सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २७ । छठ पर्वका अवसरमा काठमाडौंस्थित कमलपोखरी पुगेर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अर्घ्य दिइ पूजार्चना गरेका छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गरेका हुन् ।
कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा उनीहरु सहभागी भएका थिए ।
छठ पर्वका लागि कमलपोखरी विशेषरुपमा सिंगारिएकाले अहिले झकिझकाउ छ ।
कमलपोखरीमा सुरुदेखि नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै आएकामा यसपटक बिरामी भएकाले प्रधानमन्त्री केपी शर्मा ओली भने सरिक हुन सकेनन् ।
सोक्रममा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउने पाँचजनालाई सम्मान गरिएको थियो ।
गीतकार रत्नशमशेर थापा, नियात्राकार घनश्याम राजकर्णिकार तथा समाजसेवी इन्द्रदेव मिश्र, सुरेश जैन र भक्तबहादुर सिंहलाई राष्ट्रपति भण्डारीले कदरपत्रसहित सम्मान गरेकी थिइन् ।
सांसद गगनकुमार थापाले ८ वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउन थालिएको जानकारी दिए ।
सुरुआतका समयमा बर्तालुको अभावमा खोजेर ल्याउनुपरेको कमलपोखरीमा अहिले यति ठूलो सद्भावका साथ राष्ट्रिय पर्वकारुपमा छठ मनाउन पाउनु गर्वको कुरा भएको उनले प्रतिक्रिया दिए ।
नेपाली पर्वमा एकार्कालाई ग्रहण गर्ने वातावरण बढ्दै गएको र राष्ट्रपति सहभागी हुँदा कमलपोखरीको गरिमा झन् बढेको उनले बताए ।
आयोजक समितिका संयोजक राजेन्द्र सिंहले ८ वर्षदेखि छठघाट निर्माण गरेर विशेष पूजा थालिएको जानकारी दिँदै यसपटक पूजाका लागि २६० कक्ष बुकिङ भएको बताए ।
सोक्रममा महेशकुमार अग्रवाल, नरोत्तम वैद्यलगायतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
छठ मनाउन सुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले आकर्षक बनेको छ ।
काठमाडौंका थापाथली, गौरीघाट, रानीपोखरी र कमलपोखरीमा छठ पूजा गर्ने गरिएकामा रानीपोखरी क्षतिग्रस्त छ ।
तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व वि.सं. २०४६ पछि काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो ।
मंगलबार छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदैछ ।
चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भइ खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइएपछि विधिवतरुपमा सम्पन्न हुने गर्दछ ।
छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाराधना गरी अर्घ्य दिइएको छ ।
बुधबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा