सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा । वाग्मती प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
वाग्मती प्रदेश सभामा विपक्षी दलको बहुमत रहेको र उनीहरुले शाक्यलाई विश्वासको मत नदिने निर्णय गरिसकेकाले शाक्यको पद जाने निश्चित जस्तै छ ।
बैठकका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ । आवश्यक कर्मचारीसमेत खटाइएको छ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेकी थिइन् । सो प्रस्तावमाथि प्रदेशसभाको कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेकी थिइन् ।
नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन् । प्रदेशसभाको बैठकमा ४ गते बसेको प्रदेशसभाको बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफ दिने र दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि, २०७८ प्रदेशसभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।
प्रदेशसभा बैठक बस्नुअघि कार्य परामर्श समितिको बैठक बस्ने उनले बताए । कार्य परामर्श समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ । वाग्मती प्रदेशसभामा हाल १०९ सदस्य छन् । सत्तापक्ष नेकपा (एमाले) का ४३, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझा दलका तीन, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राप्रपाका २–२ तथा जनता समाजवादी पार्टी (जसपा)का एक सदस्य छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा