सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
(कथा)
बिक्रम भक्त जोशी
यो ऊ बेलाको कुरा जब मलाई भर्खर भर्खर पदयात्रामा रस बस्न थाल्या थियो। समूहमा पदयात्रा गर्ने मेसो चल्या थिएन। एक्लै धुम्धुम्ती हिंड्थें। ठाउँको नाउं कतैबाट याद गर्यो। गुगल म्यापबाट बाटो अन्दाज गर्यो। अनि हिंड्यो।
पहिलोचोटी डुकुछापको नाउं सुन्दैथें। जाउलाखेलमा हिंड्दै गर्दा गाडीको कन्डक्टरले कराउंदै गरेको सुनेर।
‘डुकुछाप। फर्सीडोल, डुकुछाप।’
‘ओ भाई। कहाँ हो यो डुकुछाप?’
“बुङमतीबाट जाने हो।” मेरो अनुहारै नहेरी केटोले जवाब दियो। गाडी चढ्ला जस्तो नलागेर हो कि मलाई भाउ दिएन। कपाल कन्याउंदै फेरि भट्ट्याउन थाल्यो।
‘फर्सीडोल, डुकुछाप।’
म चैं नाउं कण्ठ गर्दै लागें आफ्नो बाटो।
खुल्दुली माझ भोलिपल्ट, शनिवार, बिहान झिसमिसेमै दुई बोतल पानी, कोकोनट बिस्कुट, सानो थर्मसमा एकदुई कप चिया र तीनचार्टा स्याउ झोलामा ठुंसठास गरेर म लागें डुकुछाप तिर।
जाउलाखेलमा चढेको बस बल्ल बल्ल नौ बजे तिर डुकुछाप पुग्यो। गाउँ जान बसपार्कको दक्षिण तर्फको उकालो ठाडै चढ्नुपर्ने रैछ। उकालो सकिना साथ देब्रेतिर रहेको ओमकारेश्वर महादेवलाई दण्डवत गरेपछि अब कता जाने भन्ने भो।
थोरै सुस्ताउं पनि, चिया सिया पनि खाउं भनेर नजिकैको एउटा दुकानमा छिरेंं। चकलेट सकलेट देखि लिएर चप्पल अनि चियासम्मै पाउने अल-ईन-वन पसल रैछ।
‘चिया खाम् न, साउनी!’ टेबल मिलाउंदै गरेकी साहुनीतिर फर्केर भनें।
हस् भनेर साहुनी भांडो बसाल्न लागिन्।
‘यहाँ कतै हेर्न लायक ठाउँ केही छैन?’ मैले सोधें।
‘छ।’ सोध्या त साहुनीलाई थिएं, तर जवाब पसलको कुनोबाट आयो, ‘कटुवाल दह।’
अंधेरोमा मैले यादै गरेनछु। गेरु वस्त्र लगाएका, लामा लामा जगल्टा पालेका, अधबैंसे उमेरका जोगी। चिया र दोनट खांदैथिए। उनैले जवाब फर्काको रैछ।
‘कति टाढा छ?’
‘बिस्तारै गए पनि डेढ दुई घण्टा भन्दा बेसि नलाग्ला।’
यताबाट लाष्ट बस चार बजे भन्थ्यो। गएर फर्किन आरामले भ्याउने रैछ भन्ने लाग्यो।
‘म पनि त्यतै भएर जाने हो। म चाहिँ दक्षिणकाली तिर लाग्ने। मन भए संगै जाउं।’
बाबाजीको कुरो ठिकै लाग्यो। नगा’को ठाउँ। बाटो देखाउने कोई भए सजिलो हुने कुरो सोचें र हुन्छ भनें। छिट्छिटो चिया सकाएर हिंड्न तयार भएं।
बाबाजी अघि अघि म पछि पछि। पश्चिम तिर लाग्यौं। देब्रेतिर बाटो छेउको पंधेरो पुगेपछि बाबाजी मुख जोतेर धारैबाट घट्घटी पानी पिउन थाले। म पनि आफूसंग लिएर गाको मिनेरल वाटरको चुस्की लिंदै केही छिन सुस्ताएं।
अलि पर हिंडे पछि पश्चिमतिरको नजारा छ्याङ्गै देखियो। बाग्मती नदी तल सम्ममा नागबेली पर्दै बग्दै थियो। असोजको महिना, धानको बाला लहलह परेर टाढाबाट हेर्दा भ्यान गोघको कुनै पेन्टिङ्ग जस्तै देखिन्थ्यो। खेतको पाटो पाटोमा एकै थरि रङ्ग थिएन – कुनै हरियो, कुनै हल्का पहेंलो, पाकिसकेका बालाहरु भा’ठाउंमा निख्खर पहेंलो। त्यसको बीचैबाट बगेको बाग्मती यस्तो लाग्थ्यो मानौं क्यान्भासको बीचैमा मसी पोखिएर नागबेली धर्को बनेको होस्। पारी पहाडको देब्रेतिर दक्षिणकाली पर्छ भन्ने जानकारी बाबाजीबाट पाएं । अनि तल दाहिनेतिर खोंचमा दनुवार गाउँ।
हिंड्दै जांदा छेउमा घांसे थुम्को भेट्टियो। एक छिन सुस्ताउने ईशाराको पालना गर्दै ब्यागबाट खोतलखातल गरेर लेरा’को स्याउ झिकेर चक्कुले मसिना मसिना चाना बनाउन थालें। बाबाजीले मैले पेश गरेको स्याउ स्वीकार्नु भएन। खै किन हो!
हामी फेरि हिंड्न थाल्यौं। झ्याउंकिरीको एकतमासको तीखो आवाजले वातावरण उराठलाग्दो थियो। जंगलको छेवै छेउ बनेको चाक्लो बाटो लुखुर लुखुर हिंड्दै थियौं। पन्ध्र मिनेट जति पछि देब्रेतिर लाग्ने बाटो देखिएपछि बाबाजीले भन्नुुुभो, “यताबाट माथि लागे देवीचौर पुगिन्छ। मच्छिन्द्र बन, सारङ्गी डांडा हुँदै। पाँच शिर भएको सत्यश्वोर महादेव हुनुहुन्छ बाटैमा। उतैबाट बुरुङ्गचुली हुँदै टिकाभैरव झर्न मिल्छ।”
कुरो बुझेझैं गरी टाउको हल्लाउंदै थिएं, बाबाजी दाहिने सिधै लाग्नुभो। म पछि लागें।
आधा घण्टाजति शुन्यतामा हिंडेपछि बाटोभन्दा दाहिने झ्याङ्गतिर मोडिनुभो। बाटो कतै देखिया थिएन, कता गाको यो जोगी? म अन्यौलमा थिएं। मसिनो गोरेटो रैछ । म एक्लै आ’को भए त हराउने पो रैछु। रुखै रुखले छेकेको बाटो छिचोल्दै जाँदा केही छिनमा अलि खुल्ला ठाउँ आईपुग्यो। हल्का नदीको आवाज पनि सुनियो।
‘यो ठाउंलाई करुवा भन्छ। हुनसक्छ यसैबाट यो ठाउंको नाम कटुवाल दह रहन गाको।’
‘ए!’ भन्दै कता छ दह भन्दै यताउता नजर दौडाउन थालें। देब्रेतिर र दाहिने पट्टि साना साना पाटीहरु । पूजा गर्ने ठाउँ जस्तो देखिने। दह भने कतै देखिनं।
कुनै बेला काठमाडौँको खाल्डोमा बाह्र बर्षसम्म खडेरी पर्या थियो अरे। बाबाजीलाई के मुड चल्यो कुन्नि, कथा पो सुनाउन थाल्नु भो। सुन्दै आएकै कथा, जुन मोटामोटी यस्तो थियो। गुरु गोरखनाथ नागको आसन जमाएर तपस्यामा लीन थिए। नाग आकाशमा विचरण गर्न पाए न पानी पर्थ्यो। नागहरु त कुर्सी भा’का थिए। गुरुजीलाई उठाउन जरूरी थियो। त्यसका लागि गुरुका पनि गुरु मच्छिन्द्रनाथलाई आसामबाट लिएर आउनु पर्ने भो। यस कामका लागि जाने भए भक्तपुरका राजा, ललितपुरका ज्यापु र काठमाडौँका गुभाजु। तन्त्रमन्त्रका मद्दतले भंवरा बनाएर लिएर पनि आए। गुरुलाई साष्टांग दण्डवत गर्न गोरखनाथ उठ्नुभो, नागहरु मुक्त भए, घनघोर वर्षा भो अनि खडेरी समाप्त । कथा सक्यो भन्ठान्या, बल्ल शुरु पो रैछ।
मच्छिन्द्रनाथसंग आमा चैं पनि आएकी थिईन् रे। जब उनी आसाम फर्किन लागिन्, मच्छिन्द्रनाथ पनि लागे आमाको पछि पछि। फर्किन नदिन गुभाजुले यहि करुवा भन्ने ठाउँमा पुगेको बेला पुन: भंवरा बनाई कलशमा कैद गरेछन् र बुङ्गमतीमा थापना गरेछन्। त्यसैले अहिले पनि यहि ठाउँमा पूजाआजा गरि ल्याएको कलशको जल शेचन पश्चात मात्र मच्छिन्द्रनाथको जात्रा शुरु गरिन्छ।
कथा सकिंदासम्म हामी झोलुङ्गे पुलमाथि पुगिसकेका थियौं। अघि सुनिएको नदीको आवाज बागमतीको रैछ। तल सानो तिनो गल्छी रैछ। घनघोर आवाज सहित अटेस मटेस गर्दै पानी यहि गल्छी हुंदै बाहिरिंदै थियो, पुलको मुनि मुनि हुँदै। यहाँ कुनै बेला पानी शान्त हुँदा दह झै बन्ने रैछ। त्यहि भएर कटुवाल दह भनिएको रैछ। म त हो न हो, कुनै चाक्लो तलाउ पो होला भन्ठानेको दह त बागमतीकै एउटा भाग रैछ भनी जान्दा मनै खिन्न भो।
‘ल अब म यताबाट दक्षिणकाली तिर लाग्छु, तिमी फर्किनु।’ बाबाजीले आज्ञा गर्नुभो।
आएको त्यत्रो बाटो एक्लै फर्किने जांगरै चलेन।
‘म’नि उतै लाग्छु, बाबा। उतैबाट बस चढम्ला। साथ पनि रहन्छ।’
नाइँ पनि छैन हुन्छ पनि छैन, बाबाजी भनाउँदो लम्किसकेछ। साह्रै जर्कटे। एक मन त फर्कुं जस्तो पनि लाग्यो। आ… यस्ता ताईंनतुइँ संग’नि के हिंड्नु। तर एकतमासको एक्लो हिंडाई सम्झेर पछि लागें।
पुल पारिको सडक बन्दै गरेको काठमाडौँ निजगढ द्रुत मार्गको भाग रैछ। काम चालु थियो। ट्रिपरहरु ओहोरदोहोर गर्दै थिए। हामी धुलाम्य बाटो छाडेर पश्चिम दिशातिर चढ्न थाल्यौं। गाडी गुड्ने बाटैबाटो चढेकोले हिंड्न सकस भएन। मध्यान्ह भैसक्या थियो। अघिको स्याउको चानाले कतिञ्जेल थेग्नु? पेट बटारिन थालिसक्या थियो। बाटो छेउको घाँसे मैदानमा खाजा ब्रेक गर्ने बिचार गर्यौं।
बाबाजीको आफ्नै सामल रैछ। सुन्तला रंगको काँधमा भिर्ने झोलाबाट केहि चीज निकाल्दै खान थाले। मैले पनि ब्यागबाट बिस्कुट झिकें। प्लाष्टिकको गिलासमा चिया खन्याएं । बाबाजीलाई सोध्दा’नि सोधिनं। नाइँ भन्ने नै हुन् क्यार।
दुवै धुम्धुम्ती बसेर खान मै तल्लीन भयौं। वार्तालाप नास्ति। बागमती पारिको करुवाको जंगल माथि माथि चील उडिर’को थियो। त्यो भन्दा माथि देब्रे पट्टिको अजंगको पहाडको थाप्लोमा कतै देवीचौर हुँदो हो भनेर अनुमान लगाएं। सोचें कुनै बेला मौका मिले जानु पर्ला।
बाबाजीको खोकाईले मेरो सोचाइ बिथोलियो। उनि टोलाएर टाढा टाढा कतै हेर्दै थिए। अचानक बाबाले केहि भने, जुन सुनेर म दंगै परें।
‘यु नो ह्वाट? आइ एम नो हर्मिट। एट लीस्ट नट फ्रम इन्साईड।’
एकछिन त म अलमल परें। बाबाजीको मुखबाट अंग्रेजी बोलाई मैले सपनामा पनि सोच्या थिईनं।
‘ह-हजुर?’ अक्मकिंदै मैले भनें।
‘लाइफ इज फुल अफ सरप्राईजेज, यु नो।’ बाबाजी बोल्दै थिए। म आफै पनि कम्ता सरप्राईज्ड थिईनं।
‘सोच्यो एउटा, हुन्छ अर्कै। जीवनलाई हामीले डोर्र्याको भन्ठान्छौं। तर त्यो त आफ्नै तालले बेलगाम अगाडि बढ्छ। हामीलाई च्वाईस गर्न त दिन्छ। तर सबै प्रि-प्लान्ड, पहिल्यै सेट भाको हुन्छ। पूर्वनिर्धारित।’ हरियो घाँसको त्यान्द्रो हातमा खेलाउंदै बाबाजीले भने, ‘मेरो कथा सुन्छौ?’
मैले मुन्टो हल्लाएं।
टाढा टाढा केही खोजे झैं नियाल्दै खुईय्य सास फेरे। मेरो अनुहार एक ताली पुल्लुक्क हेरे। सुन्नलाई तल्लीन मेरो मुद्रा देखेर मुसुक्क हांसे। अनि आफ्नो कहानी सुनाउन थाले।
बाबाजी बोल्दै गए। म सुन्दै गएं।
* * *
‘मेरो नाउं श्याम परियार।’ उनले कथा शरु गरे। ‘पुरानो घर चितौन टांडी। बुवा सानोतिनो सरकारी जागिरे। परिवारमा आमा, बुवा, म र दुई वर्ष कान्छो भाइ। बुवाको सरुवा काठमाडौं हुंदा म यस्तै बाह्र बर्षको हुंदो हुं। बुवाको सपना थियो काठमाण्डौ उपत्यकामा एउटा घर बनाउने। उतैको पुर्ख्यौली जग्गा झण्डै सम्पूर्ण बेचेर बुवाले रिङ्गरोड पारि नख्खु नजिकै छ आना जग्गा किन्नुभो र एक तल्ले सानो घर बनाउनुभो। यतै सेटल हुने बिचार थियो होला। आजकल अष्ट्रेलिया, अमेरिका सेटल हुन हिंड्या जस्तो न हो।’
एउटा हवाईजहाज मुनि मुनि हुँदै आयो। आवाज अलि चर्कै थियो।
‘ऊ बेला खांटी गाउँ थियो त्यो ठाउँ।’ हवाईजहाजको आवाज मधुरो भएपछि फेरि उनी बोल्न थाले। ‘राती राती स्याल कराएर उधुम गर्ने । घर वरिपरि नै घुमिबस्थे स्यालहरु। छिमेक घर भन्नु पनि फाट्ट्फुट्ट मात्र। म र भाइ डरले त्राहिमाम् हुन्थ्यौं। त्यस्तो अनकण्टारमा घर हुंदा पनि काठमाडौमा घर भाको भनेर गाउंतिर बुवाको इज्जत थियो।’
एकछिन उनी रोकिए। झोलाबाट बोतल निकालेर एक दुई घुट्को पानी पिए। म ज्ञानी विद्यार्थी झैं ध्यान दिएर सुन्दै थिएं।
‘नयाँ ठाउँ… नियास्रो लाग्थ्यो। समय समयमा आमाले शहर डुलाउन लानु हुन्थ्यो। बुवासंग खासै सामीप्यता भने थिएन। आफ्नै धुनमा रहनुहुन्थ्यो।’
‘त्यहिं नजिकैको सरकारी स्कुलमा एसेल्सी सकाएर पाटन क्याम्पस भर्ना भएं। आर्ट्स् लिएर। लिट्रेचरमा इन्ट्रेस्ट थियो, जुन ब्याच्लर पुग्दासम्मै कायम रह्यो। साहित्यका किताबहरु लाइब्रेरीबाट ल्याईल्याई पढ्थें।’
‘लाइब्रेरी जाने क्रममा नै हो मेरो भेट मुनासंग भा’को। अनि थपियो मेरो ब्ल्याक एण्ड ह्वाईट जीवन कथामा एउटा रंगीन पाना। तर मलाई त्यो बेला थाहै भएन कि त्यो रंगीन पाना मेरो जीवन कथाको एउटा अध्यायको अन्तिम पाना हुनेछ।’
कुरो इन्ट्रेस्टिङ्ग हुन लागेको देखेर बाबाजीको नजिकै सरें।
‘भाग्यको खेला पनि गज्जबै हुन्छ। सिमलको भुवा हावाले उडाएझैं कताबाट कता पुर्याईदिन्छ। अनि मलाई पनि हुर्याईदियो भाग्यले मुनाको जिन्दगीमा …’
जोगीको लभ स्टोरी? जोगी त भोगी पो रैछ कि क्या हो? म यो सोच्दै मात्र थिएं कि बाबाजीले कथामा ट्विष्ट ल्याए।
‘… मुना शर्माको जिन्दगीमा।’
मेरो अनुहारको भाव देखेर बाबाजीले भने, ‘कुरो बुझिहाल्यौ होला। केटा र केटी संगै हिंड्दा त कुरो काट्ने ऊ बेलाको जमानामा हाम्रो अनमेल पिरतीले ठूलै बवण्डर मच्चायो। एक वर्ष सम्म त जेनतेन कुरोलाई गोप्य राखियो। तर एक दिन उनको घरमा यो कुरोको गाईंगुईं पुगिछाड्यो। ठूलो रडाको मच्चियो।’
‘ई… । यो चिनो त्यो बेला मैले खाएको मारको।’ गेरु वस्त्र थोरै उघारेर कुहिना भन्दा एक ईन्च जति माथि चार ईन्च जति लामो खत देखाउंदै भने। ‘पिटाई कति खाईयो खाईयो। बयान गरि साध्य छैन। गुन्डा लगाई लगाई पिटाए। अहिले सम्झिंदा सिनेमाको कथा जस्तो लाग्छ। तर भोग्ने म, मलाई मात्र था’छ कि हेपाई, गाली, तिरष्कार के हो भन्ने कुरो।’
म स्तब्ध थिएं। बोल्ने शब्द भेटिरहेको थिईनं।
‘उता मुनालाई घरमा नजरबन्द गरेछन्। रोई रोई हालत खराब भाको कुरो उनकी साथीले आएर सुनाउंथी। साह्रै निरीह महसुस गर्थें । मेरो बुवा आमाले पनि मलाई नै दोषी माने। मलाई आफ्नो धरातलमा नबसेको भन्ने आरोप आईलाग्यो।’
‘पिरतीले दिने पीडा भोग्दा मात्र थाहा हुन्छ। भोग्नेलाई मात्र थाहा हुन्छ। मन कटकटी खाईबस्ने। तर्कना सिवाय दिमाग शुन्यप्राय। दिनरातको छटपटी। मानसिक कोलाहल । मुनालाई पनि शायद त्यस्तै हुंदो हो। बिचरी।’
निक्कै बेर चुप लागेपछि भने, ‘अनि एक दिन जे नहुनु थियो, त्यही भो। मुनाले आत्महत्या गरि।’
म निशब्द भएं।
‘उनको बिहेको कुरो चल्न थालेपछि सबै ढोका बन्द भ’को महसुस गरिछे क्यारे। होपलेस लाग्यो होला। अरु कुनै उपाय देखिन होली। मरि।’
बाबाजीको आँखा हेरें। ओभानो थियो। मानौं रोई रोई आँसु सकिसकेको थियो। पीडा त देखिन्थ्यो तर त्यसबाहेक पूर्ण रुपमा एक्स्प्रेशनलेस, इमोशनलेस।
‘मर्नेहरुलाई कायर भन्छन्। म त बहादुर भन्छु। म पो कातर। मर्न पनि सकिनं। तर भित्रभित्रै मरिसकेको चैं थिएं। आई वाज डेड फ्रम ईन्साइड, यु सी। दिमागको तार चुंडेसरि भो। सन्तुलित रहिनं। छ महिना लगनखेलको मानसिक अस्पतालमा बिताएपछि पनि म पूर्ण रुपमा सद्दे भईनं। मुनाको मृत्युको दोषी म आफैलाई मानिरहेंं। तर मैले यो मान्न सकिनं कि दोष मेरो होईन। दोष त हाम्रो समाजको हो। जातभातको कहालीलाग्दो पर्खालको हो। आफ्नो अनुकूलताका लागि कसैले बनाएको मिथ्या प्रचलनको हो।
‘…अनि म विरही भएं।’ लामो सुस्केरा हाल्दै उनी उठे। झोला भिरे। सरसामान बटुलबाटुल गरेर म पनि उसैगरि हिंड्न तयार भएं। हिंड्दै भने, ‘म टुटिसकेको थिएं। विरह अग्निमा जलेर म बस्न सकिनं। शीतलताको खोजीमा म भौंतारिरहें। कहिले कहाँ, कहिले कहाँ। अन्तमा देवघाटमा एक महिना बसेपछि उतैका जोगीहरुको संगतिले यस्तो वस्त्रधारी बनें। तर अझै म मुनालाई भुल्न सकेको छैन। म अझै त्यागी बन्न सकेको छैन। म भित्र अझै त्यही श्याम ज्यूंदो छ, जो कुनै समय मुनाको प्रेमी थियो। आवरणले जोगी देखिन्छु, तर भित्र म उही छु। पहिलाकै श्याम। मुनाकी श्याम।’
केही सोचेर फेरि थपे, ‘तर नो कम्प्लेन्स। यही हुनु लेख्या रैछ। भयो । लाईफ ईज अल सेट । पूर्वनिर्धारित हुन्छ जीवन। हामी त बस जिन्दगीको खेल खेल्दै जान्छौं।’
संगै हिंड्दै गर्दा मलाई यस्तो लाग्यो कि म त्यस्तो जोगी रुपधारी व्यक्तिसंग हिंड्दैछु जो ती यावत् घटनाको बदला स्वरूप अनि सामाजिक कुरीति बिरुद्ध क्रान्ति गर्नु भन्दा शान्तिको मार्ग अपनाउनु उचित ठाने। कोही यसलाई उनको कमजोरी ठान्दा हुन्। तर हुन सक्छ उनले जे गरे ठिक गरे। उनले धर्ममा लागेर आफू शान्तिप्रिय रहेको परिचय दिए। कैयन् अरु यस्तो अवस्थामा धर्मै परिवर्तन गर्दैछन्। पलायन हुंदैछन्। कतै तिनीहरुले शान्तिपूर्ण क्रान्ति गरिरहेका त होईनन्?
छेवैबाट कसैले बाईक कुदाएर लग्दा म झसङ्ग भएं। कुन बेला दक्षिणकाली पुगियो होशै भएन। दिउंसोको तीन बज्न लाग्दा पनि माईको दर्शन गर्नेहरुको भिड बाक्लै थियो। शनिवार भएर होला।
दर्शन पश्चात् छुट्टिने बेला जांदाजांदै उनले खिसिक्क हांस्दै भने,
‘तर… तर अब यो गेरु वस्त्रको खोल ओढेपछि भने कसैले मलाई मेरो जात के हो भनेर सोध्दैनन्। मैले छोएको पानीमा अब कसैले प्रश्न गर्दैनन्।’
म ऊ लमक्क लमक्क हिंड्दै भिडमा ओझेल भएको हेरिरहें। ओझेल नहुन्जेल हेरिरहें।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा