सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धुन्चे । उत्तरी रसुवाको चिलिमे क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानको अधिकांश संरचना निर्माण पूरा भएको छ । ४२.५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरू भएको उक्त आयोजनाले तीन हजार ६३० मिटर हेडरेस सुरुङ, एक हजार ५१ मिटर उचाइको सर्ज ट्यांक, ४७८ मिटरको पेनस्टक सुरूङ तथा विद्युत् गृहसमेत निर्माण सम्पन्न गरिसकेको छ ।
विद्युत् गृहमा पानी ल्याउने सुरूङको निर्माणपछि कंक्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ । संरचना निर्माणको समग्र प्रगति ८४ प्रतिशत पूरा भए पनि विद्युत् गृहभित्र कामको जिम्मा लिने डिइसी नामक चिनियाँ कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानको काम विलम्ब हुँदै गएको बताइएको छ ।
आयोजना प्रमुख अर्पणबहादुर सिंहले छिटोभन्दा छिटो उपकरण जडान गरिदिन प्राविधिक समूहसँग संवाद भइरहेको जानकारी दिए । उपकरण जडानको प्रगति ५० प्रतिशत हासिल गर्नुपर्ने समय बितिसक्दा कामको जिम्मा लिने सो कम्पनीका प्राविधिकले कोरोनाको समस्या देखाइ कार्यस्थलमा आउन आनाकानी गरिरहेको जनाइएको छ ।
विद्युत गृहमा जडान हुने ६४ प्रतिशत उपकरण आयोजनाको निर्माणस्थलमा ल्याइसकिएको र बाँकी सामग्री ल्याउने तयारी गरिएको बताइन्छ । उक्त विद्युत् आयोजना सम्पन्न गर्न प्रतिमेगावाट १२ करोड ६३ लाख खर्च हुने लागत अनुमान गरिएको आयोजना प्रमुख सिंहले जानकारी दिए ।
विद्युत् गृहको उपकरण जडानका लागि कार्य प्रारम्भ भएको मितिले लगभग एक वर्ष लाग्ने भएकाले जडानकर्तालाई छिटो आइदिन ताकेता भइरहेको बताइन्छ । यस्तै १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाले पनि निर्माण गर्नुपर्ने ९८ प्रतिशत संरचना तयार पारी उपकरण जडानका लागि चिनियाँ प्राविधिकको प्रतीक्षा गरिरहेको छ ।
चिनियाँ प्राविधिक नआएकै कारण सिम्बुगाउँमा निर्माण भएको माथिल्लो विद्युत्गृहमा समेत उपकरण जडान हुन सकेको आयोजना प्रमुख सुदन महतले जानकारी दिए । विद्युत् विकासको काम द्रुतरूपले अगाडि बढाउन सञ्जेन जलिवद्युत् कम्पनीले दुई स्थानमा रहने विद्युत् गृहका लागि छुट्टाछुट्टै आयोजना प्रमुख तोकी कार्य अगाडि बढाइरहेको छ ।
चिनियाँ प्राविधिकलाई छिटो आइ दिन ताकेता गर्दै आयोजनाका जिम्मेवार प्राविधिकको ध्यान उपकरण जडानतर्फ केन्द्रित भइरहेको जनाइएको छ । चिलिमे खोलाको पानीलाई सदुपयोग गर्दै तिलोचे बगरमा बाँधिएको बाँधबाट ल्याइएको एउटै पानीले कूल ५७.३ मेगावाट विद्युत् उत्पादन हुने र सिम्बु तथा चिलिमे टारसमेतको दुई स्थानमा छुट्टाछुट्टै विद्युत् गृह निर्माण भइसकेका छन् ।
पानीको स्रोत एउटै हुँदा सिम्बुमा रहने माथिल्लो विद्युत् गृह बन्द गर्नुपर्ने अवस्था आए पनि सोही पानीले तल्लो विद्युत् गृह भने निर्वाध रूपले सञ्चालन हुने जनाइएको छ । पानीको प्रवाह निरन्तर जारी राख्न इभिडी भल्व राख्ने तयारी भइरहेको छ । यो उपकरण जर्मनीमा निर्माण भएको र जलविद्युत्मा प्रयोगका लागि यो प्रविधि नेपालको पहिलो नमूना भएको आयोजनाले जनाएको छ ।
तल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण ढिलाइ हुनुमा विगतका समयमा भएको पेट्रोलियम पदार्थको अभाव, विनाशकारी भूकम्प, कोभिड संक्रमण एवं पटक–पटक आयोजना प्रमुखको फेरबदलजस्ता कारण रहेको बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा