सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– राजधानी उपत्यकाको ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु भएको छ । मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिन्छ ।
यसमार्फत न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सकिने बताइएको छ । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप डाउनलोड गर्नुपर्नेछ ।
यस मेट्रो अनलाइन ट्याक्सीमा ५ हजारभन्दा धेरै ट्याक्सीहरु समावेश रहेको र यो नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क भएको बताइएको छ ।
ट्याक्सी सेवालाई डिजिटलाइज र अत्याधुनिक बनाउनका लागि आएको मेट्रो अनलाइन ट्याक्सीले अनौपचारिक रुपमा सेवा सुरु गरिसकेको छ ।
यसैबीच, मेट्रो अनलाइन ट्याक्सीले आज बुधबार ट्याक्सी चालकहरुका लागि अनलाइन ट्याक्सी सेवा र ग्राहकलाई प्रदान गर्ने सेवाबारे अभिमूखीकरण तालिम पनि सञ्चालन गरेको छ । तालिममा अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्ने, एपको प्रयोग गर्ने तरीका, ग्राहकसँग गरिने व्यवहार लगायतका विषयमा ट्याक्सी चालकलाई तालिम दिइएको छ ।
सो तालिमले आगामी दिनमा काठमाडौं उपत्यकाका सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको ग्राहकसँगको व्यवहार र सम्बन्धमा सुधार हुने र यसले ट्याक्सी सेवालाई मर्यादित तथा व्यवस्थित बनाउने कम्पनीका बजार व्यवस्थापन प्रमुख सूर्य तामाङले जानकारी दिए ।
यस्तो तालिम मासिक रुपमा विभिन्न क्षेत्र र स्थानमा गरिने योजना रहेको उनले बताए ।
मेट्रो अनलाइन ट्याक्सीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै ट्याक्सी धनी र चालकसँगको सहकार्यमा ट्याक्सीहरुलाई अत्याधुनिक प्रविधियुक्त बनाउने, डिजिटल प्लेटफर्मको अधिकतम उपयोग गर्ने उद्देश्यले काम गरिरहेको छ ।
मेट्रो अनलाइन ट्याक्सीमा यात्रुले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा उपयोग गर्न सक्ने कम्पनीका प्रशासनिक प्रमुख रविन्द्रभुपाल प्रधानले जानकारी दिए ।
‘हामीले हालसम्मकै सस्तो भाडादरमा आधारित भएर ट्याक्सी सेवा दिनेछौं । यसमा न्यूनतम ९९ रुपैयाँमा नै यात्रुले ट्याक्सी चढ्न सक्नेछन्,‘ प्रशासनिक प्रमुख प्रधानले भने ।
आगामी दिनमा मेट्रो अनलाइन ट्याक्सीमा थप ट्याक्सीलाई सहभागी गराउने र सेवा क्षेत्र बिस्तार गर्ने योजना रहेको उनले बताए ।
मेट्रो अनलाइन ट्याक्सीमार्फत सेवा लिन चाहने यात्रुले एपमा रजिस्टर गरेर मात्र सेवा लिँदा सुरक्षित हुने र यात्रा भरपर्दो बनाउन सकिनेछ भने आगामी दिनमा सेवा सुधारमा पनि सहयोग पुग्ने कम्पनीको विश्वास छ । ट्याक्सी स्ट्यान्डमा आएका यात्रुलाई सेवा दिनुपर्दा चालकले एपमा रजिस्टर गराई मात्र सेवा दिनेछन् । यसले गर्दा यात्रु र चालक दुवै सुरक्षित हुन सक्नेछन् ।
यस मेट्रो अनलाइन ट्याक्सी एपमा आबद्ध हुने ट्याक्सीलाई कम्पनीको निश्चित मापदण्डअनुसार निःशुल्क ट्याक्सी बीमा गर्दै आएको छ । जसले ट्याक्सी दुर्घटना भएको खण्डमा ट्याक्सी व्यवसायीलाई बीमा सुनिश्चित गर्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा