सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बर्दिवास, कात्तिक २८। मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ। सप्तमीका दिन बिहान सूर्यलाई दिइने अर्घ्यलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ भन्ने गरिन्छ। मङ्गलबार षष्ठी तिथिका दिन साँझ ब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए।
साँझको सूर्यलाई दिइने अर्घ्यलाई मिथिलाञ्चलमा ‘सझुका अरख’ भनिन्छ। सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर निराहार व्रत थालेका व्रतालुको उपवासको समय आज बिहान सूर्योदय हुँदासम्म झण्डै ३६ घण्टा भएको छ। आइतबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय खाय’ विधिबाट व्रत सङ्कल्प गरेका व्रतालुले आज चौथो दिन छठ सम्पन्न गरेका हुन्। छठ सम्पन्न भएसँगै व्रतालु परिवारजनसँगै पानीघाटबाट घर फर्केपछि प्रसाद खाने ख्वाउने क्रम शुरु भएको छ।
छठको प्रसाद बनाएर सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार खाने ख्वाउने क्रम भने मिथिलाञ्चलमा लामो समयसम्म जारी रहन्छ। मिथिलाञ्चलमा छठ सकिएपछि विवाहित चेलीबेटी, कुटुम्ब परिवार, मितमितिनी र अन्य इष्टमित्रको घरमा छठको कोसेली पठाउने चलन छ। यसरी पठाइने कोसेलीमा सूर्यदेवलाई देखाइएको प्रसाद मिसाएर पठाइने क्रम महिना दिनभर चलिरहन्छ। सूर्यदेव र षष्ठीदेवीको श्रद्धा र निष्ठापूर्वक उपासना गरिने छठ मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिन्छ। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा