सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दैलेख । दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ पातिकाल्ना स्थित चामुण्डा मावि जाने सडक छेउमा करिब १२ जना महिलाहरु एक लस्करै लागेर गिट्टी कुटिर जीविकोपार्जन चलाउछन् । बिगत १ बर्ष देखि सडक छेउमा बसेर गिट्टी कुट्ने काममा लागेका महिलाहरुको अहिले यो काम व्यवसाय जस्तै बनिसकेको छ । घाम होस् या जाडो, दिनभरी सडकमा गिट्टी कुट्दै दिन बिताउछन् । त्यसैलाई खुद्रामा बेच्दै गुजारा चलाउने गर्छन् ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ पातिकाल्ना स्थित चामुण्डा मावि जाने सडक छेउमा सोमबार करिब १२ जना महिलाहरु एक लस्करै लागेर गिट्टी कुटिरहेका थिए । ती मध्ये गिट्टी कुटिरहेकी निर्मला रोकायाले गुजारा चलाउनकै लागि भएपनी यो काम गर्नुपरेको बताइन् । “दिनभरी गिट्टी कुट्दा औंला नै रगताम्य हुन्छ, निकै दुख्छ तर गुजारा चलाउनका लागि यहि काम भएपनी गर्नैपर्यो,” रोकायाले भनिन, “यति दुख गरेर पनि घरेलु खर्च नै निकाल्न गार्हो हुन्छ तैपनी अलिअली खर्चमा लागि गरिररहेका छौं ।”
आआफ्नो खात छुट्याएर दैनिक गिट्टी कुटेर आफ्नो खात धेरै बनाउन दुख गर्दै आएका महिलाहरुलाई कसैले गिट्टीको ठेक्का दिएपछि कामको भ्याइनभ्याई हुन्छ । रोकायाकै छेउमा बसेकी महिलाले भनिन्, “अर्डर दिएअनुसार गिट्टी कुट्छौं र लिन बोलाउछौं,” उनले थपिन्, “समयमा गिट्टी लिन नआईदिने र अर्डर दिएर पनि बेवास्ता गर्ने भएकाले त्यति आम्दानी छैन नभए त ठिकै आम्दानी हुन्थ्यो ।”
महिलाहरुले कहिलेकाहीँ त कुटेको गिट्टी नै बिक्री नहुने गुनासो गरे । स्थानीय निर्मला शाहीले भनिन्, “दिनभरी दुख गरेर गिट्टी कुट्छौं, ढुङ्गा फुटाउछौं तर कहिलेकाहीँ गिट्टी बिक्री नै हुँदैन ।” उनले एक बर्षदेखी यसरी गिट्टी कुट्दै आएको तर दुख अनुसारको फल नपाइने बताउदै स्थानीय तह र वडाले महिलाहरुका लागि के के योजना ल्याउछन त्यो आफुलाई थाहा नभएको बताइन् । “वडाले के के योजनाहरु ल्याउछन् हामीलाई अहिलेसम्म केही थाहा छैन ।” उनले दुखेसो पोख्दै भनिन्, “वडाअध्यक्षले सबै योजनाहरु आफ्नो गाउँमा मात्रै लिएको सुन्छौं, यतातिर पनि केही योजनाहरु परेका भए त यस्तो काम किन गर्थ्यौं र?”
अन्य महिलाहरुले पनि शाहीको कुरामा समर्थन जनाउदै अहिलेसम्म आफ्नो गाउँमा कुनै योजना आएको सम्बन्धि आफुलाई जानकारी नभएको बताए । स्थानीय तहले कृषि तथा पशुपालनका कार्यक्रममा प्रेरित गर्नुपर्ने उनीहरुको भनाइ छ ।चुनाव आउदा मात्र गाउँ तर्फ छिर्ने नेताहरुले आफ्ना दुखलाई कहिल्यै नदेखेको महिलाहरुले बताए । शाहीले दुखेसो पोख्दै भनिन्, “चुनाव जितिसकेपछी जनप्रतिनिधि र नेताले सुर्खेतमा घर बनाउछन्, गाडी चड्छन तर जसले उनीहरुलाई यो स्थानमा पुर्यायो तिनीहरुलाई बिर्सन्छन् ।”
चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सुर्यबहादुर शाहीले भने आफ्नो नगरपालिकामा कोहि पनि भोको र नाङ्गो बस्नु नपर्नेमा दाबी गर्दै महिलाहरुका लागि धेरै योजना भएको तर एकैपटक सबैलाई समेट्न नसकिएको बताए । “नगरसभाबाट योजना पास गर्दा निर्वाचित जनप्रतिनिधिले आफ्नो वडामा आवश्यक योजना ल्याएका हुन्छन्, त्यसैलाई पास गर्छौं,” उनले भने, “महिलाहरुका लागि सिपमूलक तालिम, स्तरवृद्धि तालिम, पशुपालन लगायतका कार्यक्रम छन्, सबैलाई जोड्दै लग्छौं ।”
प्रमुख शाहीले सबैभन्दा धेरै बजेट नै वडा नम्बर ४ मा रहेको बताए । जनप्रतिनिधिले केही गरेन भन्नेलाई गिट्टी कुट्ने महिलाहरु बसेको सडक कसले बनायो भनेर सोध्न आग्रह गर्दै रेडियो, पत्रपत्रिका, अनलाइन, जनप्रतिनिधिहरु मार्फत सबैलाई जानकारी गराउने गरेको बताए ।
गिट्टी खुद्रा बेच्दा ४५ रुपैयाँ किलोका हिसाबले बेच्ने गरेको महिलाहरुले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा