सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १७, काठमाडौं – नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्य राजनीतिक दलहरूले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल पनि बेच्न नसकेको बताउनुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानकसिद्ध हुने काम गरेको छ, यही अवधिमा विद्युत्भार कटौतीको अन्त्य भयो, उज्यालो युगको सुरुवात भयो, वर्षौंदेखि रोकिएको १४०० किमीको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दैछ ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको पालामा महाकालीमा पुल निर्माण गर्ने तयारी गरिरहेको बताउँदै १४ वटा ठूला सडकसमेत निर्माण गर्ने तयारी गरिएको बताउनुभयो ।
‘यसै अवधिमा आर्थिक वृद्धिदर ७ दशमलव ५५ प्रतिशत पुगेको छ, मूल्य वृद्धि नियन्त्रण भएको छ, इतिहासमै पहिलोपटक सङ्घीयताको प्रयोगमार्फत सिंहदरबारको अधिकार गाउँ नगरमा पुगेको छ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । उहाँले दोस्रो स्थानीय तहको निर्वाचनमा एकढिक्का भएर जुट्न सांसदहरुलाई निर्देशन दिनुभएको छ । उहाँले वर्तमान सरकारले गरेका समग्र उपलब्धि र प्रगतिबारे संक्षिप्त जानकारी गराउँदै दोस्रो चरणको निर्वाचनमा पनि चुनावी तालमेलको सम्भावनाबारे सङ्केत गर्नुभयो । प्रधानमन्त्री दाहालले स्थानीय तहको पहिलो निर्वाचन, दोस्रो निर्वाचनको तयारी, सत्ता हस्तान्तरण, मतगणनाको क्रममा भएको चितवन घटना, गणतन्त्र दिवसमा घोषणा गरिएको विभूषणलगायतका विषयमा संक्षिप्त जानकारी गराउनुभएको सांसद आशा कोइरालाले जानकारी दिनुभयो ।
साथै, दोस्रो निर्वाचनको मिति पछाडि धकेल्नु पर्नको कारण र आगामी दोस्रो चरणको निर्वाचनमा हुनसक्ने चुनावी तालमेलको सम्भावनाका बारे पनि प्रधानमन्त्री दाहालले संसदीय दललाई जानकारी गराउनुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन आफ्नो नेतृत्वको सरकारबाट हुनु र सङ्घीयता कार्यान्वयको सन्दर्भमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्नुलाई ठूलो उपलब्धिका रुपमा लिनुपर्नेमा जोड दिनुभएको थियो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा