सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २ । लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरूको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ अब नेपथ्य ब्याण्डको म्युजिक भिडियोका रुपमा तयार भएको छ ।
श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई यो ब्याण्डले एक दशकभन्दा अघिदेखि उसका हरेक जसो कन्सर्टहरूमा सुनाउँदै आएको छ । बामपन्थी विचारधाराबाट प्रभावित भइ कुनै समय रामेश र मन्जुलले सुरु गरेको मुलुकव्यापी साँगीतिक जागरणको महत्वपूर्ण सिर्जनाका रुपमा उभिएको यो गीतलाई धेरैले धेरै भाषामा सुनाउँदै पनि आएका छन् ।
विशेषगरि तीसवर्षे पञ्चायत कालमा यो गीतले साङ्केतिक रूपबाट सन्देश प्रवाह गर्दै जनताको हक अधिकारका निम्ति भएका आन्दोलनलाई मलजल गरेको थियो । एक हिसाबले यो पञ्चायतकालकै परिस्थितिबाट उत्पन्न गीत हो जसलाई तत्कालीन अवस्थामा रेडियो नेपालले प्रतिबन्धित गरेको थियो ।
तर, जनस्तरमा चाहिँ यसको लोकप्रियता चुलिँदै गयो । २०४६ र २०६२ सालको जनआन्दोलनहरूमा यो गीत जताततै बजेका थिए ।
पहिलो जनआन्दोलन लगत्तै बनेको फिल्म ‘बलिदान’मा समावेश गर्नको निम्ति यसको व्यवस्थित रेकर्ड भएको थियो । त्यो सिनेमा पञ्चायतकालमा प्रजातन्त्रका निम्ति लड्नेहरू माथि नै आधारित थियो ।
पछिल्लो समय भने यस गीतलाई नेपथ्यले रेकर्ड गरेको छ र ब्याण्डले आइट्युन, गुगलप्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’ हरुका माध्यमबाट यो गीत सार्वजनिक गरेको छ । हालसम्म नाम नजुरेको नेपथ्यको दशौं एल्बममा यो गीत समेटिएर आउने तयारीमा छ ।
यो म्युजिक भिडियो तयार पार्नका लागि नेपथ्यले केही समयअघि गरेको नेपाल भ्रमणका क्रममा आयोजित कन्सर्टहरुको दृश्यहरूलाई एकापसमा जोड्ने काम गरिएको छ । भिडियोमा यो गीत गाइरहेका बेला मुलुकभित्र र बाहिरका बेग्लाबेग्लै दर्शक जमातको उत्साह र उमङ्ग पनि देख्न सकिनेछ ।
यो गीतलाई लोकरक ब्याण्ड नेपथ्यले आफ्नै शैली र प्रस्तुतीका साथ अङ्गीकार गर्दैआएको श्रोतादर्शकलाई अवगतै छ ।
यो मनमुटु हल्लाउने गीत बजिरहेको बेला जहिल्यै पनि दर्शकहरू सकारात्मक ऊर्जाले भरिएर उफ्रिरहेका देखिन्छन् । नेपाल भित्र होस् वा बाहिर जता कन्सर्ट गर्दा पनि यस गीतका बेलामा चाहिँ ब्याण्डसँगै समस्त दर्शकहरू पनि गाइरहेका हुन्छन् ।
हेनुहोस् भिडियो
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा