सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सन् २०१९ को विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता रहेको छ। आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको पहिलो खेल ५ विकेटले गुमाइसकेको अवस्थामा नेपाललाई विश्व कपको छनोटमा टिकिरहन आजको खेल जसरी पनि जित्नु पर्ने आवश्यकता छ। नेपालले च्याम्पियनसिपअन्तर्गत १४ मध्ये ७ खेल हारिसकेको छ र अंक तालिकामा ३ खेल मात्र जितेर ६ अंकका साथ छैटौं स्थानमा छ। च्याम्पियनसिपमा समावेश ८ देशमध्ये माथिल्लो ४ स्थान ओगट्ने टोलीले आउँदो वर्ष बंगलादेशमा आयोजना हुने विश्वकप छनोटको अन्तिम चरणमा भाग लिन पाउने नियम छ। यसै कारण विश्वकपको अभियानलाई सार्थक तुल्याउन नेपाललाई आज जसरी पनि केन्यालाई हराउनु पर्ने बाध्यता छ। केन्या ९ मध्ये ५ खेल जितेर १० अंकका साथ पाँचौ स्थानमा छ। आज नेपाललाई पराजित गरेको खण्डमा केन्या १२ अंकका साथ राम्रो रनरेटको आधारमा एकै पल्ट दोस्रो स्थानमा उक्लिने सम्भावना बलियो छ। हाल अंक तालिकामा १० खेलमा ७ जित सम्भव पारेको नेदरल्यान्ड्स १६ अंकका साथ शीर्षस्थानमा छ। यस्तै, पपुवा न्युगिनी ८ खेलमा १२ अंक बटुलेर दोस्रो स्थानमा छ। हङकङ १० खेलमा ११ अंक बटुलेर राम्रो रनरेटका कारण तेस्रो र स्कटल्यान्ड ८ खेलमा ११ अंक बटुलेर चौथो स्थानमा छ। नेपाललाई आज पराजित गर्न सफल भएको खण्डमा केन्याले पपुवा न्युगिनीसँग समान १२ अंक बटुलेपनि राम्रो रन औसतका कारण दोस्रो स्थान ओगट्ने सम्भावना बलियो देखिन्छ। नेपालले आजको खेलपछि जुलाईमा दुई खेलका लागि हङकङको यात्रा गर्दैछ। हङकङले च्याम्पियनसिपको १० खेल खेलिसकेको छ र ५ खेलमा जित सम्भव पारेको छ।
५० ओभरको क्रिकेटमा हङकङविरुद्ध नेपालको खेल प्रभावशाली रहदै आएको छ। त्यसैले हङकङ यात्रामा नेपालले राम्रो नतिजाको आशा राखेको छ। फेरि ‘एपेन्डिक्स’ को सल्यक्रियाका कारण केन्याविरुद्धको खेलमा अनुपस्थित रहेको कप्तान पारस खड्का पुनः टिममा फर्किने सम्भावना पनि बलियो छ। पारस यो च्याम्पियनसिपमा ४४ को औसतले ८ खेलमा ३ सय ५२ रन बनाउदै रन बनाउने मामिलामा हङकङका अंशुमन राथपछि दोस्रो नम्बरमा छन्। राथले ७ खेलमा ४ सय ९८ रन बनाएका छन्। हङकङको यात्रा समाप्त गरेपछि नेपालले अंक तालिकाको पुछारमा रहेको युनाइटेड अरब इमिरेट्स (युएई) सँग नोभेम्बरको अन्त्यतिर दुई खेल घरेलु टियु मैदानमै खेल्नेछ। युएईले हालसम्म खेलेको ८ मध्ये ७ मा पराजय र १ मा मात्र जित सम्भव पारेको छ। युएई दुई अंकका साथ लिगको पुछारमा छ। त्यसैले युएईसँगको दुवै खेल जित्ने आशा गर्न सकिन्छ। नेपालले बाँकीको ५ खेल जितेको खण्डमा अंक तालिकामा स्पष्ट १६ अंक बटुल्नेछ। जुन नेपाललाई अंक तालिकाको शीर्ष ४ स्थान ओगट्दै विश्व कप छनोटको बाटो तय गर्न पर्याप्त हुनेछ। नेपालपछि हङकङले लिग तालिकाको दोस्रो स्थानमा रहेको पपुुवा न्युगिनीलाई आतिथ्य गर्दैछ। यस्तै, केन्याले बाँकीको ४ खेल बलियो नेदर्ल्यान्ड्स र स्कटल्यान्डविरुद्ध खेल्नु पर्नेछ। लिगको चौथो स्थानमा रहेको स्कटल्यान्डले पनि बलियो पपुवा न्युगिनीसँग खेल्न बाँकी छ। यसैले हाल नेपाल लिगको छैटौं स्थानमा रहेपनि माथिल्लो ४ स्थान ओगट्ने टिमबीच चौतर्फी प्रतिस्पर्धा रहेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा