सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, असार २६ । सवारीसाधनको बढ्दो प्रयोगसँगै उपत्यकाका सहरी सडकहरू साँघुरा लाग्न थालिसकेका छन् । पैदलयात्रा कठिन भएको छ । सडककिनार गाडी तथा मोटरबाइक पार्किङ स्थलजस्ता भएका छन् । ट्राफिक जाम त सहरवासीको आम समस्या भएको लामो समय भइसक्यो । जे होस्, सडक खनिज इन्धनबाट चल्ने सवारीसाधनको एकलौटीजस्तै भएको छ ।
यस्तो अवस्थामा सडकमा साइकल लेन सम्भव छ त ? हामी धेरैलाई कताकता असम्भव जस्तो लाग्छ तर ललितपुर महानगरपालिकाले यसलाई सम्भव बनाउँदैछ । ललितपुर महानगरपालिकाले अहिले भएकै सडकमा साइकलका लेन व्यवस्थित गर्ने काम थालनी गरेको छ । ललितपुरको कुपण्डोलदेखि लगनखेलसम्म साइकल लेन बनाउन लागिएको हो । साइकल लेन निर्माणका लागि महानगरपालिकाले बोलपत्र आह्वान गरिसकेको छ ।
कुपण्डोलदेखि लगनखेल र पुलचोकदेखि मङ्गलबजारसम्म साइकल लेन बनाउने योजनाअनुरूप बोलपत्र खोलिएको ललितपुर महानगरपालिकाका सूचना अधिकृत रुद्र गौतमले जानकारी दिनुभयो । ललितपुरलाई साइकल सिटीको रूपमा विकास गर्ने दीर्घकालीन योजनाअनुसार साइकल लेनको विकास गर्न लागिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार ललितपुर महानगरपालिकाको सवारी व्यवस्थापन गुरुयोजना (एमटीएमपी)को एक अङ्गका रूपमा साइकललाई राखिएको छ । त्यसकारण साइकल प्रवद्र्धन गर्ने योजना महानगरपालिकाको रहेको छ ।
सूचना अधिकृत गौतम भन्नुहुन्छ, ‘‘सडक साइकलमैत्री नभए पनि मानिसले साइकल त प्रयोग गरिरहेका छन् । उनीहरूको सुरक्षाका लागि पनि लेन बनाउन जरुरी छ । ’’ साथै नगरमा साइकल प्रयोगकर्ता बढुन् भन्ने उद्देश्य पनि यस योजनाभित्र रहेको उहाँको तर्क छ । साइकल लेन भएपछि थप साइकल प्रयोगकर्ता पनि प्रोत्साहित हुने महानगरपालिकाले जनाएको छ ।
भएका साइकल प्रयोगकर्ता र भविष्यका प्रयोगकर्ताको सडक सुरक्षाको दायित्वबोध गरी साइकल लेनको अवधारणा अगाडि आएको गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘वातावरणमैत्री सवारीसाधन प्रवद्र्धन गर्न साइकल लेन बनाउने कदमको यो सुरुवात हो । यो निरन्तर आगामी वर्षहरूमा पनि अगाडि चल्नेछ । ’’ महानगरपालिकाले साइकल प्रयोगसम्बन्धी कानुन नै बनाएर साइकल प्रयोगको प्रवद्र्धन र साइकलयात्री सुरक्षाका विषयलाई व्यवस्थित गर्न लागिएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । ललितपुरको यो साइकल लेनको डिजाइन नेपाल साइकल समाजको प्राविधिक सहयोगमा तयार भएको हो ।
ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामरतन शाह अहिलेको स्थितिमा साइकल लेन सञ्चालन गर्ने चुनौतीपूर्ण काम गर्न महानगरपालिका तयार भएको बताउनुभयो । सडकको दुवैतिर १.२ मिटर चौडाइको साइकल लेन बनाइनेछ । चार इन्चको मार्किङ गरी ठाउँठाउँमा साइकलको लोगो र ट्राफिक चिह्न राखिनेछन् । यही लेनलाई जोड्दै ठाउँठाउँमा साइकल स्ट्यान्डहरू हुनेछन् । अहिले १० ठाउँमा साइकल स्ट्यान्ड बनाउने काम सुरु भइसकेको इन्जिनियर शाहले जानकारी दिनुभयो ।
साइकल लेन निर्माणका लागि ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५० लाख रुपियाँ बजेट खर्च गर्नेछ । साउनको अन्तिम हप्तादेखि काम सुरु गर्ने योजनासहित महानगरपालिका अगाडि बढेको छ । इन्जिनियर शाहका अनुसार सरासर काम भए निर्माण थालेको छ महिनामा साइकल लेन तयार हुनेछ ।
सुरक्षा र सम्मानका लागि साइकल लेन
सहरमा साइकल चलाउन कतिका लागि रहर हो भने कतिका लागि बाध्यता । नेपालकै तराईका कतिपय सहरका लागि त साइकल एक संस्कृति नै हो । जे उद्देश्यले चलाए पनि साइकल सहरी जीवनसँग अविच्छिन्न जोडिएको कुरा हो । त्यसैले साइकल लेन विकास गर्ने कुरा सहर र सहरवासीको हितमा रहेको नेपाल साइकल सोसाइटीका संस्थापक अध्यक्ष रत्नराम श्रेष्ठ बताउनुहुन्छ ।
सडक साइकलमैत्री नहुँदा साइकल यात्रीको असुरक्षा रहेको उहाँको भनाइ छ । सडकमा साइकल लेन भएको खण्डमा साइकल यात्रीलाई आफू सम्मानित भएको महसुस हुने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “साइकल चढ्नेलाई ठूलो सवारीसाधन चलाउनेले हेप्ने प्रवृत्ति पनि कमी आउनेछ । ” अहिले भइरहेकै सडकमा पनि पार्किङ गरी साइकल लेन बनाउन सकिन्छ भन्ने पाठ ललितपुरमा बन्न लागेको साइकल लेनले सिकाउने उहाँको विश्वास छ ।
साइकल प्रवद्र्धनका अभियन्ता देवेन्द्र बस्नेत त साइकल लेनले देशको प्रजातन्त्रको चित्रसमेत प्रस्तुत गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सडक सबैको हो भन्ने प्रजातान्तिक मान्यता हो भनेपछि साइकल, पैदलयात्री र अन्य सवारीसाधनले बराबर ठाउँ पाउनुपर्छ । यो कुरा साइकल लेन र फुटपाथलाई व्यवस्थापन गरेर झल्काउन सकिन्छ । ”
नेपालको पहिलो साइकल पसल ‘पञ्चनारायण अष्टनारायण साइकल सेन्टर’का सञ्चालक तिरेक मानन्धर हिजोआज सहरवासी स्वास्थ्यका लागि साइक्लिङमा आकर्षित भइरहेको बताउनुहुन्छ । साइकलका लागि गाडीको चाप कम हुने भित्री बाटोहरूको रुट म्यापिङ गर्ने र अन्य सडकमा साइकल लेन बनाएमा दैनिक आवतजावतका लागि साइकल प्रयोग गर्नेहरूसमेत बढ्ने उहाँको मत छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा