सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं- दुई अर्ब रुपैयाँ चुक्ता पुँजी सहित दर्ता हुन आउने नयाँ बिमा कम्पनीलाई बिमा समितिले लाइसेन्स दिने तयारी गरेको हल्ला सेयर बजारमा फैलाइँदा सोमबार सेयर बजार एक्कासि माथि उक्लेको ब्रोकरहरुले बताएका छन्। यसले नेप्सेमा सूचीकृत पुराना बिमा कम्पनीको पनि चुक्ता पुँजी दुई अर्ब पुर्याउन दबाब पर्ने अनुमानमा लगानीकर्ता बिमा कम्पनीको सेयर किन्नतिर लागेका हुन्। यस दिन बिमा समूहको सूचक ५६६.८३ बिन्दुले बढेको छ।
सोमबार र मंगलबारको बजारमा रोचक दृश्य तथा प्रवृति समेत देखियो । बिमा कम्पनीहरुको चुक्तापूँजी वृद्धिको हल्लाका कारण सोमबार मालामाल भएका बिमाका सेयरधनी केही सेलाएका देखिए भने मंगलबार एकाएक माइक्रो फाइनान्स कम्पनीहरुको चमकधमक बढ्यो । कमाउनेमा पनि माइक्रो फाइनान्सहरु नै अगाडि देखिए । अधिकांश माइक्रो फाइनान्सका लगानीकर्ताहरु सेयर मूल्य अनपेक्षित रुपमा बढ्दा मालामाल भए ।
बिमा समूहको सूचक बढेकै कारण अरु समूहको सूचक पनि उकालो लाग्यो। उत्पादनमूलक बाहेक सबै समूहका सूचक माथि उक्लिए। सोमबार सेयर बजार मापक नेप्से ४२.१९ बिन्दुले उकालो चढेर १४२४.३८ मा पुगेको छ। दैनिक ५० करोड हाराहारी कारोबार हुँदै आएकोमा सोमबार एक अर्ब २६ करोड रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
लामो समयदेखि सुस्त बजार आइतबारदेखि बढ्न थालेको हो। विशेषगरी बिमा कम्पनीको सेयर बढ्दा समग्र बजारमा उकालो लागेको हो।
१८८१ बिन्दुमा पुगेको बजार निरन्तर घट्दै आएर नेप्से परिसूचक सवा १४ सयमा आइपुगेको छ। छोटो समयमा बजारमा ठूलो अंकले गिरावट आउँदा अधिकांश कम्पनीको सेयर भाउ निकै सस्तो भइसकेको र यही मौकामा सेयर खरिद गर्दा फाइदा हुने देखेर लगानीकर्ता सेयर खरिद गर्नतिर लागेको ब्रोकरको भनाइ छ।
मंगलबारको बजार
मंगलबार नेप्से परिसूचक ३७.८५ अंकले वृद्धि भई १४६२.२३ अंकको उचाईमा पुुगेको छ भने कारोबार रकम पनि १ अर्ब ४२ करोड भन्दा माथि भएको छ ।
सोमबार बिमा समूहको चकाचक भएको बजारमा मंगलबार यो समूहको सूचक १०८.४ अंक(१.५१) प्रतिशत मात्र वृद्धि भयो । वाणिज्य बैंक समूहको सूचकले २.९७ प्रतिशतको छलाङ मार्यो । यो समूह ३९.४७ अंकले वृद्धि भयो । यस्तै, विकास बैंक र बित्त समूह क्रमशः ७६.३४ र १२.६६ अंकले बढे । यसैगरी, होटल समूहमा ३७.८, जलविद्युतमा २०.६५ र अन्यमा ४.०५ अंकको बढोत्तरी देखियो ।
”क” वर्गका कम्पनीको कारोबार चम्किएका कारण सेन्सेटिभ इण्डेक्स ८.३२ अंकले बढ्यो भने समग्र कारोबार मापक सूचक फ्लोट इण्डेक्समा पनि ३.१६ अंकको बढोत्तरी देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
मंगलबार १ सय ४७ कम्पनीका २२ लाख ३४ हजार ५३ कित्ता सेयर १ अर्ब ४२ करोड ४९ लाख २ हजार ५ सय १७ रुपैयाँ किनबेच भयो । सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सले ११ करोड ८३ लाख बढीको कारोबार गर्यो । यस्तै, एनसीसी बैंकले ५ करोड ८२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड ४४ लाख, लाइफ इन्स्योरेन्स कम्पनीले ५ करोड १५ लाख बढीको कारोबार गरे । मंगलबार पनि नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड १३ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, शिखर इन्स्योरेन्सले ४ करोड ३० लाख, प्राइम लाइफ इन्स्योरेन्सले ४ करोड २५ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ४ करोड ६ लाख, सानिमा बैंकले ४ करोड ५ लाख र एनबी बैंकले ३ करोड ९७ लाख बढीको कारोबार गरे । मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थानमा बिमा कम्पनी र बाँकी ४ स्थानमा वाणिज्य बैंकको कब्जा रह्यो ।
धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार १८ कम्पनीको सेयरधनीको मालामाल भए । तीमध्ये ४ कम्पनीको सेयर मूल्य १० प्रतिशत र १४ कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था, डिप्रोक्स डेभलपमेन्ट बैंक, लक्ष्मी लघुवित्त बित्तीय संस्था, छिमेक लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, कालिका माइक्रो क्रेडिट डेभडलपमेन्ट बैंक, नेरुडे लघुवित्त विकास बैंक, फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, स्वरोजगार लघुवित्त विकास बैंक, रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर, साना किसान विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यही हाराहारीमा सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा स्वावलम्बन विकास बैंक, विजय लघुवित्त वित्तीय संस्था, ओमी माइक्रोफाइनान्स, महिला सहयात्रा माइक्रो फाइनान्स बित्तीय संस्था, मुक्तिनाथ विकास बैंक, समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, नेपाल ग्रामीण विकास बैंक र नेपाल एसबीआई बैंक रहेका छन् ।
मंगलबार १३४ कम्पनीले सम्पत्ति कमाउँदा १३ कम्पनीले भने गुमाउनुपर्यो । सबैभन्दा बढी ललितपुर फाइनान्सले गुमायो । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, नेशनल हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र कन्काई विकास बैंकको सेयर मूल्य २ प्रतिशतले घट्यो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा