सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रमुख अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल लान्सेटले रसियाले तयार गरको कोभिड १९ विरोधी खोपको पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजा प्रकाशित गरेको छ ।
लान्सेटले शुक्रबार उक्त खोपबारे वैज्ञानिकहरुले गरेको समीक्षा प्रकाशित गरेको हो । लान्सेटमा नतिजा प्रकाशित भएसँगै रसियाका प्रतिद्वन्द्वि अमेरिका र लगायत युरोपेली मुलुकहरुले उक्त खोपको विश्वसनीयतामा उठाएको प्रश्न फिका बनेको छ ।
गामालेया सेन्टरका खोप विकासकर्ता अलेक्जेन्डर गिन्टसबर्ग र डेनिस लोगुनोभ तथा रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका सिइओ किरिल दिभित्रिएमले रसियाली पत्रिका स्पुतनिकलाई लान्सेटमा प्रकाशित लेखकमा कुन तथ्यांक प्रकाशित भएको छ र यो विश्वभरका वैज्ञानिक समुदायका लागि कति महत्त्वपूर्ण छ भन्ने बताएका छन् ।
रसियाले तेस्रो चरणको परीक्षणअघि नै उक्त खोप दर्ता गरेपछि उसका आलोचकहरुले खोपको प्रभावकारिता र सुरक्षाका विषयमा प्रश्न उठाएका थिए । द लान्सेटले यो खोप प्रभावकारी मात्र नभएर सुरक्षित पनि रहेको जनाएको छ ।
स्पुतनिक फाइभ नाम दिइएको उक्त खोपसम्बन्धी लेखको मुख्य निष्कर्ष यो सुरक्षित छ भन्ने रहेको छ । मूल्याकंन गरिएको क्राइटेरियामा पहिलो र दोस्रो चरणको परीक्षणबाट उक्त खोपका कारण कुनै प्रकारको प्रतिकूल असर नदेखिएको परीक्षणसम्बन्धी तथ्यांकको समीक्षा गरेका वैज्ञानिकहरुले बताएका छन् ।
उक्त खोपले दीर्घकालीन प्रतिरोधी क्षमता विकास गरेको प्रमाण पनि लान्सेटसम्बद्ध वैज्ञानिकहरुले पाएका छन् । खोप लगाएका व्यक्तिहरुमा कोरोनाविरुद्ध शतप्रतिशत प्रतिरोधी क्षमता विकास भएको बताइएको छ ।
गामालेयाका उपअनुसन्धान निर्देशक डेनिस लोगुनोभका अनुसार खोपले उत्पन्न गराउने हुमोरल र सेलुलर इम्युन रेस्पोन्स व्यक्तिलाई कोभिड १९ बाट जोगाउन पर्याप्त हुन्छ, जुन चिज यो खोपमा शतप्रतिशत भेटिएको छ ।
परीक्षण चरणमा खोप लगाएका सबै स्वयंसेवकमा टी–सेल इम्युनिटी विकास भएको छ, जुन सिडी फोर र सिडी एट प्लसका रुपमा देखिएको छ । यिनले कोरोना भाइरस संक्रमित कोषको पहिचान गर्न नष्ट गर्न सक्छन् ।
वैज्ञानिक जगतमा स्पुतनिक फाइभमा प्रयोग गरिएको ह्युम्यान अडेनोभाइरल भेक्टर भ्याक्सिन प्रयोगका विषयमा रहेको ठूलो डर केही मानिसमा अडेनोभाइरसविरुद्धको प्रतिरोधी क्षमता पहिले नै छ भन्ने थियो । अर्थात हामीमा कायम प्रतिरोधी क्षमताले शरीरभित्र आवश्यक पर्ने मात्रामा अडेनोभाइरसलाई अनुमति दिँदैन कि भन्ने थियो । यसले कोष बाहिरको जेनेटिक तत्वलाई हाम्रो शरीरमा पुर्याउन ट्याक्सीको काम गर्छ । उक्त अनुमान पनि गलत साबित भएको गामालेयाका वैज्ञानिकहरुको भनाइ छ ।
रसियाली सरकारले उक्त खोप अनुमोदन गरिसकेको छ । आगामी अक्टोबरदेखि खोप अभियान सुरु गर्ने र पहिलो चरणमा शिक्षक र अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई खोप दिने मस्कोले बताइसकेको छ ।
रसियामा खोपको पहिलो खेप उत्पादन पनि सुरु भइसकेको छ । विश्वका विभिन्न २० भन्दा बढी मुलुकले यसको उत्पादनमा चासो देखाएको मस्कोले यसअघि नै बताएको छ ।
नेपालस्थित रसियाली राजदूतले केही साताअघि राष्ट्रिय सभाका अध्यक्षसँगको भेटमा नेपाललाई खोप सहयोग गर्न रसिया तयार भएको बताएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा