सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काभ्रे र रामेछाप जिल्लामा पर्ने सुनकोसी–३ जलिविद्युत आयोजना बन्ने पक्का भएकाे छ । नेपाल र बंगलादेशबीच ६८३ मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना सुनकोसी-३ संयुक्त रुपमा निर्माण गर्ने सहमति भएको छ ।
नेपाल र बंगलादेशका ऊर्जा सचिव स्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को आज मंगलबार भर्चुअल रुपमा सम्पन्न तेस्रो बैठकमा सुनकोसी–३ संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको हो ।
बैठकमा नेपाली पक्षको नेतृत्व गरेका ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव देवेन्द्र कार्कीका अनुसार आगामी डिसेम्बरअघि नै निर्माणका विभिन्न प्रक्रिया र ढाँचामा छलफल हुनेछ । ‘हामीले पाँचवटा आयोजना छुट्याएका थियौं, तीमध्ये दुईमा छलफल गर्दा सुनकोसी-३ मा अघि बढ्ने सहमति भयो,’ सचिव कार्कीले भने ।
उनका अनुसार सुनकोसी–३ को विस्तृत अध्ययन आगामी डेढ महिनाभित्र पूरा हुँदैछ भने खिम्ती शिवालय (१५४७ मेगावाट) पूरा हुन अझै डेढ वर्ष लाग्नेछ । यसअघि सरकार आफैले अध्ययन गर्दै आएका विभिन्न जलाशययुक्तमध्ये पाँचवटा आयोजना बंगलादेशलाई दिन सकिनेबारे छलफल गरी सूची तयार गरेको थियो ।
उक्त सूचीमा फुकोट कर्णाली (४२६ मेगावाटको अर्धजलाशययुक्त), अरुण-४ ((४९०.२ मेगावाट), किमाथान्का अरुण (४५० मेगावाट, नदीप्रवाही) खिम्ती शिवालय (जलाशययुक्त) र सुनकोसी-३ थिए । यी पाँचमध्ये हिजो सम्पन्न ऊर्जा सहसचिव स्तरीय बैठकले सुनकोसी–३ र खिम्ती शिवालयमध्ये एउटा बनाउन सिफारिस गरेको थियो । सहसचिव स्तरीय बैठकले गरेको सिफारिसअनुसार आज सचिव स्तरीय बैठकले सुनकोसी–३ लाई रोजेको हो ।
सचिव कार्कीका अनुसार सुनकोसी-३ नेपाल विद्युत् प्राधिकरण र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्डले संयुक्त रुपमा अघि बढाउनेछन् । ‘संयुक्त रुपमा निर्माण गरेपछि बंगलादेशले पनि आफ्नो देशमा बिजुली लैजान सजिलो हुने भयो,’ कार्कीले भने, ‘दुवै देश (नेपाल र बंगलादेश) ले आ-आफ्नो सीमासम्म प्रसारण लाइन सुधार्नेछन् ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा