सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १० । सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो । यसैक्रममा सगरमाथाको नाप लिइ उक्त टोली बिहीबार काठमाडौँ फर्किएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी टोलीलाई शुक्रबार स्वागत तथा बधाई ज्ञापन व्यक्त गरेको छ ।
मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री अर्याल, मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी लगायतले सगरमाथाको उचाइ मापनका निम्ती सगरमाथाको आरोहण गरेर फर्किएको प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोलीलाई फूलमाला र टिकाले स्वागत गरेका हुन् ।
यसैगरी सगरमाथाको सफल आरोहणको उपलक्ष्यमा मन्त्री अर्यालले टोलीका सबै सदस्यहरूलाई मिठाइ खुवाएर खुशी बाँडेका छन् । सोहि अवसरमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले पहिलोपटक आफ्नै साधान स्रोतमा सगरमाथाको उचाइ मापन गर्ने कार्य गरेको भन्दै यो सबैका लागि गौरवको कुरा भएको जनाए ।
अहिलेसम्म सगरमाथाको उचाइ आफ्नै पहल तथा लगानीमा नेपाल सरकारले गरेको थिएन। विभिन्न देशहरूले विभिन्न समयमा गरेका थिएु, मन्त्री अर्यालले भने, यसपाली सरकारले आफ्नै स्रोतसाधनमा आफ्नै लगानीमा सगरामाथाको उचाइ नापी गरेको छ। यो हामी सबैका निम्ति गौरवको कुरा हो ।
मन्त्री अर्यालले आरोहणको महत्वपूर्ण काम सम्पन्न गरेपनि ६ महिनाभित्र नेपाल आफैंले मापन गरेको सगरमाथाको वास्तविक उचाइ प्राप्त हुने जनाइएको छ ।
गएको चैत्र २७ गते सगरमाथाको उचाइ नाप्नका निम्ती नापी विभागका प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोली सगरमाथातर्फ प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री अर्यालको शुभकामना लिएर गएको टोलीलाई वैशाख २८ गते भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको आधार शिविर (बेसक्याम्प) मै पुगेर थप हौसला प्रदान गराएका छन्।
शुभकामना कार्यक्रममा सगरमाथा आरोहणका बारेमा जानकारी दिँदै टोलीका संयोजक विभागका प्रमुख नापी अधिकृत गौतमले निकै कष्टपूर्ण तरिकाले राज्यले दिएको जिम्मेवारी पूरा गरेर फर्किएको जनाए। जेठ ८ गतेका दिन बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर आफ्नो टोली १ घण्टा १६ मिनेट सगरमाथाको चुचुरोमा मापन कार्य गरेर बिताएको बताए ।
त्यहाँ हामीले पुगेर काम पनि गर्नुपर्ने थियो । त्यसैले त्यहाँ अब्जरभेसनका सन्दर्भमा एक घण्टा १६ मिनेट चुचुरोमा बितायौं, जुन निकै गाह्रो काम पनि थियो’, उनले भने।
फर्कने क्रममा निकै कष्ट समेत ब्यहोर्नुपरेको सरकारी प्राविधिक टोलीलाई गाइड गरिरहेको पिक प्रमोशन प्रालीका टोली प्रमुख छिरिङ जाङ्बु शेर्पाले बताए।
ठूलो जोखिमका बावजुद सकुशल फर्किन सफल भएको उनले बताए । टोलीमा सहभागी एकजनाको अक्सिजन सकिएका कारण धेरै समस्या परेको उनले बताए।
तर आफू २० वर्षदेखि गाइडको कार्यमा खटिरहेका कारण टोलीलाई कुशलतापूर्वक आरोहण र अवतरण गराउन सफल भएको उनको भनाइ थियो ।
प्रमुख नापी अधिकृत गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाई मापन गर्न गएका थिए।
जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्क शुत्रको काम गरेको थियो भने, प्रमुख गौतम र कार्कीले सगरमाथाको चुचुरोमै पुगेर उचाइ मापनको कार्य गरेको थियो ।
यता पिक पर्मोशन प्रालिका छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्याउन मद्दत गरेको थियो । आङ्बु शेर्पा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गरेका थिए ।
आरोहरणका क्रममा बेलैमा उद्दार नभएको भए ज्यानै ज्यान गुमाउने सम्भावना रहेको समेत त्यस सन्दर्भमा आरोहण टोलीले बताए । कार्यक्रममा मन्त्री अर्यालले आरोहणको महत्वपूर्ण कामबाट फर्किएपछि अब प्राविधिक काममा अगाडि बढ्ने जनाए ।
२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाइ मापन कार्य अगाडि बढाएको हो ।
राष्ट्रिय गौरव र अन्तराष्ट्रिय चासोको रूपमा रहेको सगरमाथाको उचाइ मापन कार्य परम्परागत विधि (समतल नापी) तथा आधुनिक विधि (जीएनएसएस) एवं स्थलगत भू(आकर्षण सर्वेक्षण) जस्ता विधि अवलम्बन गरेको बताए ।
सगरमाथाको सफल आरोहण भइ तथ्यांक संकलन भइसकेको र अन्य स्थलगत सर्भेक्षणबाट तथ्यांकहरू प्राप्त हुने क्रममा रहेकोले सम्पुर्ण तथ्यांकहरू प्राप्त भएपश्चात् तथ्यांकहरूलाई प्रशोधन गरी परिशुद्ध उचाई विश्व सामु प्रस्तुत गर्न नापी विभाग सक्षम रहेको जानकारी दिइएको छ ।
सगरमाथा मापनसम्बन्धी केही तथ्यहरू
१. नेपालले पहिलोपटक आफ्नै स्रोत साधनको प्रयोगमा सगरमाथाको उचाइ मापन गर्न गइरहेको छ ।
२. संसारको सबैभन्दा अग्लो चुचुरोको उचाइ करिब १७० वर्षअघि मापन भएको तर यो वर्ष हामी मापन गर्दैछौँ।
३. सन् २००५ मा चीनले नेशनल ब्यूरो अफ सर्भेइङ एण्ड म्यापिङले ८८४४।४३ मिटर उचाइ मापन गर्यो ।
४.अमेरिकाले सन् २००० मा ८८५० मिटर उचाइ रहेको उल्लेख गर्यो ।
५. इटालीले सन् १९९२ मा ८८४८.६५ मिटर उचाइ मापन गर्यो ।
६. सन् १९७५ मा चीनले ८८४८.१३ मिटर मापन गर्यो ।
७. सन् १९५४ मा सर्भे अफ इण्डियाले ८८४८ मिटरको उचाइ मापन गर्यो र हामीले अहिलेसम्म यसैलाई आधिकारिक उचाइ पनि मान्दै आएका छौँ ।
८. सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले ८८४०.५० मिटर उचाइ मापन गर्यो । तर त्यतिबेला पुरानो प्रविधिको प्रयोग भएको थियो ।
९. नापी विभागले २०७२ सालमा भूकम्प गएपछि नगरकोट, चन्द्रकोट, फुल्चोकी लगायत काठमाण्डौ वरिपरीका डाँडाहरूलाई आधार मानेर सर्भे गर्दा ०.९१ मिटर करिब १.०० मिटर उचाइ बढेको पाइयो ।
१०. वि.सं. २०७२ सालको भूकम्पका बेला सगरमाथा बेस क्याम्पमै १२ जनाको मृत्यु भयो ।
११. संसारभर यतिबेला सगरमाथाको उचाइको विषयलाई लिएर विभिन्न प्रश्न उठेका छन् ।
१२. यसै सन्दर्भमा भारतले यसको पछिल्लो उचाइ मापन गर्ने इच्छा व्यक्त गर्यो । त्यति नै बेला नेपालले नाकाबन्दीको सास्ती खेप्नुपर्यो ।
१३. त्यसपछि नेपाल सरकार आफैँले सगरमाथाको उचाइ मापन गर्ने भनेर घोषणा गर्यो । फलस्वरूप हामी आफैँले सगरमाथाको उचाइ आफैले मापन गर्दैछौँ।
१४. यसै सन्दर्भमा संसरभारका विभिन्न राष्ट्रका नाप नक्सासम्बन्धी वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय कार्यशालाको सुझावअनुसार सगरमाथाको उचाइ जीएनएसएस प्रविधिले नाप्ने निर्णय भएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा