सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– कोभिड–१९ महामारीको दोस्रो लहरपछि ८७.२ प्रतिशत उद्योग, व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल राष्ट्र बैंकको एक सर्भेक्षणले देखाएको छ । केन्द्रीय बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण गरी बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो ।
सर्वेक्षणले ८७.२ प्रतिशत उद्योग, व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन, कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशतबाट ९७.२ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा २०७८ कात्तिकमा उद्योग–व्यवसाय सञ्चालनमा क्रमिक रुपमा सुधार आएको देखिएको छ ।
२०७७ असारको तुलनामा उद्योग–व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिडपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत उद्योग–व्यवसाय मात्र पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ कात्तिकमा त्यो बढेर ८७.२ प्रतिशत पुगेको छ । गत वैशाखमा गरिएको सर्वेक्षणमा ४.२ प्रतिशत उद्योग–व्यवसाय सञ्चालन हुन नसकेकोमा यो सर्वेक्षणमा २.३ प्रतिशत उद्योग–व्यवसाय मात्र सञ्चालन हुन नसकेको पाइएको छ ।
२०७७ असारको तुलनामा उद्योग–व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग–व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको छ । ठूला उद्योग–व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा आएका छन् ।
२०७७ असारको तुलनामा उद्योग–व्यवसायको उत्पादन वा कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारीअघि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन–कारोबार रहेकोमा २०७८ कात्तिकमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ७४.७ प्रतिशत पुगेको छ । २०७७ असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन–कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेस्टुरेन्ट क्षेत्रको सुधार तुलनात्मक रुपमा कम रहेको छ ।
गत असारको तुलनामा उद्योग–व्यवसायको आकार अनुसार पनि सबै प्रकारका उद्योग–व्यवसायको उत्पादन–कारोबार बढेको पाइएको छ । तर, कोभिड महामारीअघिको अवस्था भने अझै उत्पादन–कारोबार पुगिसकेको देखिँदैन ।
कोभिडपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत उद्योग–व्यवसाय मात्र पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ कात्तिकमा त्यो बढेर ८७.२ प्रतिशत पुगेको छ । गत वैशाखमा गरिएको सर्वेक्षणमा ४.२ प्रतिशत उद्योग–व्यवसाय सञ्चालन हुन नसकेकोमा यो सर्वेक्षणमा २.३ प्रतिशत उद्योग–व्यवसाय मात्र सञ्चालन हुन नसकेको पाइएको छ ।
२०७७ असारको तुलनामा उद्योग–व्यवसायहरुले प्रदान गर्ने रोजगारीको अवस्थामा सुधार भई कोभिडपूर्वको अवस्था नजिक पुगेको पाइएको छ । कोभिड महामारीअघि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेका उद्योग–व्यवसायले २०७८ कात्तिकमा आइपुग्दा ९७.२ प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरेको पाइएको छ ।
उद्योग–व्यवसायले प्रदान गर्ने रोजगारीको स्थितिमा सुधार आएसँगै उद्योग–व्यवसायको औसत तलब–ज्याला खर्चमा समेत वृद्धि भएको पाइएको छ । कोभिड महामारीअघि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ कात्तिकमा आइपुग्दा ९६.१ प्रतिशत पुगेको छ । खानी तथा उत्खनन र विद्युत्, ग्याँस तथा पानी लगायत क्षेत्रका उद्योग–व्यवसायको औसत तलब–ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ ।
सर्वेक्षणमा सहभागी उद्योग–व्यवसायले बजार माग नबढ्नाले कारोबारमा ह्रास आएको, कर्जाको ब्याजदर उच्च र अस्थिर भएको, उत्पादन लागत बढेकोले कठिनाइ भएको जस्ता समस्यालाई प्राथमिकतामा राखेका थिए ।
कोभिड–१९ महामारीको दोस्रो लहरपछि उक्त संक्रमणविरुद्धको खोपको उपलब्धताले गर्दा अर्थतन्त्र चलायमान भई पुनरुत्थान उन्मुख रहेको र यस परिप्रेक्ष्यमा उद्योग–व्यवसायको उत्पादन एवं कारोबारको अवस्थामा सुधार आई अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने राष्ट्र बैंकले जनाएको छ ।
कोभिड—१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न राष्ट्र बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी–व्यवसायीबाट तथ्यांक संकलन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दीपछि औसतमा ६१ प्रतिशत उद्योग–व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग–व्यवसाय मात्र पूर्ण रुपमा सञ्चालनमा रहेको देखाएको थियो । त्यसैगरी २०७७ मंसिरमा प्रथम र २०७८ बैशाखमा दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो ।
व्यवसाय सञ्चालनसम्बन्धी पछिल्लो वस्तुस्थिति बारे २०७७ असार, २०७७ मंसिर र २०७८ वैशाखको सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्यांक संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ कात्तिक ७ देखि १७ गतेसम्म तेस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा