सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कोप्टिक ईसाईहरुलाई लक्षित गरी आक्रमणहरु भएपछि इजिप्टको फौजले ‘आतंकवादीहरुका तालिम केन्द्र’विरुद्ध हमलाहरु गरेको इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल सीसीले बताएका छन्।
सरकारी सञ्चारमाध्यमले छिमेकी लिबियाको सीमा क्षेत्रमा अवस्थित डेर्ना शहरमा ६ वटा आक्रमण गरिएको जनाएका छन्।
त्यसअघि बन्दुकधारीहरुले मध्य इजिप्टमा ईसाई धर्मावलम्बीहरु चढेको एउटा बसमा आक्रमण गर्दा कम्तीमा २८ जना मारिएका थिए भने २५ घाइते भएका थिए।
राष्ट्रपति सीसीले “जहाँसुकै रहेका आतंकवादी शिविरहरु विरुद्ध आक्रमण गर्न आफू पछि नहट्ने” बताएका छन्।
शुक्रबार अबेर टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले ‘दुष्टहरुबाट आफ्ना जनतालाई बचाउने’ वाचा गरे।
आतंकवादविरुद्धको लडाइँलाई साथ दिइरहेका देशहरुलाई दण्ड दिन नहुने भन्दै उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सहयोगका लागि आग्रह गरे।
सैनिक श्रोतहरुले रोयटर्स समाचार संस्थालाई दिएको जानकारी अनुसार इजिप्टेली ईसाईविरुद्धको कारबाहीमा लिबियामा निशानामा पारिएका विद्रोहीहरु संलग्न रहेको पाइएको छ।
कुनै पनि समूहले तत्कालै हमलाको जिम्वेवारी लिएको थिएन तर पछि इस्लामिक स्टेट समूहको इजिप्ट शाखाले आफूले सो हमला गरेको जिम्मेवारी लिएको थियो।
हालैका महिनाहरुमा इस्लामिक स्टेटले इजिप्टमा यस्ता खालका हमलाहरु गराउँदै आएको छ।
सन् २०११ मा कर्णेल मुअम्मर गद्दाफीलाई नेटो समर्थक फौजहरुले अपदस्थ गराएपछि लिबिया अस्तव्यस्त रहँदै आएको छ र ठूलो संख्यामा रहेका सशस्त्र मिलिसियालाई त्यहाँ नियन्त्रण कायम गरेका छन्।
तर इस्लामिक स्टेटले उक्त भद्रगोलपूर्ण अवस्थाबीच पनि लिबियामा आफ्नो उपस्थिति कायम राखेको छ।
यसअघि पनि इजिप्टले लिबियामा रहेका इस्लामिक स्टेटविरुद्ध हवाई हमला गरिसकेको छ।
सन् २०१५ मा २१ जना इजिप्टेली ईसाईहरुको घाँटी छिनाएर हत्या गरिएको भिडियो सार्वजनिक गरिएपछि इजिप्टको फौजले डेर्ना नजिकैका कैयौँ स्थानमा बमबारी गरेको थियो।
कोप्टिक इसाईहरुले इजिप्टको ९ करोड २० लाख जनसंख्याको १० प्रतिशत ओगट्छन्।
यसअघि गएको अप्रिलमा ‘पाल्म सन्डे’को कार्यक्रम चलिरहँदा गिर्जाघरहरुमा गरिएका हमलामा ४६ जना मारिएका थिए।
त्यसपछि राष्ट्रपति सीसीले देशभर तीन महिने संकटकाल घोषणा गरेका थिए र जिहादी उग्रवादीहरुलाई नियन्त्रणमा लिन आवश्यक सबै कदम चाल्ने वाचा गरेका थिए।
तर कायरोमा रहेका एकजना बीबीसी संवाददाता भन्छिन् इजिप्टमा रहेका धेरै कोप्टिक ईसाईहरु अधिकारीहरुले आफ्नो सुरक्षाका लागि पर्याप्त कदम नचालेको ठान्न थालेका छन्।
अहिले त्यहाँ वास्तवकै भयको माहौल छ र आफूलाई पनि निशाना बनाइने हो कि भन्ने चिन्तामा मानिसहरु रहेको हाम्री संवाददाताले उल्लेख गरेकी छन्। विविसीबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा