सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर । कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पताल यतिबेला आफै अस्वस्थ अवस्थामा गुज्रिरहेको छ । बिरामीलाई उपचार गर्नुपर्ने अस्पतालकै अवस्था बिरामीको भन्दा कम छैन । जसको मुख्य कारण हो, समायोजन । अस्पतालमा कार्यरत मेसु डा. नरेन्द्र कुमार खनाल लगायत अन्य चिकित्सक, कर्मचारीको अन्यत्र समायोजन र पदस्थापन भएपछी अस्पताल आफै अस्वस्थ जस्तो देखिएको छ । जिल्ला अस्पताल सरह मान्यता पाएको ५१ शैयाको यस अस्पतालमा अलि बढी ज्वरो आएका बिरामीलाई समेत उपचारका लागि कोहलपुर रेफर गर्नुपर्ने अवस्था रहेको छ । एकातिर अस्पताल आफै संग भएका सामाग्रीहरु पनि सहि सदुपयोग भएका छैनन् भने अर्कातिर भएका सामानहरुको प्रयोग नहुदा र ख्याल नराख्दा बिग्रने गरेका छन् ।
अस्पतालमा कार्यरत डाक्टर, कर्मचारी क्रमसः आफ्नो समायोजित ठाउँमा फर्केपछि अस्पताल अहिले सुनसान भएको छ । करारमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा. लक्ष्मण सिग्देलको गत साउनमा करार अवधि सकिएर पुन म्यात थप भएता पनि उनले अस्पताल छोडेर हिडेपछि अस्पतालमा हाडजोर्नी सेवा पनि बन्द भएको छ । मेसु खनाल गएपछि लथालिंग बनेको अस्पताल विस्तारै कार्यरत कर्मचारीले समेत छोडेर जान थालेपछि हात खुट्टा भाचिएको मानिस जस्तै बनेको छ । पहिले पोष्टमार्टम गर्दै आएका डा. नवराज शर्माले समेत छोडेपछि केहि महिना टीकापुर अस्पतालमा पोष्टमार्टम समेत बन्द भएको थियो, जसका कारण नागरिकले पोष्टमार्टमका लागि छिमेकी प्रदेश ५ को राजापुर बर्दिया वा धनगढी स्थित सेती प्रादेशिक अस्पताल पुग्नुपरेको थियो । पोष्टमार्टमका लागि भने केहि दिन अगाडी मात्र छात्रवृति कोटामा डा. सन्दिप यादव आएका छन्, जसले पोष्टमार्टमका लागि धेरै टाढा पुग्नुपर्ने समस्या अन्त्य भएको छ ।
यसैगरी अस्पतालको इमर्जेन्सी कक्षको अवस्था पनि लथालिंग छ । चार जना हेल्थ असिस्टेन्ट अन्यत्र समायोजन भएर पदस्थापन भएपछी इमर्जेन्सीमा समस्या माथि समस्या उब्जिएका छन् । अस्पतालमा कार्यरत देवेन्द्र प्रसाद यादव, लक्ष्मी नारायण दासको स्थानीय तहमा र केवल सिंह कार्की र कृष्ण रावल टीकापुर नगरपालिकामा पदस्थापन भएर दुई महिना अघि नै उनीहरु आफ्नो कार्यक्षेत्र गैसकेका छन् । स्थानीय तहमा जाने कर्मचारी गैसकेका छन् भने प्रदेश र संघमा जानेहरु पनि क्रमसः जादै छन् । अहिले अस्पताल विकास समितिका कर्मचारीले इमर्जेन्सी कक्ष हेरिरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले अझै सम्म अस्पतालमा स्थायी कर्मचारी पदस्थापन गरेर नपठाएका कारण अवस्था झनै भयावह छ । प्रदेशले हेल्थ असिस्टेन्ट र स्टाफ नर्सको टीकापुर अस्पतालमा पदस्थापन गर्न ढिला गरिरहेको सरोकारवालाको भनाई छ ।
डेन्टल सर्जन डा. प्रशंसा सिंह गत असोज ८ गते दाङबाट सुदूरपश्चिम प्रदेशमा समायोजन भएर टीकापुर अस्पतालमा पदस्थापन भएकी थिइन् तर केहि दिन अगाडी मात्र डा. सिंहले पनि अस्पताल छोडेको अस्पतालका सुचना अधिकारी राजेन्द्र शर्माले जानकारी दिए । टीकापुर अस्पतालमा हाल मेडिकल रेकर्डर समेत छैनन् । प्रदेशले मेडिकल रेकर्डर दिलिप कुमार श्रेष्ठको पत्र सहित नाम पठाएता पनि मान्छे अस्पतालमा उपस्थित भैसकेका छैनन् । सामाजिक विकास मन्त्रालयले भदौ ३१ गते पठाएर अस्पताललाई असोज ८ गते प्राप्त भएको थियो । यस्तै फार्मेसी सहायकमा आशिष श्रेष्ठलाई पदस्थापन गरेता पनि उनी पनि अस्पतालमा हाजिर भएका छैनन् । भदौ ५ गते प्रदेशले पत्र पठाएर भदौ १८ गते अस्पताललाई पत्र प्राप्त भएता पनि श्रेष्ठको भने अत्तोपत्तो छैन । प्रदेशले पठाएका कर्मचारी समेत अस्पतालमा उपस्थित नभैदिदा समस्या भैरहेको शर्माले दुखेसो पोखे । यता सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पत्रकार यज्ञराज उपाध्याय सँग कुरा गर्दै यस बिषयमा आफुले थाहा नपाएको र तपाईकै मुखबाट पहिलोपटक सुनेको बताए । उनले यस बिषयमा थप बुझ्ने समेत बताए ।
अस्पतालका पुर्व अध्यक्ष रतन खड्काले टीकापुर अस्पताल यस्तो अवस्थामा पुग्नुको मुख्य दोषी सरकार रहेको बताए । उनले सरकार कमजोर दृष्टिकोणले अघि बढेको बताउदै स्वास्थ्य क्षेत्रमा सरकार लापरवाह रहेको समेत बताए । मेसु, विकास समितिको अध्यक्ष नभएका कारण अस्पतालमा कार्यरत कर्मचारीहरु ससाना दुर्घटनाका बिरामी जाच्न पनि नमानिरहेको अर्थात रिस्क लिन नचाहिरहेकाले यसको सुधारका लागि सरकार जिम्मेवार हुनुपर्ने खड्काको भनाई छ । त्यस्तै उनले अस्पतालको अवस्था सुधारका लागि स्थानीय सरकारले डेलिगेसनका लागि पहल गर्नुपर्ने, प्रदेश सरकारलाई दबाब दिईरहनुपर्ने र पुर्व अध्यक्षहरु, सरोकारवाला निकाय, बुद्दिजीवी लगायत संग छलफल गर्नुपर्ने बताउदै कम्तिमा विकास समितिको अध्यक्ष मात्रै नियुक्त गरिदिने हो भने पनि केहि समस्या स्वत हट्ने बताए । नगरपालिकाले पनि अस्पतालको अवस्था सुधारमा बेवास्ता गरेको उनको बुझाई छ । त्यस्तै साझा पार्टीका क्षेत्रीय सभापति लोक बहादुर बुढा क्षेत्रीले टीकापुर अस्पतालको यस्तो अवस्था हुनुमा टीकापुर नगरपालिका मुख्य दोषी भएको र समस्या समाधानका लागि नगरपालिकाले सबैसंग हातेमालो गरेर अगाडी बढ्नुपर्ने सुझाव दिए । उनले अस्पतालको स्तरोन्नतिका लागि पार्टी भन्दा माथि रहेर सबै एकै ठाउँमा उभिनुपर्ने बताए ।
सुचना अधिकारी शर्माका अनुसार अस्पतालमा हाल फिजिसियन निमित्त प्रमुख मेसु डा। सन्जय भुसाल, मेडिकल अधिकृत निराजंग स्वाँर, बालरोग विशेषज्ञमा डा। अमर नाथ ठाकुर कार्यरत छन् । टीकापुर नगरपालिकाले भदौ २४ गतेबाट स्त्री तथा प्रसुती रोग विशेषज्ञमा डा। संजय कुमार दासलाई राखेको छ । अस्पतालामा डाक्टर नहुदा अहिले टीकापुर अस्पतालमा बिरामी पनि खासै नआउने गरेको देखिन्छ । अस्पतालमा जाने हो भने अस्पतालले रेफर नै गर्ने हो भन्दै बिरामी अस्पतालमा नआएर बाहिरै प्राइभेटमै अर्थात कोहलपुर पुगेर उपचार गर्ने गरेको एक बिरामीका आफन्तले बताए ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले बिहिबार मात्रै अस्पताल विकास समिति अध्यक्ष सहित सदस्यहरु नियुक्त गरेको हो । नेकपाका युवा नेता दीपक रावल अध्यक्षतामा विकास समिति गठन भएको हो । समितिको सदस्यहरुमा सूर्या साउद, प्रकाश टमट्टा, गणेश कुँवर र कृष्णा चौधरी नियुक्त भएका छन् । लामो समयदेखि अभिभावक बिहिन अस्पतालमा विकास समिति आए संगै अस्पतालका केहि समस्याहरु घट्दै जाने विश्वास गरिएको सरोकारवालाले बताएका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा