सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाँके । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा बाँके राष्ट्रिय निकुञ्ज लागे पनि सोचेअनुसारको नतिजा ल्याउन सकेको छैन । गत आर्थिक वर्ष २०७५/०७६ मा निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक घुम्न आएको तथ्याङ्कले देखाउँछ । तीमध्ये बाह्य विदेशी पर्यटकको सङ्ख्या आठ मात्र रहेको छ । अन्य निकुञ्जका तुलनामा यस निकुञ्जमा पर्यटक कम आउने कारणको खोजी गरी नयाँ रणनीतिक योजना बनाउन लागिएको निकुञ्ज प्रमुख प्रमोद भट्टराईले जानकारी दिए ।
पर्यटक भित्र्याउने योजनाअन्तर्गत निकुञ्जले यहाँका जनप्रतिनिधि, होटल तथा यातायात व्यवसायी, पत्रकार, उद्योगी, व्यापारी र अन्य सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरी राय सुझाव लिने काम पनि गरिरहेको उनले बताए । बाँके जिल्लामा नेपाल भ्रमण वर्षको गतिविधि कम भएकाले निकुञ्जमा पर्यटकको उपस्थिति बढ्न नसकेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीमलाल कँडेलको जानकारी दिए । उनका अनुसार, भ्रमण वर्षलाई दृष्टिगत गरी सङ्घले नेपालगञ्जमा प्रथम सडक खाना महोत्सव (फुड फेस्टिबल) गर्न लागेको छ । यही फागुन २३ देखि २४ गतेसम्म हुने खाना महोत्सवमा भारतीय पर्यटक समेत भित्र्याउने सङ्घको योजना छ । करिब ५० हजारले अवलोकन गर्ने र रु दुई करोड बढीको कारोवार हुने लक्ष्य लिइएको महोत्सवमा आउने पर्यटकलाई बाँके निकुञ्ज पु¥याउने सकिने अध्यक्ष कँडेलले बताए ।
सो निकुञ्ज नेपालगञ्जदेखि २० किलोमिटर टाँढा पूर्व–पश्चिम राजमार्गको छेउमै अवस्थित छ । राजमार्गको चौबाटो कोहलपुर चोकवाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा अवस्थित यो पाटेबाघको मुख्य क्रिडास्थलका रुपमा समेत परिचित छ । निकुञ्जको मनमोहक प्राकृतिक छँटा, विभिन्न थरीका वन्यजन्तु, नदीनाला र विभिन्न जातिका परम्परागत आवास घर (होमस्टे) ले निकुञ्जको शोभा बढाएको छ ।
आठ वर्षअघि स्थापना भएको यो निकुञ्जमा पाटेबाघको सङ्ख्या २१ पुगेको निकुञ्जका प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार, पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएपछि पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुने क्रम बढेको छ ।
गाभर भ्याली सामुदायिक होमस्टे र चुरिया रेन्जले पनि निकुञ्जको शोभा बढाएको छ । होमस्टेका प्रमुख कृष्ण चौधरीका अनुसार, चुरे क्षेत्रमा हाइकिङको व्यवस्था भएकाले पनि यो निकुञ्ज पर्यटकको रोजाइँमा पर्ने विश्वास गरिएको छ ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा