भर्खरै

बहस : दिवंगत स्रष्टाको शव एकेडेमीमा राख्ने कि नराख्ने


 July 14, 2018     सेतो खबर

प्रकाश सिलवाल/काठमाडौँ, असार ३० । साहित्यकार तथा कलाकारको निधनपछि श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा पार्थिव शरीर राखिँदै आएकामा उक्त स्थानको विकल्पबारे बहस शुरु भएको छ ।

निधनपछि स्रष्टालाई राज्यको प्राज्ञिक निकायको डबलीमा राखेर सम्मान तथा श्रद्धाञ्जलि दिने परम्परा रहेकामा प्रतिष्ठानमा क्रियाशील तीन वटै कर्मचारी संघसंगठनले यसको विरोध गरेपछि बहस उत्पन्न भएको हो । साहित्यिक वातावरणको संस्थालाई ‘मूर्दाघर’ बनाउन नहुने भनी लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघका अध्यक्ष अशोककुमार चौरसिया, प्रज्ञा प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष विश्वमोहन राजभण्डारी र प्रतिष्ठान, नेपाल राष्ट्रिय कर्मचारी संगठनका धनबहादुर कार्कीले संयुक्त रुपमा यही असार १६ गते कुलपति गंगाप्रसाद उप्रेतीसमक्ष ध्यानाकर्षण गराउनुभएको थियो ।

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको २०४७ मङ्सिर १९ मा निधनपछि सो परिसरमा श्रद्धाञ्जलिका लागि शव ल्याउने प्रचलन शुरु भएको हो । राजधानीको केन्द्रमा रहेको र पर्याप्त पार्किङस्थल भएको प्रज्ञा–प्रतिष्ठानमा दिवंगत स्रष्टालाई राज्यका उच्च तहका व्यक्ति र साहित्यकार–शुभेच्छुकले श्रद्धाञ्जलि दिने र त्यसपछि अन्त्येष्टिका लागि शवयात्रा आरम्भ हुँदै आएको छ तर सो स्थानमा कुन तहका साहित्यकार वा कलाकारको शव राख्ने भन्ने मापदण्ड नतोकिँदा यो कार्य व्यवस्थित बन्न सकेको छैन । कतिपय साहित्यकार र तिनका परिवारले बितेपछि त्यसरी शव राखिनुलाई सस्तो प्रचार ठानेर त्यो कार्य उचित नभएको बताउने गरेका छन् भने कतिपयले आफू जीवित छँदा राज्य र राज्यका प्राज्ञिक निकायले सम्मान नगरेकाले बितेपछि त्यहाँ नलान आग्रह गरिरहेका हुन्छन् ।

प्रतिष्ठानका तत्कालीन उपकुलपति केदारमान व्यथितले एक स्रष्टालाई परिसरमा श्रद्धाञ्जलि दिँदै गर्दा आफ्नो ‘चित्त दुखेर’ आफू बितेपछि आफ्नो शव त्यहाँ नल्याउन आग्रह गर्नुभएको थियो । प्रतिष्ठानकै पूर्वउपकुलपति मोहन कोइराला, साहित्यकार पारिजातको पूर्वघोषणाबमोजिम उहाँहरुको शव पनि प्रतिष्ठानमा राखिएको थिएन । तत्कालीन उपकुलपति मदनमणि दीक्षितले एक कलाकारको निधनपछि त्यहाँ ल्याउन खोजिएको शव रोकाउन खोज्दा त्यस क्षेत्रबाट आपत्ति आएपछि शव ल्याउन खुला गरिएको थियो ।
प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष राजभण्डारीले ‘साहित्यिक र सांस्कृतिक वातावरणले आनन्द दिने स्थानलाई मूर्दाघरमा परिणत गर्ने स्थितिको अन्त्य गर्न’ आफूहरुले माग गरेको बताउनुभयो । “प्रतिष्ठानका हलमा विभिन्न सांस्कृतिक कार्यक्रम भइरहेका हुन्छन्, मान्छेहरु भोज खाइरहेका हुन सक्छन्, त्यस्तो बेलामा पार्थिव शरीर ल्याउँदा वातावरण वियोगान्त बन्न पुग्छ । त्यसैले अब यो क्रम रोकिनुपर्छ ।” ज्ञापनपत्र बुझेपछि कूलपति उप्रेतीले यसबारे प्राज्ञ परिषद्को कार्यसूचीमा राखेर निर्णय गर्ने आश्वासन दिनुभएको थियो ।

प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले कर्मचारी संगठनले दिएको ध्यानाकर्षणपत्रलाई परिषद्मा राख्न बाँकी रहेको बताउँदै शव ल्याउन रोक लगाउने वा निश्चित मापदण्ड बनाउने भन्नेबारेमा छलफल हुने जानकारी दिनुभयो । रासससँग कुरा गर्दै उहाँले पुनःनिर्माणको कामसमेत चलिरहेकाले शव बाहिर निकाल्ने पूर्वतिरको ढोकामा निर्माण सामग्री रहेकाले तत्कालका लागि शव ल्याउन र पठाउन गाह्रो हुने प्रतिक्रिया दिनुभयो ।

प्रतिष्ठानका पूर्वसदस्य सचिव डा तुल्सीप्रसाद भट्टराईले भने स्रष्टाहरु बितेपछि सम्मानका लागि प्रतिष्ठानको डबलीमा शव राख्ने परम्परा कायम हुनु उचित भएको बताउनुभयो । नेपाल सरकारसँग पनि परामर्श गरी विकल्प खोजेर प्रतिष्ठानले निर्णय गर्ने बताइएको छ । वर्तमान प्राज्ञ परिषद्को कार्यकाल आगामी भदौ २३ मा सकिँदैछ । रासस

LIC



Ime Inside