सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ११। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षपछि बाध्यताले रोजगारीमा नेपाली विदेश जान नपर्ने तरीकाले काम भइरहेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेण्टर नेपाल रासस शाखाद्वारा संयुक्त रुपमा आयोजित प्रेस चौतारी नेपाल, रासस शाखाको पुरस्कार वितरण र सम्मान गर्दै तथा श्याम रिमालको कम्पकाव्य ‘बारपाक’ सार्वजनिक गर्दै मन्त्री विष्टले एक वर्षभित्र नै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने जानकारी दिए ।
उनले भने, ‘सय दिनमा सरकारले जनताले अनुभूति गर्ने तरीकाले काम गरेको छ, सरकारले अहिले १०० मिटरको दौडको हिसाबले काम गरेको छ, यही तरीकाले सरकारले म्याराथुन दौडसम्म दौडेर काम गर्न चाहेको छ ।’ उनले सरकारको नीति कार्यक्रम परम्परागत रुपमा नभई देश र जनताको समृद्धिका लागि आएको स्पष्ट गर्दै सरकारले दिएका सेवाको परिणाम आएपछि देशले आर्थिक उचाइ लिई विकास र रोजगारीमा वृद्धि हुने र नेपाली नागरिकले गौरव गर्ने दिन आउने बताए ।
मन्त्री विष्टले थपे, ‘खान, लाउन नपाउने गरीब नेपाली होइन, समृद्ध देशका जनताका रुपमा गौरव गर्ने देश बनाउँछौँ ।’ मन्त्री विष्टले समाचार बैंकका रुपमा राससले काम गरिरहेकामा सन्तोष व्यक्त गर्दै श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा र उचित पारिश्रमिकको व्यवस्थाका लागि मन्त्रालयले उचित भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले समाचार बैंक राससले निकै महत्वपूर्ण योगदान दिएको र आगामी दिनमा पनि क्रियाशील भएर काम गर्नुपर्नेमा जोड दिए ।
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले राससलाई आत्मनिर्भर बनाउन र समाचार बैंकको रुप दिन सरकारले पनि काम गरिरहेको बताउँदै राससले आगामी दिनमा पनि आधिकारिक र विश्वसनीय समाचार दिइरहनुपर्ने औँल्याए । उनले सरकारी सञ्चारमाध्यमले राष्ट्र र राष्ट्रका नागरिकको समृद्धिका पक्षमा समाचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिए ।
राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले रासस आधिकारिक र विश्सनीय समाचार समिति तथा समाचार बैंकका रुपमा रहिरहने उल्लेख गरे । राससका महाप्रबन्धक ओपेन्द्र शर्मा र नायब महाप्रबन्धक सुरेन्द्र नेपालीले रासस समाचारको मुहान भएको हुँदा विकट क्षेत्रका नसमेटिएका समाचारलाई समेत आगामी दिनमा थप प्राथमिकता दिने उल्लेख गरे । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा