सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् महसुल घटाउने योजना ल्याउन लागेको जानकारी दिएकी छिन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को प्रतिनिधिमण्डलसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा उनले बिजुलीको पहुँच बाहिर रहेका जनतालमा बिजुली पुर्याउन र खपत बढाउन आफूले विद्युत् महसुल घटाउने योजना ल्याउन लागेको जानकारी दिइन् । उनले भनिन्, ‘घरेलु उपभोग र कृषिमा ऊर्जा उपभोग बढाउन पनि विद्युत् महसुल दर समायोजन आवश्यक छ ।’
विद्युत् खपत बढाउनेतर्फ मन्त्रालयले गृहकार्य गरिहेको जानकारी दिँदै मन्त्री भुसालले उद्योग, यातायात, कृषिलगायत क्षेत्रबाट विद्युत् खपत बढाउन सकिने भएकाले त्यसतर्फ सबै क्षेत्रको सहकार्य आवश्यक रहेको औंल्याइन् ।
मन्त्री भुसालले ऊर्जा क्षेत्रको विकासमा हुने ढिलासुस्ती कम गर्नेतर्फ आफ्नो ध्यान जाने पनि बताइन् । उनले सानो कामका लागि पनि धेरै समय अल्झिनुपर्ने अवस्थामा सुधार आउनुपर्ने बताइन् । मन्त्री भुसालले भनिन्, ‘हाम्रो कार्यशैली र विधिलाई कार्यसम्पादनमा राख्नुपर्छ ।’
ढिलासुस्तीलाई पनि आर्थिक भ्रष्टाचार जस्तै रुपमा लिनुपर्ने उनको भनाइ थियो । ‘गरे पनि हुने, नगरे पनि हुने अवस्था राम्रो होइन, समयको विलम्ब पनि अरु आर्थिक भ्रष्टाचारभन्दा कम होइन,’ मन्त्री भुसालले भनिन् ।
उनले आचारसंहिता बनाएर काम गर्ने शैलीको विकास गरिने पनि बताइन् । ‘हामीले विधि वा आचारसंहिता केही बनाएर जानुपर्छ । तर कतिपय प्राविधिक काम तीन दिनमा भ्याइन्न, त्यसको फरक तरिकाले टिओआर बनाउन सक्छौं,’ मन्त्री भुसालको भनाइ थियो । उनले निजी क्षेत्रले एउटा आयोजना बनाउन धेरै मन्त्रालय र विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गर्न छिट्टै अन्तरमन्त्रालयबीच छलफल चलाउने विश्वास दिलाइन् ।
उनले ऊर्जा र सिँचाइका कामलाई वस्तुगत र वैज्ञानिक बनाउने उल्लेख गरिन् । मन्त्री भुसालले भनिन्, ‘एउटै रुखका कारण वर्षौंसम्म काम रोएिको छ । यो परिपाटी हटाउनुपर्छ । यसलाई वस्तुगत र वैज्ञानिक बनाउनुपर्छ ।’
निजी क्षेत्रका समस्या समाधानका लागि आफू सकारात्मक रहेको उल्लेख गर्दै उनले भनिन्, ‘म यहाँहरूको समस्या समाधानप्रति अधिकतम सकारात्मक हुन्छु । त्यसमा म प्रतिबद्ध छु, पहल पनि गर्छु ।’ उत्पादन र वितरणको ठूलो समस्या रहेको औंल्याउँदै उनले प्राधिकरणले करोडौं क्षतिपूर्ति तिरिरहने र लगानीकर्ताले लगानीको ब्याजसम्म उठाउन नसक्ने समस्या आउन नहुने बताइन् ।
पिपिए गर्ने तर प्रसारण लाइन बनाउन नसक्ने अवस्था उपयुक्त नभएको भन्दै उनले थपिन्, ‘प्रशारण संरचनाको निर्माण तीव्रताका साथ अघि बढाउनुपर्छ ।’
सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले मन्त्रालयले सबै निजी क्षेत्रलाई समान तवरले व्यवहार गर्ने स्पष्ट गर्दै मन्त्रालयबाट भएका निर्णयको कार्यान्वयनमा विशेष ध्यान दिने बताए ।
इपानका अध्यक्ष कृष्ण आचार्यले ऊर्जामा निजी क्षेत्रले काम गर्न सात मन्त्रालय र २३ विभागमा पुग्नुपर्ने बाध्यता रहेको भन्दै एकद्वार नीतिमार्फत सेवा लिने व्यवस्था मिलाउन अनुरोध गरे । कार्यक्रममा सहभागीले कोभिड–१९ पारेको असरका विषयमा मन्त्रालयबाट भएका निर्णय अनुसारको क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा