सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल लिमिटेड (बिफिन) ले कन्फेरेन्स अन लिडरसिप डेभपलमेन्ट फर न्यु नर्मल विषयमा भोलि काठमाडौंमा एकदिने सम्मेलन गर्ने भएको छ ।
सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृतहरु, उच्च सरकारी अधिकारी, औद्योगिक तथा व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु एवं अन्य पेसागत संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।
सम्मेलनमा नेपाल, भारत, बंगलादेश तथा श्रीलंकाका सम्बन्धित क्षेत्रका प्रस्तोता एवं विज्ञहरुबाट ज्ञान आदान–प्रदान हुनेछ ।
सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नेछन् । सम्मेलनमा भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर डा. दुभुरी सुब्बाराव, बंगलादेश बैंकका पूर्वगर्भनर डा. अतिउर रहमान, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र पनि अतिथिको रुपमा रहने बताइएको छ ।
‘यो सम्मेलनको उद्देश्य सबै तह र क्षेत्रका संस्थाको लागि विद्युतीय कारोबारको लागि तयारी अवस्थामा लैजाने प्रयत्न गर्नु हो,’ संस्थाको विज्ञप्तिमा भनिएको छ, ‘विद्युतीय क्रान्तिको कारणले व्यावसायिक जगतमा विभिन्न प्रकारका जोखिमहरु देखिएका छन् । विद्युतीय क्रान्तिमा प्रवेश गर्नको लागि बृहत् लगानी, नयाँ सीप तथा क्षमताको आवश्यकता, नयाँ नियमनकारी व्यवस्था र जटिलताको समाधान गर्न सक्ने सक्षम नेतृत्वको खाँचो रहेको देखिन्छ ।’
सम्मेलनले बैंकिङ सेवाहरुको भविष्यको सम्भावना, वस्तु तथा सेवा प्रवाहमा प्रविधिको प्रयोग, वित्तीय क्षेत्रमा देखापर्ने अपराध तथा सुरक्षासम्बन्धी जोखिम तथा चुनौतीको सामना गर्न मदत गर्ने अपेक्षा गरिएको छ । यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कोभिड–१९ ले पारेको असर असुली रणनिती तथा सुशासन र महामारीको कारणले सांस्कृतिक क्षेत्रमा समेत आएको परिवर्तनका कारण बैंकिङ क्षेत्रले लिनुपर्ने शिक्षाको सन्दर्भमा समेत खोजी गरिने बताइएको छ ।
सम्मेलनमा सम्मानित व्याक्तित्वहरुबाट विद्युतीय नवप्रवर्तन सम्बन्धमा व्यक्त हुने विचारबाट संघ–संस्थाहरुमा विद्युतीय कारोबार गर्ने वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।
बिफिन कम्पनी ऐन २०६३ अन्र्तगत १४ अगस्ट, २०१८ मा स्थापना भएको हो । यो इमर्जिङ नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पुँजी बजारसँग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रवर्द्धित संस्था हो । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरी कर्मचारीको सीप, ज्ञान तथा दक्षता अभिवृद्धि गर्ने, वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा अनुसन्धान गर्ने तथा परामर्श सेवा प्रदान गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध गरी विभिन्न किसिमका मान्यता प्राप्त शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थाहरुको सूचनाहरु एकिकृत गरी डाटा बैंकको रुपमा राख्ने र वित्तीय क्षेत्रको विकासमा योगदान पुर्याउने यसको मुख्य उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा