सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– जापानले फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने भएको छ । सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किसिदाले सोमबार जानकारी दिएका छन् । प्रधानमन्त्रीले मंगलबारदेखि विदेशीलाई प्रवेश निषेध गर्ने जानकारी गराएका हुन् ।
अफ्रिकी मुलुकहरुमा कोरोनाभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनको महामारी आफ्नो देशभित्र प्रवेश नगरोस् भनेर विदेशबाट आउनेलाई जापान प्रवेशमा निषेध गर्न लागिएको हो ।
‘हामीले चाँडै नै विदेशबाट आउनेलाई देश प्रवेशमा रोक लगाउनेछौं, त्यो कुनै देश विशेषका लागि मात्रै नभएर विश्वभरका कुनै पनि देशबाट आउनेलाई रोक लगाउन लागिएको हो,’ उनले भने । प्रधानमन्त्री किसिदाले नोभेम्बर ३० देखि प्रतिबन्धात्मक यो व्यवस्था लागू हुने पनि जानकारी दिए । जापानमा यसअघि पनि महामारी न्यूनीकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेलाई परीक्षणमा कडाइ गरिएको थियो ।
तर गत नोभेम्बरको सुरुदेखि विदेशबाट आउनेहरुलाई प्रवेशमा खुकुलो बनाइएको थियो । नयाँ खुकुलो व्यवस्थाका आधारमा व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिसा भएकालाई प्रवेश गर्न दिइएको थियो । टोकियोले गत शुक्रबार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको थियो ।
यस्तो नियम अन्य देशबाट आउनेलाई पनि बढाउँदै लगिने प्रधानमन्त्री किसिदाले जानकारी दिए । ‘कोरोना भाइरसको महामारीविरुद्ध जापान सधैं कठोर रुपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडा रुपमा उभिने छ,’ प्रधानमन्त्री किसिदाले भने ।
उनले नयाँ भाइरसबाट जोगिन मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने र प्रतिबन्धात्मक व्यवस्थाहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ भने ७६.५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसकिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा