सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ।
पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीका अनुसार दलको सांगठनिक गतिविधिप्रति असन्तुष्ट भई उपाध्यक्ष, महामन्त्री, केन्द्रीय सदस्यलगायत १८ नेताले गरेको भेलाले दलभित्र निरंकुशता बढ्दै गएको निष्कर्षसहितअध्यक्ष थापाको राजीनामा मागेको हो। पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको अन्त्य गर्न नेतृत्व संवेदनशील नभएको अध्यक्ष थापामाथि आरोप लगाएको छ।
असन्तुष्ट पक्षले पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा(प्र) राजसंस्था वा गणतन्त्रबारे प्रस्ट नभइकन एकताको प्रक्रिया शुरु गरेको भन्दै आजको केन्द्रीय कार्य समितिको बैठक बहिष्कार गरेको छ।
असन्तुष्ट नेतामा पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ र राजभण्डारी, महामन्त्रीद्वय जयन्त चन्द र धवलशम्शेर राणा तथा केन्द्रीय सदस्यहरू कालीप्रसाद जोशी, हेमबाबु लेखक, सविना शाह, गोविन्द खनिया, जनककुमारी, भीमप्रसाद गौचन, देवीप्रसाद कँडेल, मुकुन्दश्याम गिरी, जयलाल पुन, रामबहादुर शाह, प्रल्हाद शाह, सत्यन्द्र सिंह, रामचन्द चतुरवेदी र लोकेन्द्रबहादुर स्वार छन्।
यसैबीच राप्रपा (प्र)का उपाध्यक्ष विष्णु भट्टराईले दुवै पार्टी एकीकरणको औचित्य प्रस्ट नभई गरिने एकताको अर्थ नहुने बताउँदै त्यस विषयमा पार्टी अध्यक्ष राणालाई छिट्टै स्मरणपत्र बुझाइने जानकारी गराए। पछिल्लो समयमा दुवै पार्टीलाई एकीकरण गर्न अध्यक्षद्वय थापा र राणाबीच छलफल भइरहेको छ। राप्रपाका प्रवक्ता भुवन पाठकले केन्द्रीय कार्यसमितिको बैठकले चुनाव चिह्न र सिद्धान्तमा सम्झौता नगर्ने निर्णय गरेको जानकारी दिए। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा