दै आएको आरोप अर्को समूहको छ । शनिबार सुर्खेतमा मदन भण्डारी स्पोर्टस् एकेडेमीमार्फत् ओली समूहले प्रदेशस्तरीय भेला गरेर पार्टी विभाजनलाई मलजल गरेको दाहाल नेपाल समूहको आरोप छ ।
शनिबार नै स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा चितवनमा ओली समूहका कार्यकर्ताले नाराबाजी गरेका थिए । घटनाको वरिष्ठ नेताहरु झलनाथ खनाल, नेपाल र प्रवक्ताले भत्र्सना गर्दै छानविनको माग गरेका थिए । स्थायी कमिटी सदस्य पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेपछि त्यसले नेकपाको केन्द्रीय राजनीति थप तरंगित बनाएको छ ।
त्यसको भोलिपल्ट आइतबार दाहाल नेपाल समूहका नेता कार्यकर्ता सहभागी कार्यक्रममा भाग लिन पोखरा पुगेका थिए । पाण्डेको उक्त कार्यक्रमलाई लिएर ओलीसमूहले गुटगत गतिविधि गरेको आरोप लगाएको छ ।
शनिबार नै प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेपछि दाहाल नेपाल समूह थप सशंकित बनेको छ । सोमबार ताप्लेजुङ पुगेका ओलीले दाहाल-नेपाल समूहका गतिविधिलाई लिएर आक्रोश पोखका थिए ।
प्रधानमन्त्री ओलीको भनाई थियो, ‘अहिले सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका, कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित र कहिले छापेर त्यस्ता सामग्री वितरण गरिएका छन् । सरकार ढलिहाल्छ जस्ता कुराहरू तपाईंहरूले सुन्नुभएको हुन सक्छ । केही–केही मान्छेहरू, केही काम नपाएका मान्छेहरू, देशमा अस्थिरता चाहने मान्छेहरू, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरू र देशको प्रगति हेरेर तर्सिएका मान्छेहरूले यसो गरिरहेका छन् । अहिलेको सरकार लोकप्रिय हुन्छ भन्ने पीर केहीलाई परेको छ ।’
मंसिर २ मा प्रधानमन्त्री ओलीले चिनियाँ राजदूत हाउ यान्छीसँग डेढ घन्टा संवाद गरेका थिए । भेटबारे प्रधानमन्त्रीको सचिवालय र दूतावासले औपचारिक रूपमा केही बताएका छैनन् । नेकपा विवाद हुँदा विगतमा पनि चिनियाँ राजदूतले प्रधानमन्त्रीसहित नेकपाका नेताहरुसँग भेट गर्ने गरेकी थिइन् । राजदूतले सोमबार अर्का अध्यक्ष दाहालसँगसमेत भेट गरेकी छिन् ।
नेकपामा पहिलोपटक दुई अध्यक्षका फरकफरक प्रस्ताव पेश हुँदैछन् । अहिले एकीकृत प्रतिवेदन बनाउने विकल्पमा छलफल भए पनि मंसिर ३ को बैठकपछि ओली र दाहालबीच भेट भएको छैन । दुई प्रतिवेदन फिर्ता वा सहमतितिर नगए नेकपाको राजनीति बहुमत अल्पतमा जाने खतरा पनि बढेको छ । पार्टीको पछिल्लो विवाद छलफलका लागि मंसिर १३ मा सचिवालय, १८ मा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।
जहाँबाट बहुमत अल्पमतको राजनीति हुन सक्ने नेताहरुलाई भय छ । आइतबार ओली र सोमबार दाहाललाई भेटेका स्थायी कमिटी सदस्य हरिवोल गजुरेल बहुमत अल्पमतमा गए पार्टी विभाजनको सम्भावना देख्छन् ।
बहुमत-अल्पमतबाट विवाद टुंगाउनेतिर गयो भने यसको नतिजा के हुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘फुटतिर जान्छ, अरु केही हुँदैन । सहमतिबाटै महाधिवेशनमा जाने हाम्रो मूल भावना हो । दुई अध्यक्ष व्यवस्था गरेको त्यसैलाई हो । एकता गर्दा पूर्वएमालेको ६० प्रतिशत थियो भने पूर्वमाओवादीको ४० प्रतिशत हो । एकछिनलाई मानौं, बहुमत अल्पमत गर्ने हो भने र पूवएमाले एक ठाउँ उभिए भने के हुन्थ्यो ? ६० ले ४० लाई कारबाही गर्दिहाल्छ, त्यो त हामीले बुझ्नु पर्यो नि । त्यसकारण बहुमत र अल्पमतबाट समस्या समाधान हुँदैन ।’ कान्तिपुर दैनिक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा