सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, साउन २५ । मलखाद र सिँचाइको असुविधाका साथै समयमै रोग निवारणको पहल नगर्दा किसानले पर्याप्त उत्पादन लिन सकेका छैनन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिश गरेका बीउबाट किसानले पर्याप्त आम्दानी लिन नसकेको जनाएको छ । नार्कमा कार्यरत वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बीउ उपलब्ध गराए पनि बालीका लागि चाहिने प्रविधि र ज्ञान दिन नसकेको बताए । उनी भन्छन्, “पर्याप्त आम्दानी लिन किसानलाई ज्ञानको अभाव छ ।” किसानले मल र सिँचाइ समयमै पाए उत्पादन दोब्बर लिन सक्ने उनको भनाइ छ । अहिले राष्ट्रिय उत्पादन २.४ मेट्रिक टन भएकामा त्यसलाई दोब्बर गर्न किसानलाई आवश्यक कुरा उपलब्ध गराउनुपर्छ ।
उनले भने, “सम्बन्धित सबैले किसानका लागि आवश्यक कुरा उपलब्ध गराउन ध्यान दिनुपर्छ ।” किसानले वर्षेनी मलको समस्या भोग्दै आएका छन् । कतिपय किसानले युरिया मल पाइने आशामा समयमै बाली लगाउँछन् । उनी भन्छन्, “किसानले मल हाल्न नपाएका धेरै घटना छन् ।” नार्कले धान, मकै, गहुँलगायतका बालीका उन्नत जातको विकास गर्दै आएको छ । कतिपय स्थानीय जातलाई समिश्रण गराएर तथा कतिपय बीउ अन्य मुलुकबाट ल्याएर नार्कमा उत्पादन र रोग प्रतिरोधी क्षमता परीक्षण गरी किसानका लागि सिफारिश गर्ने गरिएको छ । नार्कले पहिले आफ्नो खेतबारीमा बीउ रोपेर परीक्षण गर्छ ।
त्यसमा राम्रा गुण पाए मात्र सिफारिशको प्रक्रिया अघि बढाउँछ । “किसानको खेतमा दुई यामसम्म बीउ लगाएर मात्र किसानका लागि सिफारिश गरिन्छ,” ठाकुरले भने । नार्कले गत वर्ष दुई किसिमका धानको बीउ सिफारिश गरेको थियो । बालीमा लाग्ने रोगको उपचार समयमै नपाएको वरिष्ठ वैज्ञानिक ठाकुर बताउँछन् । किसानले जिल्ला कृषि विकास कार्यालय तथा स्थानीय निकायमा समस्या राख्ने गरेका छन् । उनी भन्छन्, “रोग लाग्दा किसान कहाँ जाने भन्ने अन्यौलमा छन् ।” एग्रोभेटले रोगको पहिचान नै नभई विषादी दिने गरेका छन् ।
नार्कअन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली यहाँको खेतमा छ टनसम्म फल्ने बीउ किसानका खेतमा पुग्दा तीन टन हाराहारीमा मात्रै उत्पादन दिएको बताउँछन् । उनी भ्छन्, “मल, सिँचाइ र प्रविधि उपलब्ध भए उत्पादन पनि बढ्छ ।” देशभर ८५ प्रतिशत धान, ९७ प्रतिशत गहुँ र ८५ प्रतिशत मकैको बीउ नार्कले विकास गरेको उन्नत बीउ किसानले प्रयोग गर्दै आएको नार्कको तथ्याङ्क छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा